गीतामा भनिएको छ, ज्ञानयोगले जुन स्थान मिल्छ, त्यही स्थान निष्काम कर्मयोगबाट मिल्छ। जसले ज्ञानयोग र कर्मयोगलाई समतुल्य देख्छ, उसले सत्य साक्षात्कार गरेको हुन्छ। तसर्थ निष्काम कर्मयोग ज्ञानयोगको समान हो भन्ने कुरा गीतामा प्राथमिकताका साथ आएको हो।
अब प्रश्न उठ्छ योग भनेको के हो? योगको शाब्दिक अर्थ जोड्नु हो। योगीलाई जोगी पनि भनिन्छ। भाषामा आएको परिवर्तनले ‘य’ लाई ‘ज’ भन्न थालिएको हो। अचेल योगी र जोगीको अर्थ फरक लाग्न थालेको छ। त्यसैले त योग शब्द विभिन्न क्षेत्रमा प्रयोग हुने गरेको पाइन्छ। यहाँ चर्चा गर्न लागिएको योग शब्दचाहिँ योगसाधना वा अभ्याससँग सम्बन्धित छ।
योग संस्कृत शब्द हो। यो शब्द युुज् धातुबाट बनेको हो। यसका अनेक अर्थ छन्– एक वस्तुको अर्को वस्तुसँगको मिलन, मेलमिलाप, वैराग्य, मोक्षको उपाय, जीवात्मालाई परमात्माको साथमा मिलाउनु इत्यादि। कठोपनिषद्मा पाँच इन्द्रिय, मन र बुद्धिको स्थिर अवस्थालाई योग भनिएको छ।
आध्यात्मिक शब्दको चर्चा गर्नासाथ अर्को शब्द पनि साथै आउँछ। त्यो हो भौतिक। यहाँचाहिँ अध्यात्म र भौतिकको नभई अध्यात्म शब्दले के कुरा व्यक्त गर्दछ भन्ने कुरा खोतल्ने प्रयास गरिएको छ।
अध्यात्म भन्नासाथ पूजापाठ गर्नु भन्ने आमधारणा पाइन्छ। देवीदेवताको पूजाआराधना, कर्मकाण्ड मात्रै अध्यात्म भन्ने गरेको सुनिन्छ। बुझाइको कमी या अल्पज्ञानले यस्तो भएको हो। अध्यात्मको सरल अर्थ आफूलाई हेर्नु हो। अध्यात्म शब्दलाई व्यापक अर्थमा बुझ्न आवश्यक हुन्छ। आत्मासम्बन्धी विषयलाई अध्यात्म भनिन्छ। आत्माका विषयमा पनि विभिन्न मत देखिन्छन्। कतिपयले प्राणलाई आत्मा भनेको पाइन्छ भने कसैले चेतनालाई आत्मा भनेका छन्। आत्माका बारेमा पौरस्त्य एवम् पाश्चात्य दार्शनिकहरूले अलगअलग मान्यता अघि सारेको पाइन्छ। आत्मा भनेको व्यक्तिगत चेतना र परमात्मा भनेको ब्रह्माण्डीय चेतना भन्नेमा अधिकांश दार्शनिक सहमत छन्।
जसरी आगोको झिल्को सूर्यमा समाहित हुन माथितिर जान खोज्छ, पानीको थोपा महासागरमा मिल्न खोजिरहेको हुन्छ त्यसैगरी आत्मा पनि परमात्मामा एकाकार भई परमानन्दमा प्राप्त हुन खोजिरहेको हुन्छ। विज्ञानको मतमा इनर्जी नष्ट नभई रूपमा मात्र परिवर्तित भइरहेको हुन्छ त्यसरी नै वैयक्तिक चेतन तत्त्व र ब्रह्माण्डीय चेतन तत्त्व एकै हो, अलगअलग भान भएको मात्र हो।
अतः अध्यात्म भनेको त्यो ज्ञान वा विज्ञान हो जसले व्यक्तिगत चेतना र ब्रह्माण्डीय चेतनाका बारेमा अध्ययनअनुसन्धान गर्छ। व्याख्या गर्छ। मानव जीवनको सिंगो रहस्य पत्ता लगाएर समुन्नत र सुखी राख्न अर्थात् जीवनजगत्को रहस्य उजागर गर्न सहयोग गर्छ।
यसबाट हामी के स्पष्ट हुनुपर्छ भने योग र अध्यात्मको अन्योन्याश्रित सम्बन्ध छ। योग भनेको षट्कर्म, आसन, प्राणायाम वा ध्यानमात्र होइन। जसरी खाना भनेर भात-दाल, तरकारी, अचार आदिको समन्वय भनेर बुझिन्छ त्यसैगरी योगभित्र विभिन्न विधा छन्। कतिपयले म योग गर्दिनँ तर ध्यान गर्छु भनेको सुनिन्छ । यस्तो भन्नु त म खाना खान्नँ भातमात्रै खान्छु भन्नुजस्तै हो। त्यसैले हामी स्पष्ट हुनुपर्छ, योगभित्रको चर्चित अंगहरूमध्ये ध्यान एक अंग हो।
योगको उद्देश्य अव्यवस्थालाई व्यवस्थित गर्नु हो। व्यक्ति, समाज वा राष्ट्रमा देखिएका बेथितिलाई थितिमा ल्याउन योगको महत्त्वपूर्ण भूमिका रहन्छ। अतः रोगी, निरोगी, बालक वृद्ध, युवकयुवती, विद्यार्थी, कर्मचारी, गृहिणी आदि समग्र मानव समुदायले योगाभ्यास गर्नुपर्छ।
योगाभ्यास गर्नाले नसुल्झिएका रहस्यहरू जसले मानव मस्तिष्क हल्लाइरहेको छ तिनलाई फुकाउन सहयोग गर्छ। जहाँ तर्कले, वादविवादले काम गर्दैन त्यहाँ योगले काम गर्छ। ख्याल राख्नुपर्ने विषयचाहिँ के हो भने कुनै निश्चित विधाको अभ्यासपूर्व कि आफूले समग्र जानकारी प्राप्त गर्नुपर्छ कि त विज्ञसँग परामर्श गर्नुपर्छ।
आखिरमा योग र अध्यात्म दुवैको उद्देश्य भनेको आत्मा (व्यक्तिगत चेतनतत्त्व) र परमात्मा (ब्रह्माण्डीय चेतनतत्त्व) को जानकारी प्राप्तपश्चात् एकताबद्ध हुनु हो। योग र अध्यात्मलाई कुनै धर्म, सम्प्रदाय, वर्ण वा जातिविशेषसँग जोड्नु भन्दा यसको वास्तविकताको बोध गरी अगाडि बढ्न आवश्यक छ।
(योगशास्त्रमा स्नातकोत्तर खरेल विगत दुई दशकदेखि काठमाडौँ इन्जिनियरिङ कलेज, कालिमाटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।)
‘योग र अध्यात्म’ वारे राम्राे ब्याख्या काे लागि मुरी २ धन्यवाद। मुख्यतः युध्द हरू ‘तथा -कथित’ विकशीत भनिएका पश्चिमा देशहरू (NATO) वाट नै शुरू भएका थिए र हाल पनि क्रमशः विकशीत हुँदैछ ।मेराे साधारण बुझाइमा याे उग्र ब्यापारीकरण र मुनाफा खाेर हातहतियार का माफिया हरूका ( विशेष गरी -USA काे ) दादागिरी ले गर्दा हुने गरेकाे जस्ताे लागेकाे थियाे र छ पनि ;तर हाल याे लेख पढीसके पछि चाहिँ लाग्दछ, कि याे योग र अध्यात्म ज्ञानकाे कमीले गर्दानै एक अापसमा वैमनष्यता, झै झगडा तथा छिमेकी २ बीच लडाइ युध्द भइरहेकाे छ र अन्ततः विश्वयुध्द सम्म पहिले २ पटक पुगिसकेर पनि नचेतेर पुनः पुग्ने दुःखद स्थितिमा लम्छकदाे छ। तेसैले यी पश्चिमा देशहरू लाइ कसरी यस्ताे अमूल्य ज्ञान प्रदान गर्न सकिएला, अति बिचारणीय तथा मनन याेग्य कुरा छ । लाै न, यी पश्चिमा देशहरूका घैंटाेमा जति सके चाँडाे घाम लागाेस, विश्वयुध्द हुन वाट बचियाेस ।