बैतडीमा पहिलाेपटक शैक्षिक सत्र अगावै पुग्याे पाठ्यपुस्तक

हिमाल प्रेस २३ चैत २०८० ६:०७
60
SHARES
बैतडीमा पहिलाेपटक शैक्षिक सत्र अगावै  पुग्याे पाठ्यपुस्तक

बैतडी- बैतडीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेको छ। आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेता कहाँ पाठ्यपुस्तक पुगेको हो। पहिलोपटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको हो। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको हो।

बैतडीमा कक्षा १ देखि १० सम्म ६७ हजार ६ सय ४६ विद्यार्थी रहेकाले त्यति नै सङ्ख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए। बैतडीमा पाँच सय ३९ सामुदायिक विद्यालय रहेका छन्।

कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक बिक्रेताकहाँ पुगिसकेका छन्। बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लैजाने गरेका छन्। सम्बन्धित स्थानीय तहले विद्यालयको खातामा पाठ्यपुस्तक खरीदका लागि रकम निकाशा गर्ने गरेको छ। कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ।

शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेपछि पठनपाठन गर्न सहज हुने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए। पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उनको भनाइ छ। आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ।

वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। अभियानको पहिलो हप्ता विद्यार्थीले विद्यालयमै गएर भर्ना हुने कार्यक्रम छ।

प्रकाशित: २३ चैत २०८० ६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =