लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा

हिमाल प्रेस २१ चैत २०८० १८:४३
44
SHARES
लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ- लगातार तेस्रो जित निकाल्दै नेपाल एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट संघमाथि आठ रनको रोमाञ्चक जित निकाल्यो।

जितसँगै नेपालले तीन खेलमा ६ अंक जोडेको छ। पराजित गुजरातको समान खेलबाट दुई अंक छ। नेपालले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १७३ रन बनायो।

गुजरातका लागि कप्तान उमंगकुमार तान्डेलले ४७, हर्ष देसाइले अविजित २९, अविशेक देसाइले २० र समित पटेलले १९ रन बनाए। नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले समान दुई तथा विवेक यादवले एक विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८१ रनको योगफल तयार पार्‍यो। नेपालका लागि आसिफ शेखले ५१ बलमा सर्वाधिक ८५ रनको योगदान गरे। यसैगरी कुशल भुर्तेलले ६७ रन बनाए।

पहिलो विकेटका लागि आसिफ र कुशलले १२५ रनको साझेदारी गरे। गुजरातका लागि जयमित पटेलले तीन तथा ध्रुषान्त सोनी र आर्या देसाइले दुई विकेट लिए। यसअघि नेपालले गुजरातलाई आठ विकेट र बरोडा क्रिकेट संघलाई २७ रन हराएको थियो। गुजरातले दोस्रो खेलमा बरोडालाई पाँच विकेटले हराएको थियो। अब नेपालले शुक्रबार बरोडाको सामना गर्नेछ।

प्रकाशित: २१ चैत २०८० १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =