कांग्रेसले अझै टुंग्याएन उपनिर्वाचनको उम्मेदवार

हिमाल प्रेस २० चैत २०८० २१:३९
10
SHARES
कांग्रेसले अझै टुंग्याएन उपनिर्वाचनको उम्मेदवार

काठमाडौँ- नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुंगो लगाउन सकेको छैन।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न आज (मंगलबार) बैठक बसे पनि उम्मेदवार चयन गर्न नसकेको हो।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुंगो लगाउन नसकिएको जानकारी दिए।

‘आज उम्मेदवारको विषयमा गहन छलफल भयो, उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच भोलि (बुधबार) छलफल गरेर उम्मेदवार टुंगो लगाउने कुरा भएको छ,’ विश्वकर्माले भने।

उम्मेदवार टुंगो लगाउन बुधबार दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए। उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरूको छलफल भएको थियो।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन्। रासस

प्रकाशित: २० चैत २०८० २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =