नेपालको कुल गार्हस्थ उत्पादन चार प्रतिशतले बढ्ने प्रक्षेपण

हिमाल प्रेस २० चैत २०८० १९:०४
22
SHARES
नेपालको कुल गार्हस्थ उत्पादन चार प्रतिशतले बढ्ने प्रक्षेपण

काठमाडौँ– दोस्रो त्रैमासिकमा नेपालको कुल गार्हस्थ उत्पादन अघिल्लो वर्षको सोही अवधिभन्दा चार प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय लेखा कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन नगरिएको त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिकमा चार प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको हो।

यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा धानलगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेका छन्। यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो।

त्यसैगरी मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ०.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ ओटामध्ये छ ओटा औद्योगिक क्षेत्रहरूमा आएको संकुचनको प्रभाव कुल गार्हस्थ्य उत्पादनमा देखिएका कारण अर्थतन्त्रमा सामान्य वृद्धि देखिएको हो।

तथ्यांकअनुसार  मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन २०८०/८१ को दोस्रो त्रैमासिक र अघिल्लो २०७९/८० को दोस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलनागर्दा अर्थतन्त्रका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ।

जसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२९.३%) रहेको छ भने विद्युत तथा ग्यास क्षेत्र १७.१ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ। यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रले १४.३ प्रतिशत वृद्धिदर कायम गरेको छ।

त्यसैगरी खानी तथा उत्खनन् क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९.४ प्रतिशत रहने अनुमान गरिएको छ। निर्माण क्षेत्रमा उत्खनन् आएको २.२ प्रतिशतको वृद्धिले यस क्षेत्रसँग प्रत्यक्षरूपमा भरपर्ने खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदरमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ। निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा विमा क्षेत्रको वृद्धिदर (९.१%) मा सकारात्मक प्रभाव पारेको देखिन्छ। अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धान लगायत अन्नबाली तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले  यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको हो।

अर्कोतर्फ थोक तथा खुद्रा व्यापार क्षेत्र भने यो त्रैमासिकमा सामान्य वृद्धि ( ०.५% ) मा सिमित भएको छ। व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको हो। यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मात्र मूल्य अभिवृद्धि वृद्धिदर झिनो अङ्कले ऋणात्मक ( – ०.४%) रहन गएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालु वर्षको दोस्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा आएको कमीका कारण यो क्षेत्रको वृद्धि ऋणात्मक रहन गएको प्रारम्भिक अनुमान छ।

त्यस्तै मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा चालु आर्थिक वर्ष (२०८०/८१) को प्रथम त्रैमासिक (साउन, भदौ र असोज) को तुलनामा दोस्रो त्रैमासिक (कात्तिक, मंसिर र पुष) को प्रारम्भिक अनुमान अनुसार प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये १२ ओटाको उत्पादन बढेको देखिन्छ भने छ ओटा उद्योगको उत्पादनमा घटेको देखिन्छ।

विद्युत, तथा ग्याँस, आपूर्ति सेवा क्षेत्रमा सबैभन्दा बढी ९.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। यो क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ६.५ प्रतिशत रहने अनुमान गरिएको छ। यो अवधिमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर २.६ प्रतिशत हुने र समग्र अर्थतन्त्रको वृद्धिदर ०.७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको  छ। ऋणात्मक वृद्धि हुने कुल छ ओटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै निर्माण क्षेत्रको ऋणात्मक वृद्धिदर ( – ७.२%) रहेको छ। पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा निर्माणका कार्यले गति लिन नसक्दा यस क्षेत्रको वृद्धि ऋणात्मक रहन गएको हो।

प्रकाशित: २० चैत २०८० १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =