नेपालको लगातार दोस्रो जित

हिमाल प्रेस २० चैत २०८० १८:३९
34
SHARES
नेपालको लगातार दोस्रो जित

काठमाडौँ– नेपालले एसएसएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले बरोडा क्रिकेट संघलाई २७ रनले पराजित गरेको हो।

लगातार दोस्रो जित निकालेको नेपालले दुई खेलमा चार अंक जोडेको छ। पहिलो खेलमा नेपालले आयोजक गुजरात क्रिकेट संघलाई आठ विकेटले हराएको थियो। दुवै खेलमा पराजित बरोडा अंकविहिन छ। पहिलो खेलमा बरोडा गुजरातसँग पाँच विकेटले पराजित भएको थियो।

नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनायो।बरोडाका लागि भानु पानियाले ३८, बाबा खानले २७, कप्तान विष्णु सोलान्कीले २५ र अमित पासीले १५ रन बनाए।

नेपालका लागि करण केसीले तीन, सोमपाल कामीले दुई तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पार्यो। नेपालका लागि कुशल मल्लले अविजित ४०, सन्दीप जोराले २९, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन बनाए।

बरोडाका लागि बाबा खानले दुई तथा परिक्सित पाटीदार र मोहित मोन्गाइले समान एक विकेट लिए। अब नेपालले बुधबार गुजरातकाे सामना गर्नेछ।

प्रकाशित: २० चैत २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =