डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर : दुई वर्ष जेल र ८ लाख ५० हजार जरिवानाको फैसला

हिमाल प्रेस २० चैत २०८० १८:३०
1.5k
SHARES
डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर : दुई वर्ष जेल र ८ लाख ५० हजार जरिवानाको फैसला

काठमाडौँ- नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बर्खास्तीमा परेका केसीविरुद्धको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह र रितेन्द्र थापाको इजलासले दोषी ठहर गरी दुई वर्षको जेल सजाय र ८ लाख ५० हजार रुपैयाँ जरिवा हुने फैसला सुनाएको हो।

उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) को कसूर गरेको ठहर विशेष अदालतले गरेको हो। अदालतले उक्त ऐनको दफा ३ को उपदफा (१) बमोजिम ठगबहादुरलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।

ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख केसीविरुद्ध गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

केसीले बुटवल उपमहानगरपालिकाअन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीबाट लगेको सुन फिर्ता गर्नका लागि रकम माग गरेका थिए। केसीको निवास खानतलासी गर्दा नगदसहित उक्त सुन बरामद भएको थियो।

केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लगेर १५ दिनसम्म राखेका थिए। त्यसक्रममा आफू कार्यरत कार्यालयका अन्य प्रहरीलाई पनि उनले थाहा दिएका थिएनन्।

उनले उक्त सुन फिर्ता गरिदिन सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत मोलमोलाई गरी नगद ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको थियो।

प्रकाशित: २० चैत २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =