नेपाली लेखकलाई चीनमा उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान

अजय अलौकिक २० चैत २०८० ११:३६
20
SHARES
नेपाली लेखकलाई चीनमा उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान

बेइजिङ- नेपाली लेखक तथा पत्रकारले चीनमा उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान पाएका छन्। चीनमा कार्यरत नेपाली पत्रकार तथा लेखक चेतनाथ आचार्यलाई चीनका महत्त्वपूर्ण दस्ताबेजलाई नेपाली भाषामा अनुवाद गरेकाले चिनियाँ अनुवादक संघले ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ प्रदान गरेको हो।

गत शनिबार चीनको हुनान प्रान्तको सदरमुकाम छाङ्सामा आयोजित विशेष समारोहमा पत्रकार आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो। नेपाली लेखक तथा पत्रकार आचार्यसँगै जापान, अल्जेरिया, जर्मनी र स्पेनका विशेषज्ञलाई उक्त सम्मान प्रदान गरिएको थियो। चीनबाट यस प्रकारको सम्मान प्राप्त गर्ने आचार्य पहिलो नेपाली हुन्।

नेपाली पत्रकारिता क्षेत्रमा तीन दशक बिताइसकेका आचार्य विगत ११ वर्षदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ‘सीआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्। यसबाहेक, उनका आख्यान र गैरआख्यान गरी सातवटा कृति प्रकाशित छन्। उनले चीनका अनुभवमा केन्द्रित रहेर चारवटा कृति प्रकाशन गरेका छन्। आचार्यको पछिल्लो कृति ‘नयाँ युगमा चीन’ हो।

२०८० वैशाखमा प्रकाशित पछिल्लो कृतिमा चीनको राजनीतिक पक्षसँगै आर्थिक र कृषि पक्षमाथि समीक्षा गरिएको छ। यसमा चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनबाट पारित प्रतिवेदनको पूर्ण दस्ताबेज तथा वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङको किशोरावस्थाको कहालीलाग्दो समयलाई पनि नेपाली भाषामा समेटिएको छ। साथै चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्षको इतिहास, बीआरआई तथा चीनले प्राप्त गरेको गरिबी निवारणका सम्बन्धमा पनि तथ्यपरक लेख संगृहीत छन्।

आचार्यले चीनमा देखेका, भोगेका, पढेका विषयलाई रोचक ढंगले ‘बेइजिङ डायरी’ स्तम्भमार्फत नेपाली पाठकलाई जानकारी दिँदै आएका छन्। किताब लेख्ने तथा केही न केही लेखिरहने आफ्नो रुचि रहेको बताउने आचार्यले २०७२ सालमा ‘मेरा आँखामा चीन’ र २०७४ मा ‘चीन चियाउँदा’ पुस्तक लेखेर चीनका विविध पक्षमाथि प्रकाश पारेका छन्।

उनको २०७८ मा प्रकाशित ‘रुइबा’ उपन्यासले २०७९ को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ समेत प्राप्त गरेको छ। एक नेपाली महिला चीनको जेलमा पुगेको सत्यघटनालाई लिएर लेखिएको यस उपन्यासमा पनि आचार्यले चिनियाँ संस्कृतिलाई मोहक ढंगले प्रस्तुति गरेका छन्।

आचार्यले यही र यस्ता कामलाई चीनले मूल्यांकन गरेर सम्मान गरेकाले निकै खुसी लागेको सुनाए। उनले भने, ‘चीनले दिएको सम्मानले मलाई अझै बढी लेख्न र अनुवाद गर्न प्रोत्साहन र जाँगर थपिदिएको छ। यो सम्मानलाई मैले जिम्मेवारी थपिएको ठानेको छु।’

प्रकाशित: २० चैत २०८० ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fifteen =