अमेरिकी चेम्बरको प्रतिनिधिमण्डल लगानी सम्मेलनमा आउने

हिमाल प्रेस १९ चैत २०८० १९:०६
16
SHARES
अमेरिकी चेम्बरको प्रतिनिधिमण्डल लगानी सम्मेलनमा आउने

काठमाडौँ – अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ। सोमबार अर्थमन्त्री वर्षमान पुनलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने जानकारी गराएका हुन्।

लगानी सम्मेलन सफल पार्न अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता राजदूत थम्पसनबाट आएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

अर्थमन्त्री र राजदूतबीचको भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भएको बताइएको छ।

अर्थमन्त्री पुनले लगानी सम्मेलनको राम्रो तयारी भएको भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानुनी र प्रक्रियागत सुधारको तयारी भइरहेको बताएका थिए। ‘लगानीको वातावरण निर्माण हुने भएकाले बढीभन्दा बढी अमेरिकी लगानीकर्ता ल्याइदिन यहाँ र दूतावासबाट सहयोगको अपेक्षा गरेका छौं,’ पुनले भनेका थिए।

नेपालले लगानी वातावरण सुधारका लागि क्रेडिट मूल्यांकन (कन्ट्री रेटिङ) को काम अघि बढेको मन्त्री पुनले बताएका थिए। ‘सरकारले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गर्ने संस्था फिचमार्फत नेपालको क्रेडिट मूल्यांकनका लागि प्रक्रिया अघि बढाएको छ,’ पुनले भनेका थिए। बेलायती सहयोग नियोगअन्तर्गतको ‘फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) ले नेपालको आग्रहमा कन्ट्री रेटिङ गर्दा लाग्ने सेवा सुल्क फिचलाई भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ। चालु आर्थिक वर्षको बजेटमामार्फत सरकारले कन्ट्री रेटिङ गर्ने घोषणा गरेको थियो।

यस्तै मन्त्री पुनले संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले सम्पत्ति सुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक पारित गरिसकेकाले सम्पत्ति सुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन ‘वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) को सम्भावित कालो सूचीमा पर्ने सम्भावना टारेको जानकारी पनि राजदूत थम्प्सनलाई दिएका थिए।

प्रकाशित: १९ चैत २०८० १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =