लुम्बिनी सरकारले पायो पूर्णता, भागबन्डाले मन्त्रालय बढ्ने

हिमाल प्रेस ६ वैशाख २०८१ १३:२४ | Thursday, April 18, 2024
लुम्बिनी सरकारले पायो पूर्णता, भागबन्डाले मन्त्रालय बढ्ने

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री बनेको एक सातापछि उनले मन्त्रीमण्डललाई पूर्णता दिएका हुन्।

एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य दोस्रो वरीयताअनुसार अर्थमन्त्री बनेका छन्। रुपन्देहीका भूमिश्वर ढकाललाई शहरी विकास मन्त्री, गुल्मीका दिनेश पन्थी गृह मन्त्री, कपिलवस्तुका अर्जुनकुमार केसीलाई वन मन्त्री र बाँकेका रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्री पाउने बताइए पनि मुख्यमन्त्री महराले उनीहरूलाई विनाविभागीय मन्त्रीका रुपमा बिहीबार नियुक्त गरेका छन्

एमालेका पाँच जनामध्ये आचार्यबाहेक अरु सबै नयाँ मन्त्री हुन्। त्यस्तै यस अघि नै मन्त्री भइसकेका रोल्पाका नेकपा माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। स्वतन्त्र निर्वाचन जितेका पुन माओवादीमा प्रवेश गरेपछि पहिलोपटक मन्त्री बनेका हुन्।

पश्चिम नवलपरासीका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई उद्योग पर्यटन तथा सहकारी मन्त्री पाउने बताइए पनि अहिले विनाविभागीय मन्त्री बनाइएको छ। त्यस्तै बाँकेका जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाल अहिलेलाई भूमि व्यवस्था कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन्।

बर्दियाका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने बताइए पनि उनी पनि अहिले विनाविभागीय छन्। सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जसपा र नाउपालाई थप एक मन्त्रालय फुटाएर भए पनि भागबन्डा पुर्‍याउने गरी मुख्यमन्त्री महरा लागेको बताइएको छ। नवनियुक्त मन्त्रीहरूले बिहीबार साँझ प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिनेछन्। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: ६ वैशाख २०८१ १३:२४ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast