मुस्ताङमा एकै वर्षमा चार लाख पर्यटक

हिमाल प्रेस ६ वैशाख २०८१ २१:२३ | Thursday, April 18, 2024
मुस्ताङमा एकै वर्षमा चार लाख पर्यटक

म्याग्दी– पछिल्लो एक वर्षको अवधिमा ४ लाख २६ हजार ९ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालयले संकलन गरेको पर्यटकको तथ्यांकको आधारमा यो संख्या सार्वजनिक गरिएको हो।

प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाई मार्गबाट भित्रिने पर्यटकको तथ्या‌ंक राख्दै आएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकका अनुसार यो संख्या अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक बाहेकको हो। सडक मार्गबाट चार लाख १४ हजार दुई सय ८० जना र हवाईमार्गबाट ११ हजार ६ सय ८४ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक विकले बताए।

घुम्न आएका आन्तरिक पर्यटक मध्ये ३ लाख ३५ हजार ४ सय ६६ सडकमार्गबाट र १ हजार ८ सय ७९ पर्यटक हवाई मार्गबाट मुस्ताङ पुगेका हुन्। घुम्न आएका कुल पर्यटकमध्ये ८८ हजार ६ सय १९ जना विदेशी पर्यटक आएका थिए।

विदेशी पर्यटकमा पनि ७८ हजार ८ सय १४ सडकमार्गबाट र ९ हजार ८ सय ५ जना हवाईमार्गको प्रयोग गरी मुस्ताङ आएको देखिएको छ। मुस्ताङ भित्रिने विदेशी पर्यटकमा ठूलो संख्या भारतीयको छ। ७ हजार ८ सय ८ पर्यटक सार्क राष्ट्रबाहेकका पर्यटक हुन्।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका प्रमुख आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायतका स्थान मुस्ताङका धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा परिचित छन्।

म्याग्दी हुँदै सडक मार्ग, थोराङ्ला पास हुँदै पैदल मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गर्छन्। सार्क मुलुक बाहिरका पर्यटकको संख्या घट्दै जानु चिन्ताको विषय भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए।

मुस्ताङमा पर्यटकको चहलपहल बढ्नुमा यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिनु, डिजिटल मार्केटिङ र सुविधायुक्त होटल खुल्नु लगायतका कारण हुन सक्ने पर्यटन व्यवसायीको अनुमान छ। रासस

प्रकाशित: ६ वैशाख २०८१ २१:२३ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast