प्रिमियर लिग : ब्राइटनमाथि सिटीको सानदार जित, उपाधि होड रोमान्चक

हिमाल प्रेस १४ वैशाख २०८१ ७:१५ | Friday, April 26, 2024
प्रिमियर लिग : ब्राइटनमाथि सिटीको सानदार जित, उपाधि होड रोमान्चक

काठमाडौँ- इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमान्चक बनेको छ।

बिहीबार राति भएको खेलमा ब्राइटनमाथि ४-० को एकतर्फी जित निकालेपछि म्यानचेस्टर सिटीले आफूलाई उपाधि होडमा बलियोगरी प्रस्तुत गरेको छ।

३४ औँ चरणको खेल हुँदा अहिले आर्सनल ७७ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा सिटी भने ३३ खेलबाट ७६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। यस्तै, तेस्रो स्थानमा रहेको झरेको लिभरपुलको ३४ खेलबाट ७४ अंक भएको छ।

अब सिटीले ५ खेल खेल्न बाँकी रहँदा आर्सनल र लिभरपुलका चार खेलमात्रै बाँकी छन् । अबका खेलको नतिजाका आधारमा प्रिमियर लिगको उपाधि छिनोफानो हुने छ।

बिहीबार राति सिटीलाई जिताउनका लागि फिल फोडेनले २ गोल गर्दा केभिन डी ब्रुएना र जुलियर अल्भारेजले एक एक गोल गरेका थिए।

ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनाले १७ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। २६ औँ मिनेटमा फिल फोडेनले शानदार गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

यसैगरी ३४ औँ मिनेटमा फोडेनले बर्नान्डो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमै ३-०को सहज अवस्थामा पुगेको थियो।

६२ औँ मिनेटमा वाल्करको पासमा अल्भारेजले गोल गरेपछि सिटी ४-० को सहज र एकतर्फी जित निकाल्दै स्पष्ट ३ अंक थप गर्न सफल भयो। सिटीको जितसँगै प्रिमियर लिगको उपाधि होड तीन टोलीका बीचमा केन्द्रित भएको छ। पराजित भएको ब्राइटन भने ४४ अंकका साथ तालिकाको ११ औँ स्थानमा छ।

प्रकाशित: १४ वैशाख २०८१ ७:१५ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast