पर्सामा सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

हिमाल प्रेस २९ चैत २०८० १७:१६ | Thursday, April 11, 2024
पर्सामा सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

वीरगञ्ज– पर्सा जिल्लामा पनि इस्लाम समुदायले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन्। इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै पर्व मनाएका हुन्।

वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा रहेका मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन्। वीरगञ्जका अन्य समुदायका धर्मावलम्बीले पनि एकापसमा शुभकामना आदानप्रदान गरेका छन्।

वीरगञ्ज–२ छपकैयाँका शाहिद मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए। दुवै समुदायबीच शुभकामना साटासाट गर्दै आइरहेको सिद्धिकीको भनाइ छ। जुनसुकै चाडपर्वलाई पनि आपसी भाइचारा र सामाजिक सद्भाव कायम गर्नेगरी अघि बढाउन जरुरी रहेकामा उनले जोड दिए।

वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उमेर समूहका मुस्लिम समुदायका मानिसको उपस्थिति थियो। साथै शारीरिकरूपमा अपाङ्ग तथा अशक्तहरू पनि नमाज गर्नका लागि ईदगाह तथा मस्जिदमा सहभागी भएका थिए।

ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान्)सँग आशीर्वाद लिने गर्दछन्।

वीरगञ्जमा करिब तीस हजारको हाराहारीमा मुस्लिम समुदाय रहेको अनुमान गरिएको छ। वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवा अर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो। रासस

प्रकाशित: २९ चैत २०८० १७:१६ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast