नेपाल आइपुगे कतारका राजा

हिमाल प्रेस ११ वैशाख २०८१ १६:०३ | Tuesday, April 23, 2024
नेपाल आइपुगे कतारका राजा

काठमाडौँ- कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका छन्। उनी अपराह्न ३:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। बंगलादेश भ्रमण सकेर उनी राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरे।

कतारी अमिरलाई विमानस्थलको अतिविशिष्ट कक्षमा २१ तोपको सलामी दिएर सम्मान गरिनेछ। आजै बेलुका राष्ट्रपति पौडेलसँग थानीको भेटवार्ता हुनेछ। त्यसपछि सोल्टी होटलमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रिभोज आयोजना गरेका छन्।

भोलि बिहान कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ। कतारसँग २०३३ साल माघमा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व)बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो।

कतार नेपालको महत्वपूर्ण श्रम गन्तव्य देश हो। प्रधानमन्त्री र अमिर थानीबीच भेटवार्तापछि द्विपक्षीय सहकार्यसम्बन्धी आपसी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

प्रतिनिधिमण्डलस्तरीय बैठकपछि दुई देशबिच विभिन्न ५ क्षेत्रमा समझदारी हुने तयारी छ। उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य प्राथमिकतामा छ।

नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्ने छ। त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ। कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । कतारका राजाको सम्मानका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित: ११ वैशाख २०८१ १६:०३ | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast