जापानी नोट बनाउन इलामको अर्गेली

हिमाल प्रेस ३ वैशाख २०८१ १७:५० | Monday, April 15, 2024
जापानी नोट बनाउन इलामको अर्गेली जापान निर्यातका लागि तयार पारिएको प्रशोधित अर्गेलीको मुठा। तस्बिर साभार : द न्युयोर्क टाइम्स

काठमाडौँ– इलामका पासाङ शेर्पाले बारीमा हुर्किएको अर्गेली जापान निर्यात होला भन्ने कल्पना पनि गरेका थिएनन्। गाउँमा खेतीकिसानी गर्दा जंगली जनावरबाट आजित भएपछि बसाइँ सर्ने तयारीमा रहेको शेर्पाको कमाइ अहिले लोभलाग्दो छ नै, आफैँले उत्पादन गरेको कच्चा पदार्थ बलियो अर्थतन्त्र भएको जापानको नोट बनाउन प्रयोग हुन थालेपछि उनी झन् खुसी भएका छन्।

अर्गेली  खेतबारीमा बार बार्न र दाउरा बाल्न प्रयोग हुँदै आएको छ।  शेर्पाले भने, ‘यस्तो कच्चा पदार्थ जापानमा निकासी हुन्छ वा यसबाट पैसा कमाउला भन्ने सोचेको पनि थिइनँ।’ उनी अहिले जापानी नोटको कच्चा पदार्थ उत्पादक बनेका छन्। शेर्पाले यसका लागि  ६० कामदार खटाएको बताए। आगामी वर्ष करिब ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनी सुनाउँछन्।

अर्का अर्गेली उत्पादक फौदबहादुर खड्का पनि स्वदेशमै काम गर्न पाउँदा खुसी भएका छन्। उनीसँग खाडीमा पसिना बगाएको नमिठो अनुभव छ। उनी सन् २०१४ मा वैदेशिक रोजगारीका लागि बहराइन गएका गएका थिए। आपूर्ति कम्पनीमा काम गर्न भनेर गएका उनले सरसफाइको काम पाएका थिए। उनका दुई छोरा पनि वैदेशिक रोजगारीका लागि कतार गएका थिए। खड्का भन्छन्, ‘यस नयाँ खेतीले मानिसलाई पैसा र रोजगारी दुवै पाउन मद्दत गरेकोमा म खुसी छु।’

अन्य देशहरूले पनि आफ्नो मुद्रा छाप्न नेपाली कच्चा प्रयोग गर्नेमा उनी आशावादी छन्। उनले भने, ‘यस्तो भएमा खाडी राष्ट्र र भारतमा रोजगारीमा पलायन हुने दर रोकिन्छ।’

ओसाकामा रहेको कानपाउ इन्कर्पोरेटले जापानी नोटलाई चाहिने कागज उत्पादन गर्दछ। कानपाउको एउटा परोपकारी कार्यक्रम सन् १९९० को दशकदेखि इलाममा सञ्चालन हुँदै आएको थियो। यसले स्थानीय किसानलाई इनार खन्न मद्दत गर्दथ्यो। यिनै किसानमार्फत जापानीहरू अर्गेली उत्पादन क्षेत्रमा जोडिएका हुन्।

शेर्पा एक्लैले व्यवसाय फस्टाएका भने होइनन्। जापानीहरूले उनलाई प्लास्टिकको बन्डल र धातुको पाइप प्रयोग गरेर यसको बोक्रालाई बफ्याउन सिकाए। त्यसपछि शेर्पाले पिट्ने, तन्काउने र सुकाउने विधि पनि जापानीहरूबाटै सिके।

२०७२ सालको भूकम्पपछि नेपाली किसानलाई येनका लागि कागज बनाउन जापानीहरूले राजधानी काठमाडौँमा विशेषज्ञहरू पठाएका थिए। सोही बेलापछि शेर्पाले व्यावसायिक उत्पादन थालेका हुन्।

कच्चा पदार्थ जापान निर्यात गर्दै आएका कानपाउ नेपालका महाप्रबन्धक हरिगोपाल श्रेष्ठ भन्छन्, ‘धनी मुलुक जापानको नोट छपाइमा चाहिने कच्चा पदार्थको व्यवस्थापन गर्न पाउनु मेरा लागि गौरवको कुरा हो।’ जापानले हरेक २० वर्षको अन्तरालमा आफ्नो नोटको ढाँचा परिवर्तन गर्दै आएको छ। चालु रहेको नोट सन् २००४ मा डिजाइन गरिएको थियो। ती नोटलाई यसै वर्ष जुलाईमा प्रतिस्थापन गर्नुपर्नेछ। (द न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा आधारित)

प्रकाशित: ३ वैशाख २०८१ १७:५० | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast