 
                             
                                            काठमाडौँ- वैशाख महिनामा अधिकांश वाणिज्य तथा विकास बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा वैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ।
बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशतले घटेको छ। चैतको तुलनामा वैशाख महिनामा १३ वटा बैंकले ब्याजदर घटाएका छन् भने ५ प्रतिशले स्थिर राखेका छन् भने दुई बैंकले भने ब्याजदर बढाएका छन्।
चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल बैंकले ७ प्रतिशत, लक्ष्मी सनराइजले ७.५ प्रतिशत, कुमारी बैंकले ७.५१ प्रतिशत र सिद्धार्थ बैंकले ७.५ प्रतिशत अधिकतम ब्याज दिका थिए। यसैगरी वैशाखमा संस्थागत मुद्दती निक्षेपमा नेपाल बैंकले ४.७५ प्रतिशत, लक्ष्मी सनराइजले ६ प्रतिशत, कुमारी बैंकले ६.२६ प्रतिशत र सिद्धार्थ बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्।
यसअघि चैतमा संस्थागत मुद्दती निक्षेपमा नेपाल बैंकले ६ प्रतिशत, लक्ष्मी सनराइजले ६.५ प्रतिशत, कुमारी बैंकले ६.५१ प्रतिशत र सिद्धार्थ बैंकले ६.५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्।
वाणिज्य बैंकहरूमध्ये नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल बैंकले ६.७५ प्रतिशत, लक्ष्मी सनराइजले ७ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशत र सिद्धार्थ बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्।
यस्तै, राष्ट्रियस्तरका विकास बैंकहरूले वैशाखमा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। वैशाखमा राष्ट्रियस्तरका विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.७५ प्रतिशत र संस्थागतमा ६.७५ प्रतिशत ब्याज दिने भएका छन्। चैतमा विकास बैंकहरू ले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.०५ प्रतिशत र संस्थागतमा ७.०५ प्रतिशत ब्याज दिएका थिए।
वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ७.२५ प्रतिशत, एभरेष्टले ७ प्रतिशत, एनआईसी एसियाले ७.७५ प्रतिशत, ग्लोबल आइएमईले ७ प्रतिशत, हिमालयन ७.५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ७ प्रतिशत व्याजदर पुर्याएका छन्।
यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ५.५० प्रतिशत, एभरेष्टले ६ प्रतिशत, एनआईसी एसियाले ६.७ प्रतिशत, ग्लोबल आइएमईले ६ प्रतिशत, हिमालयन ६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ५.२५ प्रतिशत कायम गरेका छन्।
वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। यसअघि चैतमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.१५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। वैशाखमा संस्थागततर्फ भने कृषि विकास बैंकले ४.५१ प्रतिशत र सिटिजन्सले ६.५ प्रतिशत अधिकतम ब्याजदर दिने भएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 