एउटा हलले धानेको वीरेन्द्रनगर 

रमा केसी ८ वैशाख २०८१ १:३४ | Saturday, April 20, 2024
एउटा हलले धानेको वीरेन्द्रनगर  सुर्खेतको वीरेन्द्रनगरमा रहेको लक्ष्मी हल। तस्बिर : रमा केसी

सुर्खेत- ३० वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा तीनवटा फिल्म हल थिए- प्रेम टाकिज, देउती टाकिज र सुमित फिल्म हल।प्रेम टाकिज र देउती टाकिज पहिल्यै बन्द भए।

सुमित व्यवस्थित बनाइयो र नाम पनि परिवर्तन गरियो शनि चलचित्र मन्दिरका रूपमा। त्यसै बेला लक्ष्मी चलचित्र मन्दिर पनि सञ्चालनमा आएको थियो।

शनि हल बन्द भइसकेको छ भने लक्ष्मी हलमात्र सञ्चालनमा छ। संघीय राजधानीलगायत ठूला सहरमा उच्च प्रविधियुक्त मल्टिप्लेक्स हल सञ्चालनमा आए पनि कर्णालीमा यस्तो हलको विस्तार हुन सकेको छैन।

बनेका हल पनि बन्द हुँदै गएका छन्। कर्णाली प्रदेशको राजधानी बनेपछि वीरेन्द्रनगरमा चहलपहल बढेको छ। फिल्म पारखीका लागि भने एउटा हलबाहेक अन्य विकल्प छैन।

तीनवटा हल हुँदा दर्शकको कमी थिएन। फिल्म हेर्नकै लागि दर्शक गाउँबाट वीरेन्द्रनगर झर्थे। अचेल जेनतेन सञ्चालनमा रहेको लक्ष्मी हलका कर्मचारी रमेश आचार्य हलमा सिनेमा चलाउन मुस्किल बन्दै गएको बताउँछन्।

उनले भने, ‘ब्यानर अथवा ट्रेलर हेरेरमात्र फिल्म हेर्ने भएकाले गर्दा फिल्म राम्रो छ भनेमात्र दर्शक आउँछन्। अन्यथा नआउने हुँदा फिल्म हल चलाउन कठिन छ।’

दर्शकको कमीका कारण फिल्म हल बन्दै हुँदै सञ्चालनमा आइरहेको उनको भनाइ छ। विगतमा सिनेमा हल साथीभाइसँग बसेर रमाउने र जमघट गर्ने ठाउँका रूपमा परिचित थियो।

साथीभाइसँग फिल्म हेर्दा बेग्लै आनन्द आउने गरेको स्मरण गर्छन् ५८ वर्षीय हीरा सुनार।

उति बेला सुर्खेतका हलमा फिल्म मात्रै होइन, धार्मिक सिरियल पनि प्रदर्शन गर्ने गरिएको थियो। स्थानीय मानिसले सुमित हलमा भिडियो रिलमार्फत रामायण र महाभारतका सिरियल हेरेको उनले बताए। फिल्मका पर्दामा युद्ध भएको दृश्य प्रस्तुत हुँदा सुरुसुरुमा आफू डराउने गरेको सुनारले बताए।

उनले भने, ‘एउटा फिल्म हेर्दा त्यहाँभित्रको लडाइँले म त डराएर रोएको थिएँ।’आफन्त र परिवार सबै मिलेर फिल्म हेर्न जाँदाको बेग्लै आनन्द रहेको उनले बताए। बिस्तारै बानी पर्न थाल्यो। उनी फिल्म हेरेर रमाउन थाले।
एउटा फिल्मको पर्दामा मानिसलाई खुकुरी प्रहार गरेको दृश्य देख्दा हलबाटै मानिसको भागदौड मच्चिएको अर्का स्थानीय श्याम कँडेल स्मरण गर्छन्।

उनका अनुसार कतिपय जोडीले फिल्म हेरेपछि बिहे गरेर लैजान्थे। अहिले एक त मनोरञ्जनको शैली बदलिएको छ। फिल्म हेर्न हलसम्म पुग्नुपर्छ भन्ने छैन।
दर्शकको रोजाइअनुसारका हल निर्माण हुन सकेका छैनन्। पैसा भए पनि हलमा गएर फिल्म हेर्ने अवस्था नरहेको स्थानीय बताउँछन्।

सुनार सम्झन्छन्, ‘पहिले साथमा पैसा हुँदैन थियो। पाँच रुपैयाँको टिकटमा साथीभाइसँग मिलेर फिल्म हेर्न जाँदा निकै रमाइलो हुन्थ्यो। अहिले साथमा पैसा छ तर ती पुराना साथी साथमा छैनन्।’

सामूहिक मनोरञ्जनका लागि कुनै समय फिल्म हलमा दर्शकको घुइँचो हुन्थ्यो। हिजोआज हलले दर्शक पाउन छाडेका छन्। हलले दर्शक पाउने भनेको त हिन्दी फिल्म चल्दा मात्रै हो।
लक्ष्मी हलमा धेरै दर्शक आउने र पहिल्यै टिकट बुकिङ गरिन्छ।

पछिल्लो समय भने देशको यथार्थ घटना समेटेर बनाएको फिल्मलाई दर्शकले मन पराउने गरेका छन्। समयअनुसार दर्शकको रुचि परिवर्तन भएको छ।

नयाँनयाँ प्रविधि भित्रिएको छ। दर्शकको चाहना र प्रविधिलाई समेटेर हल निर्माण गर्न सके दर्शकको कमी नहुने कँडेल बताउँछन्।
उनले हल राम्रो बन्यो भने दर्शकले नै विज्ञापन गरिदिने बताए।

५० सालतिर सुर्खेतमा हल सञ्चालन हुँदा ८ रुपैयाँमा फिल्म हेर्न पाइन्थ्यो। अहिले स्पेसलको २५० र बाल्कोनीको ३५० रुपैयाँसम्म तिर्नुपर्छ।

प्रकाशित: ८ वैशाख २०८१ १:३४ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast