एक पूर्वस्कुले छात्रको गन्थन मन्थन

हरिकुमार श्रेष्ठ १७ चैत २०८० १५:०५
516
SHARES
एक पूर्वस्कुले छात्रको गन्थन मन्थन

एउटा सुखद संयोग जुटेकोले पाँच दशकअघि मैले कलिलो उमेरमा एक वर्ष अध्ययन गरेको हाम्रो छिमेकी गाउँ गाईखुरको लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा एकपटक फेरि पाइला टेक्ने अवसर पाएँ। त्यो संयोग जुटाउने कार्य सोही विद्यालयबाट एसएलसी गरेका मेरा अभिन्न मित्र हरिराम कोइरालाले गरेका थिए। शिक्षा क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका उनका पिता श्री यमप्रसाद कोइराला त्यस विद्यालयका संस्थापक प्रधानाध्यापक थिए।

विद्यालय प्राङ्गणमा स्थापित उनको प्रतिमाको अनावरण लक्ष्मी माध्यमिक विद्यालय स्थापनाको ७२औँ वार्षिक उत्सवको उपलक्षमा यही २०८० फागुन ८ गते गरिएको थियो। म त्यही कार्यक्रममा उपस्थित हुन पुगेको थिएँ। स्कुल प्राङ्गणमामा टेक्नेबित्तिकै सम्झनाका तरेलीमा बसेका पान्नाहरु फरर खुल्न थाले। यो लेख त्यसकै सेरोफेरोमा बुनिएको छ।

मेरो माध्यमिक शिक्षाको सुरुआत तनहुँ, बन्दीपुरको भानु हाइस्कुलबाट भएता पनि परिस्थितिजन्य कारणले गर्दा बुबाले मलाई त्यहाँबाट झिकेर हाम्रै छिमेकी गाउँ गाईखुरको लक्ष्मी हाईस्कुलमा कक्षा ७ मा भर्ना गर्नु भएको थियो। त्यो २०२३ सालको कुरा हो। बुबाले स्कुल सार्नुको मुख्य कारण छोरालाई घरबाट नजिकको विद्यालयमा ल्याउनु थियो। हेर्दा त बन्दीपुरको डाँडो हाम्रो गाउँबाट मर्स्याङ्दी पारी नजिकै देखिन्थ्यो। तर त्यहाँ पुग्न वर्षात्को समयमा दुई दिन लाग्थ्यो। वर्षा लागेपछि खोलाघाट र सतीघाटमा डुङ्गा लाग्थेन। छोरा भेट्न बुबा काशी जाने कुतीको बाटो भने जस्तै घरबाट दक्षिण जानुपर्नेमा उल्टो उत्तरदिशाको बाटो समातेर चेपेघाट र तार्कुघाटको मर्स्याङ्दीको पुल तरेर फेरि दक्षिण दिशा समातेर बन्दीपुर धाउनु हुन्थ्यो।

मलाई वर्षको एकपटक दसैँको बिदामा घर आउन पनि ज्यानको बाजी लगाउनु पर्थ्यो। असोज महिनामा मर्स्याङ्दीको उर्लदो भेलमा बाेटेहरुले जोखिम मोलेर डुङ्गा चलाउथे। कहिलेकाहिँ त डुङ्गा घाटभन्दा धेरै तल नदी किनारामा उत्रन्थ्यो। पानीको छालले हिर्काएर निथ्रुक्क भिजिन्थ्यो। डुङ्गा बगरमा किनारा लागेपछि बल्ल ठूलो सास फेरिन्थ्यो। स्कुल फेर्नुको मुख्य कारण त्यहि थियो।

स्कुल त फेरियो तर तारैतार विद्यालय फेर्दा मेरो पठनपाठन सोचेजस्तो अघि बढ्न सकेन। बन्दीपुरमा मेरो पढाइले छुट्टै लय लिएको थियो त्यो बीचमै रोकियो। मलाई माया गरेर पढाउने सरहरु त्यतै छुटे, मेरा मिल्ने साथीहरुलाई पनि मैले धेरै मिस गरेँ। नयाँ स्कुलमा भर्ना हुदा सुरुसुरुमा म ज्यादै न्यास्रिएँ। त्यो भन्दा ठ‍ूलो समस्या त खानबस्नको थियो।

गाउँमा प्राइमरी स्कुल पढ्दाका आफ्नै सर पृथ्वीमान मल्लको घरमा केही महिना जसोतसो गुजारा गरे पछि म छात्रावासमा सरें। तर त्यो छात्रावास अहिले बाेर्डिङ स्कुलको होस्टेल जस्तो के होस्! जन श्रमदानबाट निर्माण गरिएको दुइतल्ले चारकोठा भएको छात्रावासको माथिल्लो तल्लामा रामचन्द्र गुरु बस्थे। भुइँतल्लाको दुईवटा कोठामा हामी १०-१२ छात्र कोच्चिएर बसेका थियौ। सुत्नलाई कोठानै ढाक्ने काठको ठूलो खाट थियो जहाँ हामी लस्करै सुत्थ्यौँ।

छात्रावासमा हामी सबैको साझा मेस थियो। सबैले पालैपालो पानी बोक्ने, भात पकाउने,भाँडा माझ्ने काम गर्नुपर्थ्यो। म सबभन्दा सानो भएकोले मेरो भागमा डाँडुपन्यूँ माझ्ने काम पर्थ्यो। तर त्यो मेरा लागि कति कठिन काम हुन्थ्यो भने सबै जना खाइवरी,भाँडा पखाली पढ्न लेख्न तल्लिन भएर बस्दा म डाँडुपन्यूँमा टाँसिएर बसेका भातको सिता कलिला नङले कोपरी रहेको हुन्थेँ। त्यसरी कोपर्दा कोपर्दा मेरो हातको नङमा घाउनै हुन्थ्यो। ‘आफ्नो हातमा डाँडुपन्यूँ’ भन्ने उखान मेरो लागि कहिल्यै चरितार्थ भएन।

खाने कुरा पनि त्यस्तै। भात, गुन्द्रुक, मस्यौरा, मूलाको चाना हाम्रो दैनिक मेन्यूमा पर्थे। मासु, अण्डा, फलफूल त घर जाँदा मात्रै खान पाइन्थ्यो। कहिलेकाहीँ हरियो सागसब्जीका लागि छात्रावास मुन्तिरको मगर गाउँमा गइन्थ्यो। माया गरेर एक मुठा रायो, मुलाको साग पाइन्थ्यो। किनेर खाने चलन थिएन। हप्ताभरीको रासन घरदेखि आफैँले ल्याउनु पर्थ्यो।

शुक्रबार हाफछुट्टी हुनासाथ छात्रावासमा झोला फालेर हामी घरतर्फ दौडिहाल्थ्यौ। तनहुँ, डुम्रीखर्के केटाहरु हुल बाँधेर घर जान्थे तर म भने एक्लै पर्थे। घरपुग्दा झमक्क साँझ परिसक्थ्यो। त्यसमाथि सुनसान वनको बाटो, डरले असिन पसिन हुन्थें। घरको आँगनमा पुगेपछि मात्र ठूलो सास आउँथ्यो।

शनिबार भने आमाको हातको मिठो खान पाइन्थ्यो। उहाँले हप्ताभरिको मेरो कालोमैलो लुगा धोइदिनुहुन्थ्यो। म दिनभर खोलामा पौडी खेलेर रमाउथें। स्कुल जान नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। तर आफूले नचाहेर के गर्नु? आइतबार सबेरै उठेर मन लाइनलाइ भातको गाँस टिपेर स्कुल भ्याउन ३ घण्टाको वाटो सास नलिई हिँड्नु पर्थ्यो। त्यसरी फालठोकेर जाँदा पनि स्कुलमा पहिलो पिरियड जहिल्यै छुट्थ्यो। त्यसले गर्दा पनि मेरो पढाइ राम्रो हुन सकेन। बन्दीपुरमा पढ्दा म अब्बल विद्यार्थीको रुपमा चिनिन्थें। गाईखुर आएपछि म औसत छात्रको रुपमा खुम्चिन पुगें। सरहरुको नजरमा कहिल्यै पर्न सकिनँ।

कक्षामा मेरो मिल्ने साथी पनि खासै थिएनन्। धेरै जसो आफू भन्दा उमेरले ठूला। मेरै उमेरको म जस्तै फुच्चे केटो थियो- श्याम उप्रेती। स्कूलको एसेम्बलीको बेला हामी सबैभन्दा पछि लाइनमा उभिन्थ्यौँ। अगाडि अग्ला अग्ला विद्यार्थीले छेकेका हुन्थे। त्यहि मौकाको फाइदा उठाइ ऊ र म बेलाबेलामा घुच्चाघुच्ची पनि गर्थ्यौ। कहिलेकाहीँ  चउरमा हाक्की खेली लडाउने पछार्ने काम पनि गरिन्थ्यो। उही बालसखा डा.श्याम पछि कलेज पढ्ने बेलामा फेरि घनिष्ट साथी भयो। अहिले उनी प्रतिष्ठित जनस्वास्थ्य विशेषज्ञको रुपमा परिचित छन्।

त्यसोत, हेडसर परशुराम श्रेष्ठको शालिन व्यक्तित्वको प्रभाव ममा त्यतिबेलै परेको थियो। त्यस्तै, इन्द्रदत्त पन्त, मधुविलास देवकोटा,अग्नीधर र रामचन्द्र गुरुहरुले पनि बडो मिहिनेत गरी पढाउथे। छोटो समयको लागि प्रेमकुमारी पन्त पनि स्वयंसेविकाको रुपमा अंग्रेजी विषय पढाउन आइन्। उनको अंग्रेजी भाषाको दक्षता र शिक्षण विधिले मेरो कलिलो दिमागमा गहिरो छाप परेको थियो। पछि उनीले राजधानीबाट प्रकाशित हुने कुनै समयको प्रतिष्ठित अंग्रेजी साप्ताहिक डेली मिररको धेरै वर्ष सम्पादकको रुपमा काम गरिन्।

म लक्ष्मी हाईस्कुलमा पढ्दा विद्यालय भवन भर्खर ठडिएको थियो। कतिपय निर्माणका काम हुँदै थिए। कक्षा कोठाहरु बाँसको चिर्पटले बारेर छुट्याइएका थिए। कक्षा कोठाको भुइँ प्रत्येक हप्ता विद्यार्थी आफैँले पालैपालो लिपपोत गर्नु पर्दथ्यो। शुक्रबार हाफछुट्टी पछि हाम्रो कक्षाको पालो परेको दिन हामी त्यही काममा व्यस्त हुन्थ्यौ‌ँ। त्यो दिन सप्ताहान्तको छुट्टीमा घर जान पाइन्थेन।

अहिले धेरै लामो समयपछि विद्यालय प्राङ्गणमा प्रवेश गर्दा ती अतीतका दिन दन्त्यकथा जस्तो लाग्ने भइसकेछ। हामीले पढेको चुनासुर्की र इँटाको गाऱ्होले बनेको एकसरो विद्यालय भवन अहिले त्यहाँ थिएन। २०७२ सालको गोरखा भूकम्पले जीर्ण अवस्थाको त्यस भवनको ठाँउमा जापानी सहयोग नियोग- जाइकाको सहयोगमा भूकम्प प्रतिरोधक अत्याधुनिक तीनवटा छुट्टाछुट्टै ब्लकको तीन तले भवन बनेका रहेछन्। विद्यालयको त्यति राम्रो भौतिक संरचना देख्दा गर्वले छाति फुल्यो।

तर विद्यालय भनेको भौतिक संरचना मात्रै होइन रहेछ। त्यसको प्राण भनेको पढ्ने विद्यार्थी र पढाउने शिक्षक नै हुँदा रहेछन्। त्यसको प्रमाण खोज्न धेरै टाढा जानु पर्दैन, हाम्रो आफ्नै विद्यालयको इतिहास सम्झे काफी हुन्छ। विभिन्न कठिनाइका बाबजुत लक्ष्मी हाईस्कुलले सुरुआती वर्षदेखिनै एसएलसी परीक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको थियो। त्यहाबाट उत्तीर्ण छात्रछात्राले डाक्टर, इञ्जिनियर, पाइलट, कृषि वैज्ञानिक, प्रशासक, शिक्षक आदि विभिन्न पेसामा आवद्ध रही आ-आफ्नो क्षेत्रबाट देशको लागि महत्वपूर्ण योगदान पुऱ्याएका छन्। त्यसको श्रेय त्यस विद्यालयमा पठाउने अग्रज गुरुवर्गको त्याग तपस्या अनि विद्यार्थीको मिहनेत र लगनशीलतालाई जान्छ।

तर अहिले विद्यालयको स्थिति बिल्कुल फरक थियो। त्यस्तो गौरवशाली इतिहास बोकेको विद्यालयको वर्तमान अवस्था दयनीय रहेको सुन्दा मन चसक्क बिझाँयो। अहिले विद्यालयमा विद्यार्थी संख्या र शैक्षिकस्तर दुबै खस्किँदो अवस्थामा रहेछ। त्यति राम्रो भौतिक सुविधा भए पनि प्रत्येक शैक्षिक सत्रमा विद्यार्थी संख्या घट्दो छ। भएका विद्यार्थीलाई पनि टिकाउन धौधौ छ। पठनपाठनको स्तरीयताको कुरा त छँदै छ।

विद्यालयको त्यस्तो नाजुक अवस्था किन आयो? अनि कसरी आयो? त्यो प्रश्नको जवाफ खोज्दा अर्को प्रश्न पनि अगाडि तेर्सिन आयो। गाउँनै रित्तिएपछि त्यस्तो अवस्था नआओस् पनि किन? हामी पढ्दाताकाको त्यसबेलाको गाईखुरको गुल्जार गाउँबस्ती अहिले सुनसान देखिन्छ। स्कुल मुन्तिर लस्करै चिटिक्क परेका छोप्राकी मल्लहरुको घरको अहिले नामोनिसान थिएन। धेरै जसो घरपरिवार बेँसीतिर झरिसके। कोही कालमाटा, कोही पौवाटार अनि कोही ठाँटीपोखरी। हुनेखाने, पुगीसरी आउने उहिल्यै राजधानी छिरीसके।

हामी बस्ने छात्रावास मुनीको मगर गाउँको अवस्था पनि त्यस्तै थियो। हामी बसेको छात्रावास कच्ची धुले सडकको छेउमा रुग्ण अवस्थामा थियो। हामी कलिला विद्यार्थीको दिमागमा अध्ययन, अनुशासन र स्वावलम्बनको गहिरो छाप छाडेको त्यो छात्रावासले अहिले आफैँलाई गिज्याइ रहे जस्तो लाग्थ्यो। मैले कलिलो उमेरमा एक वर्ष बिताएको त्यो छात्रावास घरतर्फ एक नजर दिँदा मन त्यसै भारी भएर आयो।

गाउँघरको त्यस्तो अवस्थावाट गाईखुरको लक्ष्मी माध्यमिक विद्यालय मात्र हाेइन अहिले देशका धेरै सामुदायिक विद्यालयहरु प्रताडित छन्। धेरै टाढाको कुरा किन? २०२६ सालको एसएलसी परीक्षामा डा. बाबुराम भट्टराइलाई प्रथम स्थान दिलाउन सफल गोरखाकै लुइटेलको अमरज्योति माध्यमिक विद्यालय र कुनै समय तनहुँ जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा चिनिने म आफैँले एसएलसी दिएको बन्दीपुरको भानु माध्यमिक विद्यालयको अवस्था पनि खस्कँदो अवस्थामा रहेको सुन्नमा आउँछ।

त्यसको कारण खोज्न धेरै टाढा जानु पर्दैन। मुलुकमा समस्त शिक्षाक्षेत्रमा भएको बेथितिको प्रत्यक्ष प्रभाव सामुदायिक विद्यालयमा पर्ने नै भयो। त्यसदेखि बाहेक बदलिँदो ग्रामीण अर्थ-राजनीति र डेमोग्राफिक कम्पोजिसन पनि त्यसको प्रमुख कारकतत्वको रुपमा तेर्सिएको बुझ्न गाऱ्हो छैन। अहिले हामीले भोगिरहेको परिस्थितिलाई एउटा प्याराडक्स पनि भन्न सकिएला- जसबाट हाम्रो समस्त ग्रामीण क्षेत्र गुज्रिरहेको छ। गाउँगाउँमा आधारभूत भौतिक सुविधा पुगेका छन् तर गाउँ भने रित्तिने क्रममा छन्। उदाहरणको लागि वर्षौँ  पहिले मैले असिन पसिन गरी उकालो चढ्ने सालघारीको वन भएर स्कुल जाने गोरेटे बाटो‍‍- डोजरे सडक नै सही,अहिले स्कुलसम्म मोटर पुग्ने भएछ। गाँउमा बिजुली बत्ति, इन्टरनेट, मोवाइल सुविधा पनि पुगेका छन्। लिफ्ट गरेर गाउँमा खाने पानी पनि पुगेको रहेछ। त्यति भएर पनि गाउँका गाउँ किन रित्तिदै छन्?

त्यो प्रश्नले मलाई धेरैबेर घोरिन बाध्य बनायो। त्यसरी घोरिँदै गर्दा मैले स्कुले छात्रको रुपमा त्यहाँ पढ्दा हाम्रा आदरणीय गुरुले घोकाउनु भएको ‘जुनसुकै वादलमा पनि चाँदीको घेरा हुन्छ’ भन्ने प्रसिद्ध भनाई एकपल्ट फेरि सम्झन पुगें। त्यस चाँदीको घेरा अर्थात् ‘आशाको संचार’ मैले त्यहा अध्ययनरत ससाना अवोध विद्यार्थीको अनुहारमा पढिरहेको थिएँ जसले विद्यालयको वार्षिकत्सोव मनाउन दिनभर भोकप्यास नभनी पिटीपरेड तथा विभिन्न साँस्कृतिक कार्यक्रमको माध्यमबाट सम्पूर्ण अभिभावक र हामीजस्ता आगन्तुकलाई आल्हादित बनाइ रहेका थिए।

ती कलिला छात्रछात्राको दर्बिलाे प्रदर्शन देख्दा लाग्थ्यो- उचित संरक्षण, रेखदेख र अनुकूल वातावरण पाए उनीहरुले अवश्य विद्यालयको साख जोगाउने छन्। तिनीहरुलाई मलजल गरी हुर्काउने दायित्व सरोकारवाला सबैको हो- शिक्षक, अभिभावक, जनप्रतिनिधि, स्थानीय सरकार- सबैको हो। होस्टेमा हैसे गर्ने काम हामीजस्ता पूर्वविद्यार्थीको पनि हो।

एउटा सुखद संयोग जुरेकोले मैले यो गन्थन मन्थन कोर्न सकें। प्रस्तुत गन्थन मन्थनलाई बिट मार्नुअघि मनदेखिनै मलाई भन्न मन लागेको कुरा- जसरी हाम्रो प्यारो लक्ष्मी माध्यमिक विद्यालयले ७२औँ वार्षिकउत्सव भव्यरुपमा मनायो। उसले आफ्नो शतवार्षिकी उत्सव अझै गौरवमय ढंगले मनाउन सकोस्। यही नै शुभकामना।

श्रेष्ठ पूर्वराजदूत हुन्। उनी साहित्य लेखनमा पनि रुचि राख्छन्।

प्रकाशित: १७ चैत २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =