खाेलामा नुहाउन गएकी युवतीकाे हँसिया प्रहार गरी हत्या

हिमाल प्रेस १६ चैत २०८० १८:४८
90
SHARES
खाेलामा नुहाउन गएकी युवतीकाे हँसिया प्रहार गरी हत्या

पाल्पा- प्रहरीले पाल्पाकी १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ। रिब्दिकोट गाउँपालिका– १, ख्याहाकी पद्मा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

सुनारको गत मङ्गलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न देखिएकाले लप्सीखोलाका १९ वर्षीय सार्कीलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ। प्रतिवादीले हत्या गर्दा प्रयोग गरेको धारिलो हतियार (हँसिया) एक थान, हत्या गर्दा लगाएको लुगा कालो जिन्स पाइन्ट र रातो टिसर्ट एक–एक थान, रातो रङको खादा, कालो रङको चप्पल एक जोर, मृतकको मोबाइल एक थान र रगतजस्तो रातो पदार्थ लागेको मोबाइलको टेम्पर ग्लास एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

सुनार गत मङ्गलबार घरबाट अन्दाजी दुई किलोमिटर टाढाको लप्सीखोलामा कपडा धुन र नुहाउन गएकी थिइन्। उनी दिउँसो साँढे ३ बजेसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा ४ बजेको समयमा रिब्दिकोट– १, खुलखुले गैरास्थित लप्सीखोलाबाट कराम्दीतर्फ जाने गोरेटोमा उनले धुन लगेका कपडा लथालिङ्ग अवस्थामा भेटिएको थियो। सो स्थानबाट अन्दाजी २० मिटर तलपट्टि खरबारीमा सुनारको टाउको, घाँटी, हातमा घाउचोटसहित रगताम्य अवस्थामा मृत फेला परेकी थिइन्।

उक्त घटना थाहा हुनेबित्तिकै प्रहरीचौकी सर्देवा, हार्थोक, अर्गली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थल पुगी हत्याको अनुसन्धान सुरु गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारामा मृतक सुनारले लुगा धोएर डोकोमा हाल्ने बेला सामान्य विवाद भएको र लुगा बोकेर घरतर्फ फर्किंदै गर्दा पछाडिबाट अभियुक्त सार्कीले हँसिया प्रहार गरेको खुल्न आएको छ।

मृतकको बायाँ पाखुरा, टाउको र पछाडि खप्परमा प्रहार गर्दा मृतक सुनार बाटोबाट अन्दाजी २० मिटर तल खरबारीमा घस्रिदै गई घोप्टो अवस्थामा पुगेको प्रहरीले जनाएको छ। मृतकको टाउकोमा दुई/तीनपटक प्रहार गरी मोबाइलसमेत लिएर गएको अभियुक्तले प्रहरीलाई बताएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। मृतक सुनारको शव परीक्षणका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। रासस

प्रकाशित: १६ चैत २०८० १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =