एसईईमा ३ घण्टा उभिने निरीक्षकलाई २९७ रुपैयाँ भत्ता!

रमेश दवाडी १६ चैत २०८० १४:२१
1.9k
SHARES
एसईईमा ३ घण्टा उभिने निरीक्षकलाई २९७ रुपैयाँ भत्ता! सर्लाहीको मलङ्गवा–२ स्थित पब्लिक माविमा एसईई। तस्बिर : विश्वनाथ ठाकुर/रासस

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निरीक्षक बस्ने शिक्षकहरूले न्यून भत्ता दिइएकोमा गुनासो गरेका छन्। बिहीबारदेखि सुरु भएको एसईई चैत २७ गतेसम्म सञ्चालन हुनेछ।

गोरखाको अजिरकोट गाउँपालिका–४ हिमालय मावि झ्याँवाका सुपरीवेक्षक कालीप्रसाद अधिकारीले एसईईमा निरीक्षकको रूपमा बस्ने शिक्षकलाई न्यूनभत्ता छुट्याइँदा समस्या भएको बताए।

अधिकारीले निरीक्षक बस्ने कुनै पनि शिक्षक खुसी नभएको बताए। उनले हिमालप्रेससँग भने,‘शिक्षकहरू खुसीसाथ निरीक्षकको रूपमा बस्न मान्नुहुन्न। बाध्यताले बस्नुपरेको छ। काम त्यसै लगायो भन्नुहुन्छ। शिक्षक ओरेन्टेशनमा पनि यस्ता गुनासा राख्दै आएका छौँ तर सुनुवाइ हुँदैन।’

सरकारले केन्द्राध्यक्षलाई ८ सय रुपैयाँमा १५ प्रतिशत कर काटेर ६८० रुपैयाँ, सहायक केन्द्राध्यक्षलाई ५ सय रुपैयाँमा १५ प्रतिशत कर काटेर काटेर ४७५ रुपैयाँ, निरीक्षकलाई ३५० रुपैयाँमा १५ प्रतिशत कर काटेर २९७ रुपैयाँ ५ पैसा, परीक्षा सहायकलाई ३०० सय रुपैयाँमा १५ प्रतिशत कर काटेर २५५ रुपैयाँ, कार्यालय सहायकलाई १५० रुपैयाँमा १५ प्रतिशत कर काटेर १२७ रुपैयाँ ५ पैसा र सुरक्षाकर्मीलाई पनि १५० रुपैयाँमा १५ प्रतिशत कर काटेर १२७ रुपैयाँ ५ पैसा दिएकाे छ। उनीहरू सबैलाई खाजाखर्च स्वरूप १५० रुपैयाँ छुट्याइएको छ। खाज खर्चमा भने कर काटिदैन।

२०६७, ०६८ र ०६९ मा एसईईको निरीक्षक बसेका अजिरकोटकै जीवन ज्योति माविका शिक्षक केशव दवाडी पनि निरीक्षकलाई दिइने भत्ताबाट सन्तुष्ट छैनन्। उनले त्यतिबेला कर कटाएर २७५ रुपैयाँ पाउँथे। दवाडी भन्छन्,‘एसईईमा निरीक्षकको रूपमा खटिने शिक्षकलाई दिइने भत्ता अपमानजनक छ। भत्ता समयोचित छैन।’

कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई नियन्त्रक नन्दलाल पौडेल पनि केन्द्राध्यक्षदेखि कार्यालय सहयोगीसम्मलाई दिइने दैनिक भत्ताप्रति सन्तुष्ट छैनन्। बोर्डले धेरैपटक यस्ता गुनासा सम्बन्धित मन्त्रालयमा राखे पनि सुनुवाइ नभएको बताए।

‘अवस्था लाजमर्दो छ। बजेट एकैपटक मन्त्रालयबाट प्रदेशमा जान्छ। परीक्षा बोर्डलाई बजेट आउने होइन। बजेटबारे बोर्डले चासो पनि राख्दैन। दैनिक भत्ता न्यून भयो भनेर सम्बन्धित ठाउँमा भनेका छौँ तर सुनुवाइ भएको छैन। म आफैँलाई पनि लज्जाबोध भएको छ।’

३ सय रुपैयाँमा पनि १५ प्रतिशत कर कटाएर ३ घण्टा काम गर्नुहोस् भन्न निकै गाह्रो हुने बताउँदै पौडेलले जुन केन्द्रमा परीक्षा सञ्चालन भएको छ त्यहाँका शिक्षकलाई शिक्षकको दायित्व पूरा गरिदिन अनुरोध गरिएको बताए।

उनले भने,‘हामीले धेरैपटक गुसानो राख्यौं। जनशक्ति कजाउन त हामीले नै पर्छ। ३ सय रुपैयाँ लिएर ३ घण्टा काम गर्नुस् भन्न  निकै गाह्रो छ। शिक्षकको दायित्व भएकाले सहयोग गर्नुस् साथी हो भनेका छौँ। हामीले नै पढाएका विद्यार्थी हुन् निःशुल्क परीक्षा लिइदिनुस् भन्नुपर्ने बाध्यता छ।’

प्रकाशित: १६ चैत २०८० १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =