पहिलो दिनको एसईई शान्तिपूर्ण, पर्यवेक्षण गर्न र तस्बिर खिच्न रोक

हिमाल प्रेस १५ चैत २०८० १४:५६
174
SHARES
पहिलो दिनको एसईई शान्तिपूर्ण, पर्यवेक्षण गर्न र तस्बिर खिच्न रोक

भक्तपुर- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। उनका अनुसार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो।

चैत २७ गते सम्पन्न हुने परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित आवश्यक तयारी गरिएको उनले बताए।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए।

परीक्षामा केही परीक्षार्थीको संख्या घटेको हुनसक्ने परीक्षा नियन्त्रक पौडेलले बताए। उनका अनुसार कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन्।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अंक र प्रयोगात्मकमा ४० अंक ल्याउनैपर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनैपर्ने जानकारी दिए।

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ।

३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनको भनाइ छ। विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्।

परीक्षा हलभित्र पर्यवेक्षण गर्न र तस्बिर खिच्न रोक

एसईई परीक्षाको हलमा प्रवेश गरेर पर्यवेक्षण गर्न र तस्बिर लिन रोक लगाइएको छ। परीक्षार्थीले परीक्षा दिइरहेका अवस्थामा हलभित्र प्रवेश गरी पर्यवेक्षण गर्ने र तस्बिर खिच्ने गरिएकाले उक्त कार्य गर्न नपाउने निर्णय गरेपछि पत्रकार, पर्यवेक्षक वा अन्य व्यक्तिलाई तस्बिर खिच्न रोक लगाइएको शिक्षा विकास तथा समन्वय एकाई भक्तपुरकी प्रमुख कमला ज्ञवालीले जानकारी दिइन्।

समितिको बैठकले गरेको निर्णयानुसार आजदेखि सुरु भई १७ गते सम्पन्न हुने एसईई परीक्षाको हलभित्र परीक्षा दिइरहेको अवस्थामा प्रवेश गरी तस्बिर लिन रोक लगाएको उनले जानकारी दिइन्।

परीक्षा हलमा अनुगमन, पर्यवेक्षक र पत्रकारको नाममा जथाभावी प्रवेश गर्ने र तस्बिर लिने गर्दा विद्यार्थीलाई परीक्षामा बाधा पुग्ने गुनासो धेरै ठाउँबाट आएपछि यस्तो निर्णय गरिएको ज्ञवालीको भनाइ छ।

उनका अनुसार शिक्षा विकास तथा समन्वय एकाईसँग समन्वय गरी आधिकारिक परिचयपत्रसहित बाहिरी वातावरणको मात्र पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको छ। भक्तपुरका २४ परीक्षा केन्द्रमा छ हजार बढी विद्यार्थी सहभागी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =