![रोशनी खरेल : मोडलदेखि ‘रोल मोडल’ सम्म](https://himalpress.com/wp-content/uploads/2024/03/Roshani-kharel-nepal.jpg)
काठमाडौँको पद्मकन्या क्याम्पसमा डिप्लोमा पढ्दै गर्दा मेरो बिहे भयो। म त्यति बेला २० वर्षकी थिएँ। उहाँ (श्रीमान्) चीनमा इन्जिनियरिङ पढाइ हङकङको चेप्लाकोट (जहाँ अहिले एयरपोर्ट छ) कन्स्ट्रक्सन कम्पनीमा काम गर्नुहुँदो रहेछ। बिदाका बेला नेपाल आउँदा कसैले हाम्रो परिचय गराइदियो। चिनजान भएको छोटो समयमै बिहे भयो। बिहेपछि म हङकङ पुगेँ। त्यो २७ वर्षअघिको कुरा हो।
मैले ब्रिटिसले छाडेको हङकङको अनुभव गर्न पाएँ। १९९७ सम्म हङकङ ब्रिटिसकै अधीनमा थियो। त्यति बेलाको हङकङ र अहिलेको हङकङमा धेरै भिन्नता छ। स्वतन्त्रता र सुरक्षाका हिसाबले ठिक छ। हङकङमा चिनियाँ नीति बढी छ। स्वाभाविक रूपमा पहिला ब्रिटिसको वर्चस्व थियो, अहिले चीनको वर्चस्व छ हङकङमा।
हङकङमा अधिकांश लाहुुरे थिए। उनीहरूका परिवार नेपालमै बस्नुपर्ने थियो। नागरिकको अधिकार त १९९८ पछि दिएको हो। अन्य नेपाली बस्ने अवसर कम थियो। हङकङले नेपालीलाई १५ दिनको अनअराइभल भिसा दिन्थ्यो।
मेरा श्रीमान् पनि इन्जिनियरिङ पास गरेर चीनबाट नेपाल फर्किने क्रममा सोही भिसामा त्यहाँ बस्नुभएको रहेछ। उहाँलाई यस्तो राम्रो सहरमा किन जागिरका लागि किन प्रयास नगर्ने भन्ने लागेछ। त्यहाँको पत्रिकामा वान्टेड देखेर आवेदन दिनुभएछ। पहिलो प्रयासमै जागिर पाउनुभएको थियो। उहाँको तलब सुविधा निकै राम्रो थियो। म बिहे गरेर हङकङ जाँदा श्रीमान्ले सबै बन्दोबस्त गरिसक्नुभएको थियो। मैले त्यस्तो संघर्ष गर्नुपरेन।
सफलताको रहस्य
श्रीमान्ले झन्डै १० वर्ष पुल डिजाइनमा काम गर्नुभयो। अरूका लागि किन काम गर्ने? आफैँ गरौँ भन्ने लाग्यो। व्यापार व्यवसाय आफ्नो लागि गर्ने हो। जागिर अरूका लागि खाइदिने हो। आफ्नो व्यवसायमा व्यस्त हुन सकिन्छ र फुर्सद पनि पाउन सकिन्छ। हामीले आफ्नै लागि काम गरौँ भनेर सन् २००९ मा निर्माण कम्पनी दर्ता गरायौँ। सुरुमा २/३ जना कर्मचारी राखेका थियौँ।
हाम्रो कम्पनी छोटो समयमा फड्को मार्ने कम्पनीमध्येमा पर्छ। हामीले नरिवल फुटाएको दिनदेखि ठेक्का पाउन थाल्यौँ। अहिलेसम्म पछाडि फर्कनुपरेको छैन। नेपाली, चिनियाँलगायत विदेशी नागरिकलाई रोजगारी दिएका छौँ। उहाँहरूलाई जागिर दिन पाउँदा गर्व महसुस हुन्छ। हामी बिल्डङभन्दा पनि ब्रिजमै काम गछौँ।
अन्डरग्राउन्ड, टनेल वर्क, ड्रिल एन्ड ब्लास्ट गर्छौँ। हङकङ टु मकाउ ब्रिजमा पाँच वर्ष काम गर्यौँ। त्यहाँ काम गर्ने हजारौँ नेपाली थिए। हङकङबाट ग्वान्जाओ जाने फास्ट ट्रयाक ट्रेनमा काम गरियो। त्यसमा पनि हामीले चारपाँच वर्ष काम गर्यौँ। पहाडमा ब्लास्ट र ड्रिल गर्यौँ। हामीले समुद्रमुनि काम गरेका छौँ। मकाउको टर्मिनल बिल्डिङ हामीले बनाएका हौँ। फास्ट ट्र्याक ट्रेन स्टेसन पनि बनाएका छौँ।
हङकङमा ३० प्रतिशत नेपाली बिल्डर्स छन्। ८-१० वटाजति निर्माण कम्पनी नेपालीका छन्। पहिला मजदुरी गर्नेहरू अहिले टेक्निकल फिल्डमा छन्। क्रेन अपरेटर, ब्लास्ट, इलेक्ट्रसियनमा सबै योग्य भइसके। जति जोखिम लिएर काम गर्यो उति धेरै पैसा हुन्छ यहाँ। चिनियाँ नागरिक जोखिम सहेर काम गर्न चाहँदैनन्। काममा जोखिम उठाउने त नेपालीले नै हो।
नेपालीकै लागि काम
हामीले हङकङमा नेपालीकै लागि काम गरिरहेका हुन्छौँ। आम्दानी पनि नेपालमै भित्र्याइरहेका हुन्छौँ। एउटा नेपालीले हङकङमा रोजगारी पाउने भनेको उसको घर हाम्रो हुनु हो। आर्थिक रूपमा सक्षम हुनु हो। नेपालमै आउने हो त्यो पैसा।
नेपालीले सांस्कृतिक कार्यक्रम गरिरहेका हुन्छन्। हामीले पनि सहयोग गर्छौँ? नेपाली कलाकार आउँछन्। कुनै संस्थाले कार्यक्रम गरेको हुन्छ। उसलाई सहयोग त चाहिन्छ। त्यस्तो सहयोग हङकङ सरकारले गर्दैन। सहयोग गर्ने नेपाली व्यापारीले हो। हामीकहाँ आएर सहयोग गर्नुपर्यो भन्नुहुन्छ। यसरी आउनेलाई हामी खाली हात पठाउँदैनौँ।
जति सकेको दिन्छौँ। घरमा आइसकेको मान्छे त्यो भगवान् हो। अर्को कुरा, नेपाली संस्कृतिको प्रवद्र्धन पनि हुन्छ। हाम्रा बालबच्चा यहीँ नै जन्मेका छन्। उनीहरूलाई नेपाली लोकगीत थाहा छैन। सांस्कृतिक कार्यक्रम हुँदा उनीहरूले नेपालीपन सिक्छन्। हङकङमा हुने नेपाली कार्यक्रममा आर्थिक सहयोग त छँदैछ भ्याएसम्म जान्छौँ। त्यसले गर्दा त्यहाँको समाजसँग हामी जोडिएका छौँ। मेरो ब्लडमा समाजसेवा र राजनीति छ। मैले घरबाटै सिकेको हो।
हङकङको समाज
संस्कृति, परम्परा फरक भए पनि मनाउने त सँगै हो। नेपालको सार्वजनिक बिदा हङकङमा खोजेर पाइँदैन। हामी तीनवटा नयाँ वर्ष मनाउँछौँ। एउटा नेपाली, चाइनिज र अर्को अंग्रेजी। जहाँ बस्छौँ त्यहाँको संस्कृतिलाई आत्मसात् गर्नुपर्यो नि। हामी तीज, दसैँ, तिहार मनाउँछौँ। विभिन्न जातजातिका संगठन छन्।
उहाँहरूले परम्परागत कपडा लगाएर संस्कृति जीवन्त बनाउने प्रयास गर्नुहुुन्छ। विदेशमा बसेर पनि नेपाली संस्कृति, भेषभूषा अँगाल्न पाउँदा नेपालबाट टाढा नभएको अनुभूति हुन्छ।
गैरआवासीय संस्थामा संलग्नता
एनआरएनएको सदस्यता लिएकी छु तर पदमै बसेर काम गर्ने इच्छाचाहिँ छैन। कार्यक्रममा बोलाउँछन्। हामी कुनै पनि पदमा छैनौं। सल्लाहकारका रूपमा छौँ। एनआरएनभित्र राजनीति पनि होला तर आफू राम्रो हुनुपर्छ। त्यसपछि अरू राम्रा हुन्छन्। काम गर्ने वातावरण मिल्छ। एनआरएनए पनि नेपालको राजनीतिभन्दा फरक छैन कि जस्तो लाग्छ।। देशमा भूकम्प, कोरोना भाइरस, बाढीपहिरोजस्ता विपत्ति आउँदा एनआरएनएले सहयोग गरेको छ।
राजनीतिमा चासो
बुबाआमा दुवै राजनीतिमा भएको हुनाले राजनीतिको धेरै ज्ञान छ। त्यसो हुँदा राजनीतिलाई किन समय नदिने भन्ने पनि लाग्छ। समाजसेवा गर्न राजनीतिमा लाग्ने हो। म नेताकी छोरी भनेर राजनीतिमा आउँदिनँ। डाक्टरको छोरा डाक्टर नै हुनुपर्छ भन्ने छैन। अहिले हाम्रो समाजमा त्यही भइरहेको छ। जोसँग भिजन छ त्यो मानिस राजनीतिका लागि ठिक हो। केही वर्षअघिसम्म अरू काम गर्न नसके राजनीति गर्ने हो भन्ने हुन्थ्यो। अब त्यस्तो अवस्था छैन।
चीनलाई मैले नजिकबाट देखेको छु। फाइनान्स पढेको मानिस फाइनान्समै जान्छ। जे पढेको छ त्यही सेक्टरमा हुन्छ। आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेको हुनुपर्छ। जोसँग जे क्षमता छ उसले त्यही हाँक्ने हो।
नेपालमा एउटै प्रणाली देख्दादेख्दै वाक्क भइसकियो। २५-२६ वर्षका युवाले पनि त्यही प्रधानमन्त्री हेर्नुपर्ने? परिवर्तन त हुनुपर्यो नि! सिंगापुरको राजनीति हेर्नुस्! राम्रो काम गर्ने मानिसले निरन्तरता पाउनुपर्छ। नराम्रो गर्नेलाई हटाउनुपर्छ। नयाँ पुस्तालाई मौका दिनुपर्छ। बल्ल देश समृद्ध हुन्छ। हाम्रा नेताहरूले अस्पतालको बेडबाट आर्यघाट जान चाहन्छन् तर राजनीति छोड्दैनन्।
नेपालका नेताहरूले व्यक्तिगत स्वार्थभन्दा पनि देशका लागि सोचिदिने हो भने धेरै राम्रो हुने थियो। गणतान्त्रिक व्यवस्था आयो तर खासै सुधार देखिएको छैन। जति राजनीतिक पार्टी आए पनि काम एउटै रूपमा भइरहेको छ।
यसरी व्यवस्थित बन्न सक्छ काठमाडौँ
अहिले काठमाडौँमा घरबाहेक केही पनि देखिँदैन। तरकारी र फूल रोप्ने जमिन छैन। तरकारी र फूल त कौसीमा देखिन्छ। काठमाडौँमा सबै सेवासुविधा भएको हुनाले यहाँ सबैजना केन्द्रित हुँदै गए।
अहिले काठमाडौँमा गाडीको अस्तव्यस्त छ।सडक व्यवस्थित छैनन्। साँघुरो सडकमा मोटरसाइकल पार्किङले गर्दा कतिपय ठाउँमा हर्न बजाएर सार्नुपर्ने अवस्था छ। प्रदूषण छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राम्रो काम गरेको देखिन्छ। सफा सडक, फोहोरमैला व्यवस्थापन भएको छ। सडकमा बत्ती राखेका कारण राति सवारीसाधन चलाउन सकिने अवस्था छ। ट्राफिक लाइट थपेर व्यवस्थित बनाउनुपर्छ। पहिला सहर कस्तो देखिन्छ? देश त्यसैमा प्रतिबिम्बित हुन्छ। नेपालमा भौतिक पूर्वाधारमा सुधार हुनुपर्छ। सिंहदरबारका बिल्डिङभन्दा बाहिरका संरचना राम्रो बनाउनुपर्छ। किनभने सिंहदरबारमा सीमित मानिसमात्र हुन्छन्। एकजना पर्यटकले सिंहदरबारभन्दा पहिला एयरपोर्ट पहिला देख्छ।
काठमाडौँ थप व्यवस्थित गर्नुपर्ने अवस्था छ। म कन्ट्रक्सन फिल्डमा भएको हुनाले के भन्छु भने अन्डरग्राउन्ड, ओभरहेड ब्रिज अथवा मेट्रोहरू भइदिने हो भने गन्तव्यमा सजिलै पुग्न सकिन्छ। समय बर्बाद हुँदैन।
काठमाडौँमा हात हल्लाएको भरमा बस रोकिन्छ। ठाउँठाउँमा स्टेसन राखिदिए सजिलो हुन्छ। मान्छेहरू त्यहाँबाट चढ्ने ओर्लने गर्छन्। बस सिस्टममा पनि परिवर्तन हुनुपर्छ। घण्टी बजाएर नियमअनुसार बस चढ्नेओर्लने गर्दा पनि ध्वनि प्रदूषण कम हुन्छ।
कतिपय मानिसलाई आकाशेपुलको भर्याङ चढ्न अल्छी लागेको देखिन्छ। पुल किन तर्ने? सडकबाटै पारि जाँदा छिटो हुन्छ भन्ने छ। जनचेतनाको कमीले यस्तो भएको हो। बरु समय लागोस् आकाशेपुलबाटै सडक पार गर्नुपर्छ। जेब्राक्रसबाट सडक पार गर्नुपर्छ। सरकारले पनि जथाभाबी रोडक्रस गर्नेलाई जरिबाना तिराउनुपर्छ। सिस्टम नभएर मानिसले नियम उल्लंघन नगरेका हुन्।
नेताहरूले देश बनाउने वातावरण बनाउनुपर्यो
हङकङमा जस्तै काम नेपालमा पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। आफ्नो देशमा किन नगर्ने? दुःखका साथ भन्नुपर्छ, नेपालमा ६ महिनाअगाडि गरेको निर्माणकार्य ६ महिनापछि बिग्रिसक्छ। हामीलाई त्यसरी काम गर्नु छैन। गुणस्तरमा विश्वास गर्छौँ। एकपटक बनाएपछि त्यो बिग्रिन भएन नि!
नेपालका निर्माण व्यवसायी त्यति जिम्मेवार देखिँदैनन्। कंक्रिट र सिमेन्टमा घोटाला गरिदिने। टेन्डरमा धेरै पैसा लिने। जता पनि कमिसन लिन्छन्। सबैलाई बाँड्नुपर्छ। यस्तो सिस्टम भएको हुनाले हामीलाई काम गर्न मन लाग्दैन। जिम्मेवारी लिइसकेपछि पूरा गर्ने हो। नेपाल आएर नाफा कमाउँला भनेर काम गर्न मन छैन।
सरकारले यस्तो नीति बनाउनुपर्यो- तपाईँहरू आउनुस्, काम गर्नुस् भन्ने हो भने कुनचाहिँ नेपाली आउँदैन र? यस फिल्डमा हुने नेपाली नेपाल आएर काम गर्न चाहन्छन्। सरकार र नेताहरूले साँच्चै देश बनाउने वातावरण बनाउने हो भने हामी जहिल्यै पनि आउन तयार छौँ।
विदेशमा बसे पनि मलाई नेपाली भएकोमा गर्व लाग्छ। हङकङमा विविध जातजाति, भाषा, धर्मसंस्कृति भएका मानिस छन्। बेलायती सेनामा पोखरा, धरानबाट भर्ना हुन्थे। ब्राह्मण-क्षेत्री जान नपाउने नियम थियो। जान चाहनेले थर परिवर्तन गर्नुपथ्र्यो। मंगोलियन अनुहार, शारीरिक रूपमा तन्दुरुस्त भएकालाई मात्रै बेलायती सेनामा भर्ना लिइन्थ्यो। हामीलाई हङकङमा त्यस्तो महसुस हुँदैन। कोही नेपाली देख्दा खुसी लाग्छ। यो मन त मेरो नेपाली हो भन्छन् नि, हो त्यस्तै हो।
मिस नेपालमा भाग लिँदा
म सहभागी हुँदा पहिलो मिस नेपाल थियो। त्यतिबेला १८ वर्षकी थिएँ। त्यतिखेर ग्ल्यामर्सलाई राम्रो मानिँदैनथ्यो। पारिवारिक पृष्ठभूमि राजनीतिक भएको हुँदा ग्ल्यामर्समा जान कल्पना पनि गर्न सकिँदैनथ्यो। गोरखापत्रमा विज्ञापन देखेपछि आवेदन दिन मन लाग्यो। आवेदन दिएको कुरा घरमा भनिनँ।
अन्नपूर्ण होटलमा अडिसन दिएँ। छनोट भएपछि १५ दिनको तालिममा जानुपर्ने भयो। घरमा भनेँ। त्यो मेरो जीवनको पहिलो महत्त्वपूर्ण निर्णय हो। अहिले सम्झिँदा मलाई गर्व अनुभूति हुन्छ। आफूमा निर्णायक क्षमता रहेछ भन्ने थाहा भयो। रचना गुरुङ अहिले पनि भन्नुहुन्छ- १९९४ को मिस नेपालमा त्यति प्रशिक्षण पाएनौँ।
१५ दिनको तालिमपछि हामीले क्याटवक सिकेका हौँ। अहिलेका प्रतिस्पर्धीले युट्युब र टेलिभिजनबाट सिकेका हुन्छन्। जे खोजे पनि गुगलमा पाइन्छ। तयारी गरेर उपाधि जित्न जाने भएकाले तीव्र प्रतिस्पर्धा छ। मिस नेपालको निर्णायक हुँदा मैले त्यो देखेँ। अहिले अवसर धेरै छ। हाम्रो पालामा मिस नेपाल भएर अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन मात्र पाइन्थ्यो। एकदुईवटा कार्यक्रममा रिबन काट्न बोलाउँथे। मिस नेपाललाई राम्रो नजरले हेरिँदैनथ्यो। अहिले चाहिँ व्यावसायिक भएको छ। रोलमोडलका रूपमा हेर्न थालेको छ समाजले। त्यसैले अवसर पनि धेरै छ।
पहिला र अहिलेको काठमाडौँ
मैले विद्यालय शिक्षा चितवनबाट लिएकी हुँ। १६ वर्षको उमेरमा उच्च शिक्षाका लागि काठमाडौँ आएँ। पद्मकन्याबाट कलेज जीवन सुरु भयो। पहिला र अहिलेको काठमाडौँमा धेरै फरक छ। त्यतिबेला घरहरू थोरै थिए। काठमाडौँका धेरै जमिनमा धान रोपिएको हुन्थ्यो। म अहिलेको संसद् भवनपछाडि बस्थेँ। नजिकै काउलीबारी थियो।
म पढ्दा काठमाडौँमा ट्रलिबस गुड्थ्यो। सार्वजनिक साधनमा ट्याक्सी, कालो टेम्पो र बस थिए। निजी कार न्यून थिए। अहिले यातायातको पर्याप्त सुविधा छ। तीन/चार इन्चको हिल, खद्दरको साडी लगाएर बानेश्वर हुँदै पद्मकन्या कलेज हिँडेर पुग्थ्यौँ। वातावरण प्रदूषण थिएन। हिँड्दा गाह्रो महसुस हुँदैनथ्यो।
बाल्यकाल
मेरो बुबा काभ्रेपलाञ्चोकबाट सांसद हुनुहुन्थ्यो। पछि अर्थमन्त्री हुनुभयो। राजनीति गर्दा बुबा काठमाडौँमा बस्नुभयो। काठमाडौँको जाडो छल्न बुबा चितवन जानुभयो। औलो उन्मूलन भइसकेको थिएन। चितवनको पिठुवा (अहिले रत्ननगर-१६) मा जग्गा किन्नुभयो। चितवनमा बस्न थालेपछि काठमाडौँभन्दा त्यहाँको वातावरण राम्रो लाग्न थाल्यो। मलाई अहिले पनि सम्झना छ- घरमा मयूरदेखि हरेक किसिमका जीवजन्तु पालेका थियौँ।
हाम्रो २८ बिघा जमिन थियो। वरिपरि कुनै बस्ती थिएन। बुबाले इँटा बनाउन सुरु गर्नुभयो। त्यही इँटाले हाम्रो घर बन्यो। सायद चितवनको पहिलो पक्की घर हाम्रो थियो। बुबाले समाज निर्माण गर्न थाल्नुभयो। चिनेजानेकालाई घर नजिकै आएर बस्न आग्रह गर्नुभयो। गोरखा, धादिङलगायतका मानिस बसाइँ आउन थाले। त्यहाँ सबै जातका मानिस थपिन थाले। अहिले सम्झँदा जोकोहीले त्यस्तो हिम्मत गर्न सक्दैनथ्यो होलाजस्तो लाग्छ।
जग्गा धेरै थियो। सिचाइँ गर्न पानी थिएन। बुबाले डेनिस सहयोगमा पानी ल्याउन सुरु गर्नुभयो। ठाउँठाउँमा पानी वितरण गर्नुभयो।। गाउँमा स्कुल थिएन। बुवाकै पहलमा जनजागृति स्कुल खुलेको हो। बुवाले भारतबाट गणित, विज्ञान र अंग्रेजीका शिक्षक ल्याउनुभयो। उहाँहरू हाम्रै घरमा बस्नुभयो निःशुल्क।
सुरुमा निम्न माध्यमिक तहको स्कुल थियो। पछि माध्यमिक तहसम्मको भयो। मेरो ठूली दिदी पढ्दासम्म त्यहाँ स्कुल थिएन। ठूली दिदी टाँडीको स्कुलमा पढ्नुहुन्थ्यो। मसहित चारजना दिदीबहिनीले त्यही स्कुलबाट एसएलसी पास गरेका हौँ।
अहिले त्यहाँ प्रायः नयाँ पुस्ता आउनुभयो। हामीलाई चिन्नेहरूले दिएको सम्मान, आदर देख्दा त्यो ठाउँ नछोड्नुपर्ने रहेछ भन्ने लाग्छ। घर अहिले पनि छ।
हामी प्रत्येक वर्ष बच्चाहरू लिएर जान्छौँ। बच्चालाई देखाउँछौँ। संसारको जुनसुकै ठाउँमा बस्ने अवसर आए पनि मेरा लागि उचित ठाउँ नै चितवनको त्यो घर हो जहाँ म आफ्नोपनको आभास पाउँछु।
(कुराकानीमा आधारित)