ईस्टूले शिक्षामन्त्री श्रेष्ठलाई भन्यो : शिक्षक-कर्मचारी पेसागत समस्यामा छन्

हिमाल प्रेस ५ चैत २०८० १०:५०
1.4k
SHARES
ईस्टूले शिक्षामन्त्री श्रेष्ठलाई भन्यो : शिक्षक-कर्मचारी पेसागत समस्यामा छन्

काठमाडौँ- संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) ले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई निजी विद्यालय,त्यसमा कार्यरत शिक्षक तथा कर्मचारीका पेसा समस्या समाधानबारे सुझाव दिएको छ। ईस्टूले शुक्रबार शिक्षामन्त्रीको जिम्मेवारीमा आएकोमा श्रेष्ठलाई बधाई पनि दिएको छ।

ईस्टूको बधाई, शुभकामना तथा सुझाव पत्रमा भनिएको छ,‘संस्थागत (निजी) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी लामो अवधिदेखि पेसागत समस्यामा छन्। कुनै मापदण्डबिना नै शिक्षक तथा कर्मचारी नियुक्ति र बर्खास्त गर्नु,नियुक्तिपत्र नदिइनु,शिक्षा ऐन नियमावलीले तोकेभन्दा कम पारिश्रमिक दिइनु तथा त्यसलाई पनि समयमा नदिइनु, बढी कार्यभार दिइनु, कुनै खालका बिदाहरू (किरिया,सुत्केरीलगायत) को व्यवस्था नहुनु,जुन शीर्षकमा शुल्क लिइएको हो। सोअनुसारको विद्यार्थीले सुविधा नपाउनु जस्ता समस्या नब्बे प्रतिशत (९०%) निजी लगानीका विद्यालयमा पाइने साझा समस्याहरू हुन्।’

त्यसैगरी ईस्टूले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सञ्चयकोष,उपदान आदिको व्यवस्था नभएको भन्दै सामाजिक सुरक्षा कोषको व्यवस्था लागू भएपछि लगत्तै आफूहरूलाई त्यसको प्रावधान अनुसार दर्ता गर्न आग्रह गरिएको तर लामोसमयदेखि बेवास्ता हुँदै आएको बताए।

ईस्टूका अध्यक्ष होमकुमार थापा र कार्यवाहक महासचिव भूपाल उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘कार्यरत शिक्षक कर्मचारीको कुनै सरकारी निकायमा अभिलेख छैन। विद्यालयमा शिक्षा ऐन नियमावली अनुसारको व्यवस्थापन समिति छैनन्। शिक्षा ऐन र नियमावलीसँग नबाझिने गरी विद्यालय विनियमावली बनाउनुपर्नेमा बनाइएको छैन। अनुगमन र नियमन गरिँदैन। शिक्षकलाई तालिमलगायत वृत्ति विकासका अवसर प्रदान गरिएको छैन।’

प्रकाशित: ५ चैत २०८० १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =