१७ पत्रकारका नजरमा २३ अग्रज

माधवप्रसाद नेपाल ३ चैत २०८० १८:४७
502
SHARES
१७ पत्रकारका नजरमा २३ अग्रज

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले २३ जना पत्रकारको चिनारीसहितको ‘अग्र अनुहार, कथा अग्रजको गाथा महासंघको’ शीर्षकको ग्रन्थ प्रकाशित गरेको छ। ग्रन्थको नामले नै स्पष्ट हुन्छ, यो नेपाल पत्रकार महासंघको इतिहास हो।

जीवनीमूलक यो ग्रन्थमा नेपाल पत्रकार महासंघको संस्थापक कृष्णप्रसाद भट्टराईदेखि वर्तमान अध्यक्ष विपुल पोखरेलसम्मका योगदानको चर्चा गरिएको छ। १७ जना समकालीन पत्रकारहरूले तयार पारेका सामग्रीलाई बालकृष्ण अधिकारीले सम्पादन गरी ग्रन्थको रूप दिएका हुन्। सम्पादकीयसहित आधा दर्जनभन्दा जीवनी पनि अधिकारीले नै तयार पारेका हुन्।

ग्रन्थले महासंघको पञ्चायतपूर्वका दुई, पञ्चायतकालका १०, बहुदलकालका ६ र संघीय गणतन्त्र स्थापना भएपछि पाँच अध्यक्षहरू पत्रकारको पेसागत अधिकार, व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा कसले कति योगदान दिएका छन् भन्ने विषयलाई पाठकमाझ ल्याएको छ।

महासंघ स्थापना (२०१२ साल) यता पञ्चायतपूर्व, पञ्चायत, बहुदल, गणतन्त्र गरी चारवटा राजनीतिक व्यवस्था नेपाली समाजले भोगिसकेको छ। चारैवटा राजनीतिक व्यवस्था र सामाजिक परिवेशमा पत्रकारको भूमिका केकस्ता थिए भन्ने जानकारी ती सामग्रीको अध्ययनबाट प्राप्त हुन्छ।

नेपाल पत्रकार महासंघ सुरुमा पत्रकार संघका रूपमा क्रियाशील थियो। २०५३ पछि संघको संरचना महासंघमा रुपान्तरण भएको हो। यसैगरी सुरुदेखि २०६२ सालसम्म महासंघको नेतृत्व गर्ने व्यक्तिलाई सभापति भनिन्थ्यो भने २०६५ पछि अध्यक्ष भन्न थालिएको हो।

प्रथम सभापति कृष्णप्रसाद भट्टराईले रुस भ्रमणमा गएका बेला त्यहाँका तत्कालीन प्रधानमन्त्री खुस्च्रेबसँग लिएको अन्तर्वार्ताको प्रसंगदेखि अहिलेका अध्यक्ष विपुल पोखरेलले पत्रकारको पेसागत मुद्दालाई संवाद, दबाब र अदालत गरी तीनै तहबाट टुंग्याउन गरिएको पहल ग्रन्थमा समेटिएका छन्।

सरकारी विज्ञापनलाई निजी क्षेत्रको पहुँचमा ल्याउने, पत्रकार आचारसंहिता निर्माण, मिडिया कोष स्थापना, त्रिविमा पत्रकारिता विषय अध्ययनअध्यापनका लागि पहल, व्यवासायिक पत्रकारिताको अभ्यास, २०४६ साल र २०६२÷६३ सालको आन्दोलनमा पेसाकर्मीका तर्फबाट नेतृत्व, सञ्चारग्राम निर्माण, लोककल्याणकारी विज्ञापनको प्रारम्भ, सूचनाको हकसम्बन्धी कानुनको मस्यौदा तयार, पूर्वसभापतिहरूको किटानजस्ता विषमा महासंघका अगुवाले खेलेको भूमिका प्रशंसायोग्य छन्।

साथै शाही शासनको विरोधमा पहिलो वक्तव्य निकालेर होस् या देशलाई गणतन्त्रमा लैजाने प्रस्ताव पारित गरेर होस् महासंघले लोकतान्त्रिक व्यवस्थाका पक्षमा खबरदारी गर्दै आएको विषयलाई ग्रन्थमा लिपिबद्ध गरिएको छ।

जंगलमा रहेको पत्रकारको एउटा समूहलाई मूल प्रवाहमा ल्याउन, संविधानको प्रस्तावनमा पूर्ण प्रेस स्वतन्त्रता लेखाउन, श्रमजीवी पत्रकारसम्बन्धी ऐन-नियमावली निर्माण र कार्यान्वयन गर्न तथा विज्ञापनमा एकद्वार प्रणाली कायम गराउन महासंघ नेतृत्वले खेलेको भूमिका प्रशंसनीय छ। साथै महासंघले समावेशी संरचनामा लगेर आफूलाई एउटा जिम्मेवार पेसागत छाता संगठनका रूपमा स्थापित गरेको छ। महासंघले प्रत्यक्ष निर्वाचनबाट केन्द्र, प्रदेश र जिल्ला गरी तीनै तहको नेतृत्व चयन गरेको विषय ग्रन्थमा छ।

सुरुसुरुमा पत्रकारिता गर्न सजिलो नरहेको, लेखेकै आधारमा राज्यबाट प्रकाशन बन्द गर्नुपरेको, कतिपय अवस्थामा जेल जानुपर्ने अवस्थाबाट गुज्रिँदै नेपाली पत्रकारिता अगाडि बढेको पाइन्छ। पहिला सभापति भट्टराई राजनीतिक व्यक्तित्व भएकाले पनि जेल पर्नु स्वाभाविक थियो। उनीपछिका सभापतिहरू दाताराम शर्मा, फत्तेबहादुर सिंह, गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय, होमनाथ दाहाल, शुरेश आचार्यलगायतले चाहिँ लेखेकै कारण जेल जीवन बिताउनुपरेको थियो।

कसले के लेखेका छन्?

ग्रन्थको पहिलो सामग्री महासंघका प्रथम सभापति कृष्णप्रसाद भट्टराईका विषयमा छ। यसलाई ‘पत्रकारदेखि प्रधानमन्त्रीसम्म’ शीर्षकमा बालकृष्ण अधिकारीले लेखेका छन्। यसमा उनले भट्टराईको प्रजातन्त्रप्रति समर्पण, देशकै पहिलो सभामुख, पार्टी नेतृत्वको अभिभारा, संवैधानिक राजतन्त्रका पक्षपाती, पत्रकारितामा कृष्णप्रसाद आदि विषय समावेश गरेका छन्।

दोस्रो सामग्री ‘तीन युगका साक्षी दाताराम शर्मा’ सँग सम्बन्धित छ। यम विरहीले पत्रकार संघको नेतृत्व र एकता, सीधा व्यक्ति, विषयवस्तुप्रतिको गहिरो सुझबुझ, पञ्चायतविरोधी तर राजावादी, महाकवि देवकोटालाई तलब दिलाउने अन्तर्वार्ताजस्ता विषय समेटेर शर्माका बारेमा खोजमूलक सामग्री प्रस्तुत गरेका छन्।

यसैगरी फत्तेबहादुर सिंहलाई बालकृष्ण अधिकारीले ‘पत्रकारिताका उज्याला व्यक्तित्व’ भनेका छन्। महावीर इन्स्टिच्युटको संस्थापक सिंहले नेपालभाषा पत्रिकामार्फत जागरण ल्याएको र दुई समूहमा विभाजित संघलाई एउटै बनाउन उनले खेलेको भूमिकाको चर्चा यसमा छ।

चेतन पाण्डे र पोषनाथ अधिकारीले ‘पत्रकारितादेखि प्रशासकसम्म’ शीर्षकमा पशुपतिदेव पाण्डेका बारेमा लेखेका छन्। राजा र बीपी दुवैका प्रिय पाण्डेलाई राजा महेन्द्रले नै पत्रकारितामा लाग्न दिएको सुझाव दिएका रहेछन्। साथै पाण्डेको घर मर्मतमा राजाले पैसा दिएको विषय उल्लेखनीय छ।

मनिन्द्रराज श्रेष्ठलाई बालकृष्ण अधिकारीले ‘उद्देश्यमूलक पत्रकारिताका हिमायती’को संज्ञा दिएका छन्। अधिकारीका अनुसार ‘द मदरल्यान्ड’ पत्रिकामार्फत मुलुकको आर्थिक, राजनीतिक साथै सामाजिक परिवर्तनमा महत्त्वपूर्ण योगदान दिएका श्रेष्ठ पत्रकारिताको गुणात्मक वृद्धि हुनुपर्नेमा जोड दिन्थे।

भाषा शर्माले गोपालदास श्रेष्ठलाई ‘अंग्रेजी पत्रकारिताका आरम्भकर्ता’ भनेकी छन्। शर्माले लेखेकी छन्, ‘देशमा प्रजातन्त्र ल्याउन राणाशाहीविरुद्ध पार्टी खोलेर लागेका श्रेष्ठले पत्रकारितमार्फत राजनीतिक चेतनाको दियो निरन्तर बाल्दै नेपालका अंग्रेजी पत्रकारिता सुरुआत गरे।’

दुई कार्यकाल महासंघको सभापति भएका श्रेष्ठ भाषामा निपुण, निष्कलंक र इमानदार लेखक तथा पत्रकारका रूपमा सुपरिचित थिए।

महासंघका अर्का सभापति गोकर्णदेव पाण्डे ‘पञ्चायतका पक्षपाती’ थिए। पञ्चायतका समर्थक भएर पनि त्यतिबेला निडर रूपमा कलम लचाएबापत उनी शासकको आँखी हुनुपरेको थियो। बालकृष्ण अधिकारीले लेखेका छन्, ‘दरबारसँग निकट भए पनि गोकर्णदेव पञ्चायत शासन व्यवस्थाका गलत कामका आलोचक थिए।’ साथै पाण्डेले पञ्चायतकालमा चर्चित नमिता-सुनिता काण्ड बाहिर ल्याउन पत्रकारितामार्फत योगदान दिएका थिए।

इन्दुकान्त शर्माले नेपालमा साहित्यिक पत्रकारितालाई गति दिन विशेष योगदान दिएका थिए भने त्रिविमा पत्रकारिता अध्ययनको पहल पनि उनकै पालामा भएको थियो। ‘नेपाल पत्रकार संघका सभापतिलाई प्रेस काउन्सिलमा बोलाउने प्रचलन पनि शर्माको समयमा सुरु भएको हो’, साहित्यिक पत्रकारिताका प्रवर्तक शीषर्ककमा बालकृष्ण अधिकारीले लेखेका छन्।

मञ्जुरत्न शाक्यबारे ‘६ दशकदेखिको उद्बोधन यात्रामा’ पनि बालकृष्ण अधिकारीले नै तयार पारेको सामग्री हो। २०३५ सालमा पत्रकार संघको सभापति भएका शाक्य अझै पनि सोही संघको अध्यक्ष छन्। त्यति बेलाको संघ महासंघ भइसक्दा पनि संघमै रहेका शाक्यले भनेका छन्, ‘१८ वर्षदेखि निरन्तर पत्रिका प्रकाशन गर्दै आए पनि सरकारले सम्मान गर्नुको साटो अपमान गरेको छ।’

अर्का सभापति निर्मलकुमार अर्याललाई बालकृष्ण अधिकारीले ‘संघर्षशील प्राज्ञिक पत्रकार’ का रूपमा चिनाएका छन्। २०३९-०४३ सम्म संघको नेतृत्वमा रहेका अर्याल कानुनका प्राध्यापक थिए भने पत्रकारितामार्फत पञ्चायतको विरोध गर्दथे।

मणिराज उपाध्यायलाई नेपाली पत्रकारिता क्षेत्रमा स्टप दी प्रेसदेखि विशेषांक प्रकाशनजस्ता व्यावसायिक पत्रकारिता अभ्यासका थालनीकर्ताका रूपमा चिनिन्छ। ‘स्वनामधन्य व्यक्तित्व’ शीर्षकका शेखर अधिकारी लेख्छन्, ‘कठिन अवस्थामा जनताको आवाज बुलन्द गर्ने सञ्चार क्षेत्र नै हो भन्ने कुरा नेपाली समाजमा उपाध्यायले स्थापित गरेका थिए। जबाफदेही पत्रकारिता नै उनको अभीष्ट थियो। नेपाली पत्रकारितालाई यो अवस्थामा ल्याउन उनको व्यवावसायिक निरन्तरता र योगदान अतुलनीय छ।’

‘अविचलित साधक’ गोविन्द वियोगीको जीवनी र पत्रकारिताबारे विष्णु नेपालले सामग्री तयार पारेका छन्। पाँच दशकसम्म पत्रकारितामा आबद्ध रहेका वियोगीले २०४६ सालको जनआन्दोलनमा पत्रकारको वैधानिक मोर्चाको नेतृत्व सम्हालेका थिए।

वियोगीलाई कुशल संगठकका रूपमा चिनाउँदै नेपालले लेखेका छन्, ‘वियोगीको अझ ठूलो गुन तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ मा प्रेसलाई संवैधानिक प्रत्याभूति दिलाउनु थियो।’

होमनाथ दाहाललाई रुक्मिणी पोखरेलले ‘प्रजातन्त्रको पैरवीकर्ता’ का रूपमा चिनाएकी छन्। यसमा उनको पत्रकारिताका साथसाथै राजनीतिक संलग्नताबारे बढी विवरण दिइएको छ।

हरिहर विरहीलाई शिवहरि घिमिरेले ‘विद्रोहका पर्याय’ का रूपमा चिनाएका छन्। विरही सभापति भएकै बेलामा नेपाल पत्रकार संघ महासंघमा रूपान्तरण भएको थियो। घिमिरे लेख्छन्, ‘राजनीतिक दलहरू प्रतिबन्धित रहेको पञ्चायती व्यवस्थाविरुद्ध पत्रकारितामा लाग्दा जस्तोसुकै सास्ती वा हैरानी भोग्नुपरे पनि विरहीले इमान र स्वाभिमान कहिल्यै त्यागेनन्।’

अर्का सभापति किशोर नेपालका बारेमा केशव बोहोराले ‘जुझारु कलमजीवी’ शीर्षकमा लेखेका छन्। बोहोराका अनुसार महासंघको अध्यक्ष रहेका बेला नेपाल पत्रकारिताका स्तरोन्नति, क्षमता अभिवृद्धि र प्रेस स्वतन्त्रताको आन्दोलनमा जोडिएका थिए।

अर्का सभापति हुन् सुरेश आचार्य। उनी अध्यक्ष भएका बेला पुशपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा महासंघको नाममा ल्याउने काम भएको थियो। सञ्चारग्राम निर्माणमा आचार्यको सक्रियता थियो। लोककल्याणकारी विज्ञापन प्रारम्भ गर्न र सूचनाको हकसम्बन्धी कानुनको मस्यौदा तयारी पनि आचार्यकै कार्यकालमा भएको थियो। ‘दृढ निश्चयी नेतृत्व’ शीर्षकमा सुभाषप्रसाद साहले लेखेका छन्, ‘पहिले कागजमा अनुदान दिने सरकारी व्यवस्थालाई हटाएर लोककल्याणकारी विज्ञापनको कार्यान्वयन आचार्यको नेतृत्वमा भएको हो।’

अर्का सभापति तारानाथ दाहाललाई शिवराज रेग्मीले ‘पेसागत मर्यादाका पक्षपाती’ का रूपमा चिनाएका छन्। महासंघमा प्रेस स्वतन्त्रताको डेस्क स्थापना, महासंघको रजत महोत्सव, पूर्वसभापतिहरूको किटान दाहाल सभापति हुँदा भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रको कुविरुद्ध पहिलो वक्तव्य दाहाल नै जारी गरेका थिए। यसैगरी महासंघलाई अन्तर्राष्ट्रियकरण गरी सम्बन्ध विस्तार गर्ने काम पनि उनकै पालामा भएको थियो। रेग्मीले लेखेका छन्, ‘दाहालको नेतृत्वमा महासंघल राजाको असंवैधानिक कदमविरुद्ध आन्दोलनका लागि आह्वान गर्दै अभियान नै चलाएको थियो।’

विष्णु निष्ठुरी ‘स्वतन्त्रताका पक्षधर’ सभापति हुन्। उनको पालामा राजाको प्रतिगमनकारी कदमविरुद्ध पत्रकार महासंघ आन्दोलनमा उत्रिएको थियो। निष्ठुरीको योगदानबारे बालकृष्ण अधिकारीले लेखेका छन्, ‘राजतन्त्रले नागरिक अधिकारमाथि ज्यादती गर्दै आएको थियो। राजनीतिक दलका नेताहरूसँग पनि छलफल गरेको महासंघको नेतृत्वले देशलाई गणतन्त्रमा लैजानुपर्ने प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्ताव निष्ठुरीले नै राखेका थिए।’

महासंघका अध्यक्ष धर्मेन्द्र झालाई अशोक घिमिरेले ‘शान्ति प्रक्रियाका साक्षी’ का रूपमा प्रस्तुत गरेका छन्। मुलुक भर्खरै शान्ति प्रक्रियामा प्रवेश गरेका बेला झा महासंघको अध्यक्ष भएका थिए। साथै नयाँ संविधान निर्माण प्रारम्भ भएको थियो उनको कार्यकालमा पत्रकार आवास गृहको अवधारणा, सूचनाको हकसम्बन्धी नियमावली, पत्रकार कल्याण तथा राहत कार्यक्रम, पत्रकार बिमाजस्ता कार्यक्रम सुरु भएको थियो।

झाले भनेका छन्, ‘त्यसबेला संविधान लेखन प्रमुख मुद्दा थियो। हामीले संविधान लेखनको मुद्दालाई देशव्यापी बनायौँ। प्रेस स्वतन्त्रताका कुरा उठायौँ। त्यसका पक्षमा लबिइङ गर्‍यौँ र संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराउन सक्यौँ।’

अनिताकुमारी घिमिरेले शिव गाउँलेको योगदानलाई ‘शब्दका ज्यामी’ शीर्षकमा रूपमा चिनाएकी छन्। गाउँले महासंघको आधुनिक संरचनाका परिकल्पनाकार हुन् भने पत्रकारिता जोगाउनका लागि व्यावसायिक निष्ठा कायम हुनुपर्छ भन्ने उनको अडान छ। घिमिरे लेख्छिन्, ‘पत्रकार महासंघलाई जस्ताको टहराबाट वर्तमान आधुनिक भवनमा सार्ने श्रेय शिव गाउँले नेतृत्वको तत्कालीन कार्य समितिलाई जान्छ। नेपाल पत्रकार महासंघका वर्तमान केन्द्रीय कार्यालय भवनको परिकल्पनाकार उनैले गरेका हुन्।’

अर्का अध्यक्ष डा. महेन्द्र विष्टको योगदानलाई नरेन्द्र मानन्धरले ‘व्यावसायिकताका पक्षधर’ शीर्षकमा बयान गरेका छन्। भूकम्पका बेला पत्रकारलाई राहत र सान्त्वना दिन विष्ट नेतृत्वले ठूलो सहयोग गरेको थियो। ‘विष्टकै नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी भूकम्पमा परेका पत्रकारको उद्धार, राहत र पुनः स्थापना र जीवन गुमाउने पत्रकारका परिवारलाई सान्त्वना र सहयोगमा जुट्यो।’

वीरेन्द्र ओलीले पत्रकार महासंघका अर्का अध्यक्ष गोविन्द आचार्यलाई ‘संघीयताका सारथि’ का रूपमा चिनाएका छन्। ‘आचार्य महासंघको अध्यक्ष हुँदा पहिलोपटक महासंघ संघीय ढाँचामा जाने निर्णय कार्यान्वयन हुन सक्यो। सबै प्रदेशमा महासंघको संरचना बन्न सक्यो।

यसैगरी महासंघको केन्द्र, प्रदेश र शाखाको चुनाव प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने निर्णय गराउन आचार्य सफल भए’, ओलीले लेखेका छन्।

पत्रकार देवेन्द्र बस्नेतका अनुसार वर्तमान अध्यक्ष बिपुल पोखरेल श्रमजीवीका मुद्दालाई संवाद, दबाब र अदालत गरी तीनै मोर्चाबाट टुंगोमा पुर्‍याउन सक्रिय छन्। तीनैवटा सरकारले प्रेस स्वतन्त्रता हनन हुने खालका विधेयक बनाउन खोज्दा पोखरेलले लिएको अडान र दबाबपछि राज्य पछि हटेको थियो। बस्नेतले पोखरेललाई ‘मोफसलका अगुवा’ का रूपमा चिनाउँदै लेखेका छन्, ‘पोखरेल आफ्नै नेतृत्वमा महासंघलाई संविधान रक्षाका पक्षमा उभ्याउन सफल भए। संविधानमाथि आक्रमण हुँदा, नागरिक अधिकार कुण्ठित पार्ने प्रयास हुँदा राजनीतिक दलहरूको अस्वस्थ प्रतिस्पर्धामा संविधानमाथि प्रहार गर्न खोजिँदा महासंघ प्रस्ट दृष्टिकोणका साथ प्रतिरक्षामा उभियो।’

२३ जनाबारे लेखिएका अधिकांश सामग्री सम्बन्धित व्यक्तिहरूका बारेमा गरिएको सूचना संकलनको अभिलेखीकरणजस्तै लाग्छ। कतिपयको जीवनी लेखनका लागि द्वितीयक सामग्रीको मात्रै सहयोग लिइएको छ। कुराकानी गरेर तयार पारिएका सामग्रीको गहिराइमा पुग्न नसक्दा खोजमूलक बन्न सकेका छैनन्। सबैको लेखाइमा एकरूपता पाइँदैन।

…उनी उपसभापतिको जिम्मेवारीमा रहेको बताइन्छ। (पृष्ठ४५), …आलोचकहरू बताउँछन्। (पृष्ठ ७२) जस्ता क्रियापद प्रयोग गरेर लेखकहरू उम्कन खोजेका छन्। केही तथ्यहरू रुजु गरिएको छैन। उदाहरणका लागि करिब आठ दशक लामो औपनिवेशिक शासनका कारण भारतीय जनता पनि आजित थिए। (पृष्ठ २२), २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि कृष्णप्रसाद भट्टराई कार्यवाहक प्रधानमन्त्री भए। (पृष्ठ १०२), …देशान्तर र नयाँ सडक साप्ताहिकसम्मका सम्पादकका रूपमा उनी सक्रिय रहे। (पृष्ठ ११८)

यस्ता केही त्रुटि भेटिए पनि आफ्ना अग्रजको जीवनीलाई ग्रन्थका रूपमा प्रकाशनमा ल्याउनु प्रतिष्ठान प्रदेश समितिको एउटा स्तुत्य प्रयास हो। अनि महासंघको संघीय नेतृत्वलाई चुनौती पनि हो। महासंघ केन्द्रबाट हुनुपर्ने काम प्रतिष्ठानबाट सम्भव भएको छ। पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिले छाता संस्थाको अगुवाइ गरेका अग्रजहरूको जीवनगाथा एउटै ग्रन्थमार्फत प्रकाशन गरेर उनीहरूका बारेमा थप अध्ययन गर्न बाटो खुलाइदिएको छ। साथै शिक्षक, वकिल, डाक्टर, इन्जिनियरजस्ता अन्य पेसाकर्मीलाई पनि आफ्ना अगुवाहरूबारे पछिल्लो पुस्तामा चिनारी दिलाउनुपर्ने सन्देश दिएको छ।

पत्रकार महासंघले आफ्नो संस्थापकहरूको किटानी गरेको आधारमा यो ग्रन्थ तयार भएको देखिन्छ। जुन कुरा सम्पादकले भूमिकामा पनि संकेत गरेका छन्। प्रस्तुत ग्रन्थ प्रकाशन भएपछि संस्थापक अध्यक्षका विषयलाई लिएर फेरि विवाद चुलिएको छ। पत्रकार वृत्तमा मात्रै रहेको संस्थापक विवाद ग्रन्थ प्रकाशनपछि अब आमपाठकसमक्ष आइपुगेको छ। त्यसबाट अध्ययनकर्ताका लागि एउटा प्राज्ञिक प्रश्न खडा हुन पुगेको छ। अब त्यो विवादको निरुपण प्राज्ञिक तहबाट हुने अपेक्षा गर्न सकिन्छ। साथै त्यसमा पत्रकार महासंघले पनि नेतृत्वदायी भूमिका खेल्नुपर्नेछ।

प्रकाशित: ३ चैत २०८० १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =