कारबाहीको तयारीपछि महेन्द्र र गंगाले पार्टी छाडे, आन्तरिक छलफलमा बाबुराम

हिमाल प्रेस ३ चैत २०८० १४:४८
382
SHARES
कारबाहीको तयारीपछि महेन्द्र र गंगाले पार्टी छाडे, आन्तरिक छलफलमा बाबुराम

काठमाडौँ– नेपाल समाजवादीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव पार्टीबाट अलग भएपछि अर्का अध्यक्ष डा. बाबुराम भट्टराई आन्तरिक छलफलमा जुटेका छन्। कार्यकारिणी समिति बैठक र केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा तीन नेताले माओवादीसँग एकीकरण भएको भन्दै पार्टी त्यागेपछि अध्यक्ष भट्टराईसहितका नेताहरू छलफलमा जुटेका हुन्।

तीन नेताले शनिबार बिहान नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने सहमति गरेका छन्। सहमतिमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीका तर्फबाट महासचिव यादवले हस्ताक्षर गरेका छन्। डा. भट्टराई पक्षीय नेताहरू भने पार्टी एकीकरण नभई तीन नेता पार्टीबाट अलग भएको बताउँछन्। पार्टीबाट अलग भएर पनि एकीकरण गरेको भ्रम फिँजाएकाले उनीहरूमाथि कारबाही गर्ने नेताहरूको तयारी छ।

अध्यक्ष डा. भट्टराईसहितका नेताहरू थापाथलीस्थित एक घरमा आन्तरिक छलफलमा रहेको एक नेताले जानकारी दिए। छलफलमा तीनै नेतामाथि कारबाही गर्ने विषयमा नेताहरूले धारणा राखेका छन्। डा. भट्टराई पक्षीय एक नेताले भने,‘अध्यक्ष डा. भट्टराई पार्टी नेताहरूबीच छलफलमा हुनुहुन्छ। के कसरी अगाडि बढ्ने कुरा भइरहेको छ।’

समाजवादीले आइतबार कार्यकारिणी समिति र सोमबार केन्द्रीय समितिको बैठक डाकेको छ। ती नेता भन्छन्,‘कार्यकारिणीले उहाँहरूलाई कारबाही प्रक्रिया अगाडि बढाउँछ। केन्द्रीय समितिले अनुमोदन गर्छ।’ श्रेष्ठ र महिन्द्र राय माओवादी केन्द्रको परिचयपत्र बोकेर नेसपाको अध्यक्ष र सहअध्यक्ष बनेका थिए। यसअघि नेसपाले उनीहरूलाई कारबाही गरेको थिएन। ती नेताले भने, ‘कारबाही गर्ने भएपछि उहाँहरूले पार्टी छोड्नुभएको हो।’ तीन नेतालाई पार्टीले कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाउने तयारीमा रहेका बेला बाहिरिएको ती नेताको भनाइ छ।

कार्यकारिणी समिति बैठकको एजेन्डा महाधिवेशन आयोजक कमिटी निर्माण रहेको छ। कमिटी बन्नुअगावै पद जोगाउन महिन्द्र र गंगाले पार्टी छोडेको ती नेताले बताए। माओवादी र समाजवादीबीच भएको सहमति पार्टी एकताको सहमति नभएर तीन नेता अर्को पार्टी प्रवेशको सहमति भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =