शिक्षा विधेयकमा शिक्षक-कर्मचारीका माग समेट्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

हिमाल प्रेस ३ चैत २०८० ९:१७
1.7k
SHARES
शिक्षा विधेयकमा शिक्षक-कर्मचारीका माग समेट्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग शुक्रबार मन्त्रालयमा भेट गर्दै नेपाल शिक्षक महासंघको टोली। तस्बिर सौजन्य : लक्ष्मीकिशोर सुवेदी

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षक र कर्मचारीका मुद्दामा आफ्नो साथ रहेको बताएकी छन्। मन्त्रालयमा शुक्रबार बधाई दिन पुगेको नेपाल शिक्षक महासंघसँगका पदाधिकारीहरूसँग उनले शिक्षक र कर्मचारीका माग सम्बोधन गरी शिक्षा क्षेत्रमा रहेका विकृति अन्त्य गर्ने प्रतिबद्धता जनाएकी हुन्।

उनले भनेकी छन्, ‘म भर्खरै आएकी छु। सबै कुरा अध्ययन गर्दैछु। तपाईँहरूले उठाउँदै आउनुभएका माग र मुद्दामा मेरो समर्थन छ। सँगै मिलेर समाधान गर्नुपर्छ।’

महासंघको टोलीले मन्त्री श्रेष्ठलाई सरकारसँग २०७५, २०७८ र २०८० सालमा भएका महत्त्वपूर्ण सहमतिबारे स्मरण गराएको थियो। ‘सहमतिका बुँदा विद्यालय शिक्षा ऐनमार्फत अक्षरशः सम्बोधन गरिनुपर्छ भन्ने आमनेपाली शिक्षक–कर्मचारीको अडान छ’, महासंघले मन्त्री श्रेष्ठलाई बुझाएको जानकारीपत्रमा उल्लेख छ।

ती सहमतिको कार्यान्वयनबाट स्थायी, अस्थायी/करार, राहत, साविक उच्चमावि, प्रारम्भिक बालकक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र संस्थागत विद्यालयका शिक्षकलगायत सबै खालका शिक्षक तथा विद्यालय कर्मचारीका समस्याको सम्बोधन हुने महासंघले अडान राख्दै आएको छ। महासंघले ती सबै सहमति कार्यान्वयन गर्न मन्त्री श्रेष्ठलाई आग्रह गरेको छ।

साथै महासंघले विद्यालय शिक्षा ऐन २०८० जारी गर्ने पक्षमा सक्रिय भूमिकाका लागि पनि माग गरेको छ।

महासंघको प्रतिनिधिमण्डलमा सहभागी नेपाल शिक्षक संघका संघीय कार्यसमितिका अध्यक्ष सोमनाथ गिरीले भने, ‘मन्त्रीज्यूलाई हामीले बधाई र शुभकामना दियौँ। यसअघि भएका सहमतिका बारेमा स्मरण गराउँदै तिनलाई शिक्षा ऐनमा समेट्न आग्रह गरेका छौँ। उहाँले सहकार्य गर्ने हो, शिक्षा क्षेत्रका विकृति विसंगतिको अध्ययन गर्ने हो भन्ने प्रतिबद्धता जनाउनुभएको छ।’

प्रकाशित: ३ चैत २०८० ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =