काठमाडौँ महानगरले सुरु गर्‍यो प्राचीन नाम पुनरुत्थान

हिमाल प्रेस २ चैत २०८० १३:३४
14
SHARES
काठमाडौँ महानगरले सुरु गर्‍यो प्राचीन नाम पुनरुत्थान

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको कामपाले जनाएको छ।

उक्त कार्यको सुरुआत पाँचवटा वडाबाट भएको कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले जानकारी दिए। उनका अनुसार वडा नं ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नं.६ बौद्ध (प्राचीन नाम खस्योरः/खास्ती), वडा नं ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नं १८ नरदेवी (प्राचीन नाम ङेतः) र वडा नं २४ मखन (प्राचीन नाम मखं) को नाम खोजी भइसकेको छ।

संयोजक संगतले भने,‘सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिँदै गयो। काठमाडौँको पहिचान जोगाउन यो कार्यक्रम अगाडि बढाइएको हो।’

विभागले एकीकृत सहरी विकास केन्द्र (सिआइयुडी)सँगको सहकार्यमा विभिन्न स्थानको प्राचीन नाम अध्ययन गरेको हो। अध्ययनका क्रममा सङ्कलन भएको प्रारम्भिक सूचनालाई लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चारकिल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, स्थानीय, जनप्रतिनिधिसँग समेत सोधिएको संगतले जानकारी दिए। विभिन्न कारणले अर्कै स्वरुपमा पुगेका नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरी लिपि र अंग्रेजी भाषामा नामपाटी राखिनेछ।

प्रकाशित: २ चैत २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =