
काठमाडौँ- कलाको विकास र विस्तारका लागि चैत २ गतेदेखि ‘कलाशाला’ नामक अन्तराष्ट्रिय कला कार्यशाला हुने भएको छ। इन आर्ट बल्डकाे आयोजनामा हुन लागेकाे कार्यशाला चैत ५ गतेसम्म चल्नेछ।
एयरपाेर्टस्थित होटल एयरपोर्टमा बुधबार पत्रकार सम्मेलन गर्दै संयाेजक तथा आकार आर्ट सेन्टरकी संस्थापक अनिता भट्टराईले कार्यक्रमबारे जानकारी दिएकी हुन्। कलाको विश्वव्यापीकरण गराउने उद्देश्यले कलाशालाको आयोजना गरेको उनले बताइन्। ‘हामीले कला, कलाकार, कला लेखक, कलाको बजार र समाजलाई एकैसाथ लैजाने हेतुले कार्यशाला एवं प्रदर्शनी गर्न लागेका हौँ।’ उनले भनिन्।
उनका अनुसार कार्यक्रममा नेपालसहित भारत, युएई, बंगलादेश, इरान र ताइवान गरी पाँच देशका १ सय २० कलाकार सहभागी हुनेछन्। कार्यक्रमको उद्घाटन नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत मेरोनिक लोरेन्जोले गर्नेछन्। कार्यक्रम होटेल एयरपोर्टमा दिउँसो १ बजे सुरु हुनेछ।
दोस्रो दिन अर्थात् चैत ३ गते बिहान ८ बजे कलाकारहरुसँग पाटन दरवार क्षेत्र र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरी भ्रमण गर्ने कार्यक्रम छ। र बेलुका होटेल एयरपोर्टमा कला प्रदर्शनी गरिनेछ। प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रिन्ट मेकिङ, डिजिटल आर्टलगायतका विविध विधाहरु समावेश गरिनेछ। चैत ४ गते भने पशुपतिनाथ दर्शन र भ्रमणसँगै एयरपोर्ट होटेलमै कला प्रदर्शनी र कार्यक्रम समापन समारोह हुनेछ।
प्रर्दशनीमा विक्री भएका कलाबाट आएको ५० प्रतिशत रकम एचआईभी संक्रमित बालबालिकालाई सहयोग गर्ने योजना रहेको संस्थापक भट्टराईले बताइन्। ‘हामीले बिक्री भएको आर्टको ५० प्रतिशत एचआईभी संक्रमित बालवालिका अध्ययन गरिरहेको विद्यालय सफलता एचआईभी शिक्षा सदनलाई सहयोग स्वरुप प्रदान गर्ने योजना बनाएको छौँ।’ उनले भनिन्।
इन आर्ट बल्डकाे आयोजना गरेको कार्यक्रममा आकार आर्ट सेन्टर र नेपाल जमन चेम्बर अफ कर्मस एण्ड इन्ड्रष्ट्रिजको संयोजन छ।
कलाका विभिन्न विधालाई एकै थलोमा सजाउने हेतुले स्थापना भएको संस्था इन बल्ड आर्टले समय समयमा विश्वभरका कलाकारमाझ कार्यशाला, वेभ सेमिनार, कला संस्कृतिमाथि छलफल, विमर्श र चिन्तनलगायत रचनात्मक क्रियाकलाप गर्दै आइरहेको छ।