रेशमजीले प्रचण्डको गुन बिर्सनु हुँदैन : रञ्जिता श्रेष्ठ [अन्तर्वार्ता]

हिमाल प्रेस ३० फागुन २०८० १४:४६
176
SHARES
रेशमजीले प्रचण्डको गुन बिर्सनु हुँदैन : रञ्जिता श्रेष्ठ [अन्तर्वार्ता] नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी।

पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा नेतृत्व विवाद बढेको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच विवाद उत्कर्षमा पुगेको हो। उनीहरू पतिपत्नी हुन्। विवादका कारण नाउपाका सांसद दुई धारमा बाँडिएका छन्। रेशम र श्रेष्ठ एकअर्कालाई कारबाही गर्नेसम्मको अवस्थामा पुगेका छन्।  पार्टीभित्रको पछिल्लो विवादबारे नाउपाकी अध्यक्ष श्रेष्ठसँग रमेश भारतीले गरेको कुराकानी :

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवादको मुख्य कारण के हो?

बाहिर हल्ला भएजति पार्टीभित्र ठूलो विवाद छैन। पार्टीमा छलफल हुनु स्वाभाविक हो। नेताहरूबीच हुने राजनीतिक बहस हुनुलाई विवाद भन्न मिल्दैन। अहिले पार्टी कसरी अगाडि बढाउन भन्ने छलफल चलिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने विषयमा पार्टी दुई धारमा देखियो त?

पार्टीका संरक्षक रेशमलाल चौधरीले सरकारलाई दिने विश्वासको मतका सम्बन्धमा फरक धारणा राख्नुभएको हो। यसलाई पार्टीभित्र कलह बढेको भनिएको छ। मलाई त त्यस्तो लाग्दैन। दुवै पक्षबाट फरकफरक मत आएका छन्त। पार्टी अध्यक्षको निर्णय आधिकारिक हो। आमजनताले यस विषयमा बुझ्नुपर्छ। अहिले भएको मुख्य घटना यही हो। हामी देश र जनताका लागि काम गर्न आएको नयाँ पार्टी हौँ। त्यही भएर सरकारमै सहभागी भएर जनताका काम गर्न सकिन्छ भन्ने मेरो मान्यता हो।

संरक्षक चौधरीले सामाजिक सञ्जालमा तपाईँप्रति लक्षित गर्दै ‘रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो’ स्टाटस लेख्नुभएको छ त?

यस विषयमा मैले भन्नु केही छैन। अहिले उहाँका बारेमा समेत केही बोल्दिनँ। हाम्रो सम्बन्ध अहिले ठिक छ। उहाँले के कारणले त्यस्तो स्टाटस लेख्नुभएको हो त्यो त मलाई थाहा छैन। हामी पतिपत्नी भए पनि  पार्टीमा यसभन्दा माथि उभिएर काम गर्नुपर्छ।

चौधरीले तपाईँलाई मन्त्री बन्न र सरकारमा जान रोक्न खोजेको हो?

नागरिक उन्मुक्तिभित्र केन्द्रमा प्रचण्डको गठबन्धन सरकार र सोहीअनुरूप बन्ने प्रदेश सरकारमा पनि समर्थन गर्नुपर्ने पक्षमा अध्यक्षका नाताले म छु। संरक्षक चौधरी नवगठित सरकारलाई समर्थन नगर्ने पक्षमा उभिनुभएको छ। जसका कारण राजनीतिक विवादमा देखिएको हो। रेशमचाहिँ विपक्षमा बस्नुपर्छ भन्नेमा हुनुहुन्छ।

नयाँ पार्टी भएका कारण सरकारमा सहभागी भएर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो। सरकारमा सहभागी नभई जनताका काम गर्न सक्ने अवस्था छैन। संघीय र प्रदेश दुवै सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ। प्रतिनिधिसभामा नागरिक उन्मुक्तिका चारजना सांसद छन्। यसबारे छलफल हुन्छ। प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौँ।

सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिइसकेको छु। अब हाम्रो पार्टी सरकारमा सहभागी हुने हो। त्यहीअनुसार एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको छ। यसविरुद्ध उहाँ लाग्नुभएको देखियो। यो सामान्य विषय हो।

रेशमले तपाईँलाई कारबाही गर्ने संकेत गर्नुभएको हो?

रेशमजीलाई जेलबाट निकाल्न प्रधानमन्त्री प्रचण्डले ठूलो सहयोग गर्नुभएको छ। सोही कारण अहिले म प्रचण्ड सरकारलाई सहयोग र समर्थन गर्दैछु। रेशमजी विपक्षमा बस्नुपर्छ भन्नेमा देखिनुभएको छ। हामीले विगत बिर्सनु हुँदैन। प्रचण्ड सरकारलाई विश्वासको मत दिँदैमा मलाई कसले कारबाही गर्छ? मैले सरकारलाई विश्वासको मत दिँदैमा कारबाही गर्न पनि मिल्दैन। कारबाही गर्ने कारण के छ? त्यो पनि हेर्नुपर्छ। प्रचण्डले रेमशलालका लागि गरेको गुन सम्झिनलायक छन् नि।

पार्टीमा रञ्जिताको योगदान र भूमिका कति छ। यस विषयमा जनता र पार्टीभित्र मूल्यांकन हुन्छ। त्यसै कारबाही गर्छु भन्ने मिल्दैन।

प्रधानमन्त्री प्रचण्डलाई किन विश्वासका मत दिँदै हुनुहुन्छ। सरकारमा सहमागी हुन लाग्नुभएको हो?

प्रधानमन्त्रीलाई विश्वासको मत दिने हो। सहमतिअनुसार मात्र सरकारमा सहभागी हुने हो। म मन्त्री हुनका लागि मरिहत्ते गरेको होइन। पार्टीको विधान र छलफलकै आधारमा सरकारमा सहभागी हुन लागेका हौँ। यस विषयमा रेशमजी पनि जानकार हुनुहुन्छ। त्यसका आधारमा विश्वासका मत दिन सहमत भएका छौँ। मलाई अहिले मन्त्री हुन खाजेको आरोप छ त्यस्तो होइन।

पार्टीमा तपाईँहरूबीचको विवादले सम्बन्ध र अन्य विषयमा प्रश्न उठ्न थालेको छ। यस विषयमा के भन्नुहुन्छ?

अहिले संघीय र प्रदेश सरकारमा जाने-नजाने भन्ने विषयमा विवाद हो तर दुवै तहको सरकारमा जाने सहमति भइसक्यो। पार्टी अध्यक्ष भएका कारण मैले यो निर्णय गरेकी हुँ। सरकारलाई सहयोग गर्नैपर्ने भएकाले मैले प्रतिनिधिसभामा रहेका पार्टीका सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेकी हुँ। रेशमजीले चाहिँ टीकापुरमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक गरी दुईतिहाई बहुमत सदस्यद्वारा सरकारलाई समर्थन नदिने निर्णय गर्नुभए छ। यस विषयमा हामीबीच विवाद भएको हो। यो समस्या पनि चाँडै समाधान हुनेछ।

प्रकाशित: ३० फागुन २०८० १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =