शिक्षण सिकाइ प्रक्रियामा सुधार गर्ने हो भने पर्याप्त विदेशी विद्यार्थी आउँछन् : प्रा.विनिल अर्याल [भिडिओसहित]

हिमाल प्रेस २ चैत २०८० ८:२२
456
SHARES
शिक्षण सिकाइ प्रक्रियामा सुधार गर्ने हो भने पर्याप्त विदेशी विद्यार्थी आउँछन् : प्रा.विनिल अर्याल [भिडिओसहित]

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.विनिल अर्यालले नेपालका विश्वविद्यालयमा विदेशी विद्यार्थी आकर्षित गराउनुपर्ने बताएका छन्। त्यसका लागि यहाँका विश्वविद्यालयमा अध्ययनको वातावरण छ भन्नेमा विश्वस्त गराउनुपर्ने उनको भनाइ छ।

हिमाल प्रेसको साप्ताहिक कार्यक्रम एड्टक्समा बोल्दै डिन अर्यालले भने, ‘विदेशी विद्यार्थीलाई नेपाल ल्याउन यहाँको स्ट्यान्डर्डमा काम गर्नुपर्छ। अध्ययनको वातावरण छ भन्नेमा विश्वस्त गराउनुपर्छ। अहिलेको क्षमताअनुसार ठूलो चुनौती हो।’

अर्यालले इन्टर्नका लागि विद्यार्थी भौँतारिनुपर्ने अवस्था रहेको जानकारी दिँदै उनीहरूलाई इन्टर्न गराउने प्लेटफर्म पनि हुनुपर्ने बताए। ‘इन्टर्नका लागि विद्यार्थी भौँतारिरहेको अवस्था छ। ती विद्यार्थीलाई इन्टर्न गराउने प्लेटफर्म हुनुपर्‍यो’,उनले भने।

अर्यालले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संख्या नघटेको भन्दै विद्यार्थी संख्याबारे गलत सूचना प्रवाह भइरहेको बताए। उनले भने, ‘मिडियाले या बाहिरबाट विश्लेषण गर्नेहरूले गम्भीरतापूर्वक विश्लेषण गरे हुन्थ्यो।’

विद्यार्थीहरू कस्ताकस्ता विषयमा छन्? गुणस्तरीय शिक्षा दिन सकेका छौँ कि छैनौँ? विद्यार्थीको नतिजा किन कमजोर छ? जस्ता प्रश्न गर्दै तीन वर्षदेखि विज्ञान संकायको नेतृत्व सम्हालिरहेका डिन अर्यालले राम्रो नतिजाका लागि अध्ययनअध्यापनलाई प्रभावकारी बनाउन नसकिएको बताए।

‘अहिलेको विश्वविद्यालयको जनशक्तिले गहन भएर काम गर्नुपर्ने अवस्था छ। अध्ययनमा किन थोरै संख्या आउँछ? रिसर्चमा राम्रो देखाउँछ, अध्ययनमा कमजोर देखाउँछ। पाँच लाख विद्यार्थी भन्छौँ। कन्भोकेसन गर्दा एक लाख पनि हुँदैनन। फ्याकल्टीहरूमा हामीले मेहनत गर्नुपर्छ’, डिन अर्यालको भनाइ छ।

उनले इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका ३७ कार्यक्रममा ३९ हजार विद्यार्थी अध्ययनरत रहेको बताए। नेपालमा हाल शैक्षिक स्वयंसेवकका रूपमा मात्रै विदेशी विद्यार्थी आउने गरेको बताए। उनले भने,‘भोलेन्टरका रूपमा विदेशी विद्यार्थी नेपाल आएर नेपाल सम्बन्धमा पढ्ने थोरै मात्र छन्। इच्छाले आउँछ्न्। विश्वविद्यालयले, राज्यले उच्च शिक्षाले प्लान गरेर आएका होइनन्।’

उनले बीएस्सी सीएसआईटीमा विद्यार्थी नघटेको पनि बताए। बीएस्सी सीएसआईटी भनेको कम्युटर साइन्स र इन्फरमेसन टेक्नोलोजी हो। बीएस्सी सीएसआईटी संसारका अन्य ठाउँमा छैन। उनले भने,‘कम्युटर साइन्स र इन्फरमेसन टेक्नोलोजी बीएस्सी भएर कहीँ पनि छैन। यो प्रोग्रामको रेपुटेसन संसारभर छ। बीएस्सी सीएसआईटीमा विद्यार्थी घटेका छैनन्। हाम्रो डेटाले यो कुरा बोल्दैन।’

अर्यालले बीएस्सी सीएसआईटीको परीक्षा क्यालेन्डरअनुसार हुने गरेको बताउँदै ९० दिनमा नै नतिजा सार्वजनिक हुने बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =