वित्तीय संस्थामा निक्षेप ७ प्रतिशत बढ्यो

हिमाल प्रेस २८ फागुन २०८० १२:११
वित्तीय संस्थामा निक्षेप ७ प्रतिशत बढ्यो

काठमाडौँ- चालु आर्थिक वर्षको समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप ७ प्रतिशत बढेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको प्रतिवेदनमा सात महिनामा निक्षेप ३ खर्ब ९७ अर्ब २० करोडले बढेको उल्लेख छ। वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको बैंकले जनाएको छ।

माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत भएको समीक्षा अवधिमा भनिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, २५.८ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो। माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.४ प्रतिशत पुगेको बैंकको तथ्यांकमा छ।

यस्तै, समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरूको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४८ अर्ब १२ करोड ९३.२ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशत, गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत पुगेको बैंकले देखाएको छ।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर वाणिज्य बैंकहरुको ११.०८ प्रतिशत, विकास बैंकहरूको १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको छ। गत वर्षको माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो।

गत माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत रहेको छ। गत वर्षको माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम भएको थियो।

बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको औसत ब्याजदर गत वर्षको माघमा ५.२९ प्रतिशत रहेको हाल ३.०४ प्रतिशत कायम भएको बैंकको समिक्षामा उल्लेख छ।

पछिल्लो समय बैंकहरुको ब्याज पनि घट्दै गएको बैंकले जनाएको छ। गत वर्ष २०७९ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेको थियो। तर, चालु आवको माघमा ३.३४ प्रतिशत मात्र थियो।

हाल वाणिज्य बैंकहरूको औसत आधार दर ९.०६ प्रतिशत, विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत रहेको थियो।

प्रकाशित: २८ फागुन २०८० १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =