नेपाली व्यंग्यचित्र : २५ कलाकारका क्यारिकेचर प्रदर्शनीमा [तस्बिरहरूसहित]

सुस्मिता बजगाईं २७ फागुन २०८० १८:०१
244
SHARES
नेपाली व्यंग्यचित्र : २५ कलाकारका क्यारिकेचर प्रदर्शनीमा [तस्बिरहरूसहित] नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको क्यारिकेचर प्रदर्शनी। प्रदर्शनी चैत १ गतेसम्म हुनेछ। तस्बिरहरू : दिपेश श्रेष्ठ

काठमाडौँ- नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि ‘नेपाली क्यारिकेचर-२०८०’ नामक कार्टुन प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीमा काटुनिस्ट बासु क्षितिज, रवि मिश्र, रवीन साय्‌मि, अनिसा भण्डारी, सुदर्शन सिग्देल, अनुप गुरुङ, भानु भट्टराई, विश्व थापा, मनसरा प्रजापति, एनबी गुरुङलगायत २५ जना कलाकारले सिर्जना गरेका ४० भन्दा बढी क्यारिकेचर राखिएको छ। कार्टुनिस्ट मोहन श्याम महर्जन ‘खोकना’ ले प्रदर्शनीको उद्घाटन गरेका हुन्।

प्रदर्शनीमा लेखक तथा कवि कुमार नगरकोटी, हास्यव्यंग्य कलाकार मनोज गजुरेल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, भजनशिरोमणि भक्तराज आचार्य, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, कलाकार विल्सनविक्रम राई (तक्मे बुढा), महिला नेत्रीद्वय आरजु राणा र अनुराधा कोइराला, फिल्म निर्माता तथा निर्देशक उपेन्द्र सुब्बा, पत्रकार ऋषिकेश दाहाल, ऋषि धमला, गायक राजु लामालगायतको क्यारिकेचर छ।

प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालले २०७४ सालदेखि क्यारिकेचर कार्यशाला प्रतियोगिता प्रदर्शनीको आयोजना गर्दै आइरहेका छन्। नेपाली व्यंग्यचित्रभित्र क्यारिकेचर कलालाई उचाइमा पुर्‍याउने उद्देश्यले यस संस्थाले प्रत्येक वर्ष कार्यक्रम गरिरहेको छ।

क्यारिकेचर, आफैँ पनि एक पूर्ण मनमोहक र रचनात्मक विधा रहेको कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिज बताउँछन्। ‘व्यङ्ग्यचित्र आफैँमा एक जीवन्तकलाको रूप हो। त्यसलाई अझ हास्ययुक्त  बनाउन क्यारिकेचरको अहं भूमिका रहन्छ’, उनले भने। प्रदर्शनी एक फरक व्यावसायिक क्षेत्रका रूपमा क्यारिकेचरको सम्भाव्यता अन्वेषण गर्न माध्यम पनि रहेको उनले बताए।

कलाको रूपलाई माथि उठाउने, यसका व्यावसायिक सम्भावना अन्वेषण गर्ने र अन्ततः नेपाली कार्टुनको परिदृश्यलाई समृद्ध बनाउने संस्थाको लक्ष्य छ। प्रदर्शनीले क्यारिकेचर सम्पादकीय दृष्टान्तदेखि व्यावसायिक कार्यसम्म र क्यारिकेचरमा प्रतिभाशाली व्यक्तिहरुका लागि करियर स्थापना गर्ने अवसर पनि रहेको क्षतिजले बताए। ‘कलाको इतिहास, प्रविधि र प्रभावको गहिरो बुझाइले कलाकार र दर्शक दुवैलाई सशक्त बनाउँछ। यसका लागि नेपाली क्यारिकेचरमा थप मिहिनेत र अनुसन्धान आवश्यक छ’, उनले भने।

८० को दशकमा आइपुग्दा पनि नेपाली व्यंग्यचित्रभित्र क्यारिकेचर पक्षले अझै पूर्ण क्षमतामा पुग्न नसकेको उनले जिकिर गरे। प्रतियोगितासहितको प्रदर्शनीले कलाकारलाई क्यारिकेचरको सम्भावना अन्वेषण गर्न र यस कलाका सीमालाई फराकिलो बनाउने ठाउँ प्रदान गर्ने उनको विश्वास छ।

प्रदर्शनीमा वरिष्ठ कार्टुनिस्ट तथा कार्टुनिस्ट क्लब नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले काठको ब्लकदेखि एआईसम्मको नेपाली मुहार क्यारिकेचरको इतिहास, आधुनिक प्रविधि र प्रवृत्तिमाथिको कार्यपत्र प्रस्तुत गरेका थिए।

२०१४ सालको साउनको ‘संयुक्त प्रयास’ साप्ताहिकमा प्रकाशित गोवर्धनविक्रम शाहले बनाएको कार्टुनलाई नै नेपालको पत्रपत्रिकामा कार्टुनिस्टको हस्ताक्षरसहित प्रकाशित पहिलो कार्टुन मान्दै आएको कार्यपत्रमा उल्लेख छ।

प्रारम्भमा कार्टुनलाई नै क्यारिकेचर भन्ने गरिएको थियो तर कालान्तरमा कार्टुन र क्यारिकेचर फरक भएको परिभाषित गरिएको छ। विश्वकलामा क्यारिकेचरको इतिहास पाँच शताब्दीभन्दा पुरानो भएता पनि नेपाली क्यारिकेचरको छुट्टै इतिहास नपाइने कार्यत्रमा लेखिएको छ।

२०१७ सालपछि पञ्चायती शासन व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रताको अभावले बामे सर्दै गरेको नेपाली कार्टुन क्षेत्रले सामना गर्नुपरेको बाधाअड्चनहरूदेखि हाल एआईसम्मको यात्रामा नेपाली क्यारिकेचरले अनेक आयामहरू पार गरिसके पनि धेरैजसो नेपाली क्यारिकेचर कलाकारहरूमा चित्तबुझ्दो पारंगतता नदेखिने उनको निष्कर्ष छ।

क्यारिकेचर सिर्जनामा एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को आगमनले उत्साह र आशंका दुवै ल्याएको कार्यपत्रमा उल्लेख छ। ‘एआईले हाम्रो रोजगारीका अवसरहरूमा प्रभाव पार्ला कि भन्ने आशंका पनि जन्मारहेको अवस्थामा यसलाई हामीले आफ्नो दक्षता अभिवृद्धि गर्न अवसरका रूपमा र योभन्दा पनि अझ राम्रो गर्नेछु भन्ने उत्साहका रूपमा लिन सकिनेछ’, कार्यपत्रमा उल्लेख छ।

सम्पूर्ण कलाक्षेत्रमै एआईले आफ्नो प्रभावशाली उपस्थिति जनाइरहेको वर्तमान समयमा हरेक कलाकारले आफ्‌नो स्थान सुरक्षित राख्न अनेक चुनौतीको सामना गर्नुपर्ने देखिएको कार्यपत्रमा भनिएको छ। हरेक चुनौतीले नयाँनयाँ अवसर पनि सँगै ल्याइरहेकाले  खोजी गर्ने उपकरणका रूपमा लिन आग्रह गरिएको छ।

चैत १ गतेसम्म चल्ने प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा आयाेजना गरिएकाे हाे।

        

 

प्रकाशित: २७ फागुन २०८० १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =