
काठमाडौँ- फिल्म ‘अगस्त्यः च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ। सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म गत शुक्रबार अर्थात् फागुन १८ देखि प्रदर्शनरत छ।
फिल्मले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार गरेको निर्माण टिमको दावी छ। दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ उपत्यकासँगै मोफसलमा पनि राम्रो व्यापार गरिरहेको टिमले बताएको छ।
टिमका अनुसार फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरिरहेका छन्। दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिइरहेका छन्।
देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका हलहरुमासहित बिग मुभिज्, वान् सिनेमाज्, सिडिसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा शुक्रबार(आज) दर्शकको उपस्थिति सुखद् रहेको जनाइएको छ।
दर्शकहरुले फिल्मका मुख्य कलाकार सौगात र नाजिरको एक्सन अवतार, तारिफयोग्य रहेको प्रतिक्रिया दिइरहेका छन्। सौगातको मानसिक सन्तुलन गुमेको चरित्रमा दर्शकहरू आनन्दित भएको र फिल्मको अन्त्यतिर को हो गणेश? भन्ने सस्पेन्स चासोको विषय बनेको निर्माण टिमको दाबी छ। फिल्म बिहिबारदेखि मध्यपूर्वका मुलुक युएई, कतार र बहराइनमा प्रदर्शन भइरहेको छ।
फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल हुन्। सञ्जय लामाले छायांकन गरेको फिल्म निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीतमा बनेको छ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको च्याप्टर २ सन् २०२६ मा प्रदर्शन गर्ने तिर्माण टिमको तयारी छ।