इटहरीमा १० किमि दौड प्रतियोगिताको तयारी पूरा

हिमाल प्रेस २४ फागुन २०८० २१:२९
60
SHARES
इटहरीमा १० किमि दौड प्रतियोगिताको तयारी पूरा

इटहरी- इटहरी २० तरहरामा १० किलोमिटर दौड प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक तरहरा रनले बिहीबार पत्रकार सम्मेलन गरी दौड प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।

तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले विभिन्न सात विधामा हुने प्रतियोगितामा हालसम्म एक हजार सात सय जनाले आवेदन दिएको बताए। आवेदकहरूले शनिबार (फागुन २६) गते तरहरा चौकमा भेला भएर दौड प्रतियोगितामा सहभागी जनाउन सक्ने उनले बताए।

उनका अनुसार १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई तीन किलोमिटर दुरीको दौडमा सहभागी गराइनेछ। १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई १० किलोमिटर दूरीको दौडमा सहभागी गराइनेछ। १६ देखि ३९ वर्षसम्म र ४० देखि माथिका (भेट्रान) लाई १० किलोमिटर दौडमा सहभागी गराइनेछ।

ह्विल चियरमार्फत पनि एक किलोमिटर दौड प्रतियोगिता गराइने आयोजकको भनाइ छ।  यस्तै सपरिवार दौड प्रतियोगिता तीन किलोमिटरको रहनेछ। सबै विधाका गरी कुल एक हजार सात सय धावक सहभागी हुने आयोजकको दाबी छ।

अध्यक्ष राईका अनुसार खुला दौड प्रतियोगिताका विजेताले (पुरुष महिला दुवै) नगद ३० हजार, उपविजेतालाई नगद २० हजार र तृतीय हुनेलाई नगद १० हजारसहित मेडल प्रदान गरिनेछ।

१६ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेतालाई नगद १० हजार, उपविजेतालाई सात हजार र तृतीयलाई पाँच हजार प्रदान गरिनेछ। १२ वर्षभन्दा कम उमेरका धावकमध्ये विजेता, उपविजेता र तृतीयलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजारसहित मेडल वितरण गरिने आयोजकले जनाएको छ।

सबै विधाका प्रतियोगितामा पुरुष र महिला दुवैलाई पुरस्कृत गरिनेछ। खेल क्षेत्रलाई चलायमान बनाउनका निम्ति र स्वास्थ्यलाई स्फूर्त राख्नका निम्ति उक्त दौड प्रतियोगिता आयोजना गरिएको राईले बताए।

खेलका मूल संयोजक मीनकुमार खवासका अनुसार प्रतियोगितामा कुल २५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ। उनले भने, ‘हामीले मुख्य बजार क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा रनको आयोजना गर्नेछौँ। जसकारण गाउँठाउँको वास्तविक चित्र बुझिनेछ।’

उनका अनुसार तरहराचोकदेखि भित्री सडकखण्डमा दौड प्रतियोगिता आयोजना हुनेछ। दौड प्रतियोगितामा ट्राफिक व्यवस्थापनका लागि पनि तयारी पूरा भएको छ। साथै प्रतियोगिताका लागि एक सय ७० जना स्वयंसेवक खटिनेछन्। दौड अवधिभर आकस्मिक परेको अवस्थामा दुईवटा एम्बुलेन्स तयारीमा रहेको र पाँचजना नर्सले तत्काल प्राथमिक उपचार गर्नसक्ने खवासले बताए।

प्रकाशित: २४ फागुन २०८० २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast