कांग्रेसले समर्थन फिर्ता लिए प्रचण्डले पाउलान् विश्वासको मत?

हिमाल प्रेस २२ फागुन २०८० ९:२८
52
SHARES
कांग्रेसले समर्थन फिर्ता लिए प्रचण्डले पाउलान् विश्वासको मत?

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नयाँ गठबन्धनको नेतृत्व गर्दै सरकार पुर्नगठन गरेका छन्। उनले नेपाली कांग्रेसलाई गठबन्धनबाट हटाउँदै नेकपा एमालेसँग सहकार्य थालेका हुन्।

उनले नयाँ गठबन्धन बनाएसँगै नयाँ मन्त्रिपरिषद्को गठन थालेका छन्। एमालेबाट पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डीपी अर्याल र माओवादीबाट हितमान तामाङ मन्त्री बनिसकेका छन्। नयाँ बनेका मन्त्रीलाई जिम्मेवारी तोकिएको छैन।

यता कांग्रेसले पनि समर्थन फिर्ता लिने बारे छलफल थालेको छ। कांग्रेसको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो। यदि कांग्रेसले समर्थन फिर्ता लिए प्रचण्डले फेरि विश्वासको मत लिनुपर्छ। आज बेलुका कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको छ। कांग्रेसले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको छ।

संसद्‍का बहुमत संख्याले विश्वासको मत दिनुपर्ने हुन्छ। अहिले प्रधानमन्त्रीको नयाँ गठबन्धनमा नेकपा एमालेको ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२ सिट छ।

माओवादी स्रोतका अनुसार साना दललाई पनि प्रधानमन्त्रीले सरकारमा सामेल गर्ने प्रयास गरेका छन्। यसैका लागि आज साना दलसँग बैठक बस्न लागेको जसपा सहअध्यक्ष राजेन्द्र श्रेष्ठको भनाइ छ।

उनका अनुसार एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी (लोसपा) र जनमत पार्टीका नेताहरूसँग छलफल हुनेछ। यदि कांग्रेसले समर्थन फिर्ता लिएमा पनि प्रधानमन्त्रीको पक्षमा बहुमत संख्या देखिन्छ। प्रधानमन्त्रीले संसद्बाट १३७ मत पाउनुपर्ने हुन्छ। तर प्रधानमन्त्रीको पक्षमा सो भन्दा बढी मत छ।

‘कांग्रेसले समर्थन फिर्ता लिन्छ। यसो हुँदा वर्तमान सरकारले विश्वासको मत लिनुपर्छ,’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठ्ठीले भने,‘तर अहिलेको गठबन्धनबाट प्रधानमन्त्रीलाई विश्वासको मत पाउन सहज देखिन्छ।’

प्रकाशित: २२ फागुन २०८० ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =