सीमान्तकृतहरूको कथा ‘अकथ्य’

सुस्मिता बजगाईं १९ फागुन २०८० २२:००
216
SHARES
सीमान्तकृतहरूको कथा ‘अकथ्य’

काठमाडौँ- चर्चित रंगकर्मी प्रवीण खतिवडाको अर्को परिचय थपिएको छ, त्यो हो आख्यानकार प्रवीण खतिवडा। उनको पहिलो कथाकृति ‘अकथ्य’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ। कृतिमा नौवटा उपशीर्षक छ्न्। सम्धी, बाँकी विद्रोह, पुनर्जन्म, विचारको अन्त्य, प्रयोगशालाको बन्दी, न्याय हराएको, जिजीविषा, एन एक्टर्स प्रिपरेसन र सारा बन्धन तोडी।

अकथ्यको अर्थ व्यक्त गर्न नसकिने भन्ने हुन्छ। लुकेर रहेको, आजसम्म भन्न नसकिएको आवाजविहीनहरूको आवाजलाई कथामार्फत व्यक्त गरिएको हुनाले पुस्तकको शीर्षक ‘अकथ्य’ राखिएको विमोचन समारोहमा साहित्यकार तथा कलाकार सगुना शाहले बताइन्।

शाहले खतिवडाले सीमान्तकृतहरूको आवाजलाई कथामा समेटेको बताइन्। ‘कथामा महिलालाई विरोधी पात्रका रूपमा उभ्याइएको छ। कथाका महिला पात्र थारू समुदायका छ्न्’, उनले भनिन।

पुस्तकको आवरणको टाउकोमा कथाको संकेत देखाइएकाले पनि कथाबारे बुझ्न सकिने शाहको भनाइ छ। ‘पुस्तकमा राजा त्रिभुवनदेखि २०४६ सालको जनआन्दोलनसम्मको कथा समेटिएको छ’, उनले भनिन्। प्रवीणका कथा गम्भीर र गहन भएको मूल्यांकन उनको छ। उनका अनुसार राजनीतिले परिवार र आफन्त केही नभन्ने, सामाजिक संरचनाले भविष्य निम्त्याउने आरोहअवरोह, पुनर्जन्ममा गरिने विश्वास, बाबाहरूको शरणमा जाने हिन्दु संस्कारलगायत थुप्रै विषयलाई पुस्तकमा समेटिएको छ।  शाहले भनिन्, ‘पुस्तकका कथा लामा छ्न् तर अब के होला भन्ने मनमा जगृत गराइराख्छ।’

विश्लेषक सीके लालले समाजमा बोल्न, लेख्न र गर्न नसकिने कुरालाई कथामार्फत सजाएर बुझाउन खोजिएकाले कृतिको शीर्षक अकथ्य राखिएको हुनसक्ने अनुमान लगाए। ‘टेबुल बन्नुमा जति रूख, सिकर्मी, मजदुर, पसले, फर्निचरको कथा हुन्छ त्यसैगरी यो पुस्तकमा पनि थुप्रै अदृश्य कहानी लुकेको छ’, उनले भने।

खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र ती कथा पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी विश्लेषक लालको थियो। ‘केन्द्रीय पात्रहरुलाई स्थापित गरेर नाटक र सिनेमाको उतारचढावयुक्त संरचनामा लेखिएका कथा पुस्तकमा छन्’, लालले भने, ‘सायद त्यही भएर कथामा सहायक पात्र गौण छन्।’

सबै कथा कौतूहल जगाउने किसिमको भएको विश्लेषक लालले बताए। ‘जसरी हामीलाई पेट अघाएपछि मिठो खानेकुरा अझै खान मन लाग्छ त्यसरी नै एउटा कथा सकिएपछि पनि के भयो भन्ने कौतूहल जगाउँछ’, उनले भने।

खतिवडाले कथाको परिवेश तराई मधेशलाई बनाएका छन्। ‘राम्रो गर्ने इच्छाशक्ति हुँदाहुँदै पनि भनेजस्तो काम नभएको कथा पढिसकेपछि बुझ्न सकिन्छ’, विश्लेषक लालले भने। उनका अनुसार दुःख र पीडाको अभिव्यक्ति नै कथाको मूलभाव हो। उनले भने, ‘यसलाई व्यावसायिक लेखन भन्न सकिन्छ।’

कथाको सुरु, मध्य र अन्त्यको योजना क्रमबद्ध रूपमा गरिएको छ। पहिलो कथामा साधारण बोलीचालीको भाषा छ। कथामा प्रयोग भएका पात्रमा लेखक स्वयं भएको अनुमान लगाउन सकिने लालले औँल्याए। कथा पढिरहँदा दुई पात्रबीच द्वन्द्व गराउनमा लेखकले मेहनत गर्नुपर्ने उनको सुझाव थियो।

कलाकार सौगात मल्लले खतिवडासँग रंगमञ्चदेखि चलचित्रसम्म सहकार्य भए पनि सिर्जनात्मक लेखनमा उनले उछिनेको बताए। ‘कथालेखन वा सिर्जनात्मक लेखन गर्ने कुरा त हामीबीच हुन्थ्यो। म लेख्ने काममा अलमल गरिरहेको थिएँ,’ मल्लले भने, ‘तर मेरो भाइले मलाई सिर्जनात्मक लेखनमा उछिन्यो।’

लेखक खतिवडाले फिल्मको कथा लेख्दालेख्दै यी कथा फुरेको बताए। उनले भने, ‘कुनै फिल्मको कथा लेख्दै थिएँ। मस्तिष्कमा अनेकौँ कथा आए। त्यही कथा नै लेखौँ भन्ने लाग्यो र अकथ्य जन्मियो।’ पुस्तक परिचय पब्लिकेसनले प्रकाशन गरेको हो।

रंगकर्मी, कलाकार र निर्देशकका रुपमा स्थापित खतिवडा

खतिवडा रंगकर्मी, कलाकार र निर्देशकका रूपमा परिचित छ्न्। उनले अभि सुवेदीद्वारा लिखित तथा सुनिल पोखरेलले निर्देशन गरेको चर्चित नाटक अग्निको कथाबाट अभिनय यात्रा सुरु गरेका हुन्। हालसम्म उनले रशोमन, मार्क्स फर्किए, न्यायप्रेमी, घनचक्कर, पानीफोटो, बाघभैरव, एल्म मुनिको तिर्खा, खरीको घेरो, बाठी रानी, जात सोध्नु जोगीको, कालजस्ता तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्।

खतिवडा ध्रुव, महादेवको बाजी, लखन पटवारी, हेड्डा ग्याब्लर, ऊ कसको, एक बोली एक दाम, सरजमिन, मीमांसा, मार्क्स फर्किए, विमोक्ष आदि नाटकका निर्देशक हुन्। खतिवडा निर्देशित नाटक अन्धवेग थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।

खतिवडाको फिल्ममा पनि छुट्टै पहिचान बनाएका छन्। उनले लुटबाट फिल्मको यात्रा थालेका थिए। त्यसयता लटु २, ढुवानी, विना कारण, कालो पोथी, पण्डित बाजेको लौरी, जात्रा, गरुड पुराण, माछामाछा, रंगेली, महाजात्रा, मनसरा, उमा, चट्कल, द स्पोन्सर, मिस्टर झोले, खाग, रातो सुटकेसलगायत थुप्रै फिल्ममा अभिनय गरेका छ्न। रंगेली, महाजात्रा, मनसरालगायतका फिल्म प्रदर्शनको तयारीमा छ।

प्रकाशित: १९ फागुन २०८० २२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + four =