शालीन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

हिमाल प्रेस १९ फागुन २०८० २१:२३
4
SHARES
शालीन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शालीन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री दाहालले शनिबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन्।

चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको एकता शिशु निकेतन स्कुलकी छात्रा १४ वर्षीया शालीन पोखरेलको शंकास्पद मृत्यु भएको छ। विद्यालय कक्षाकोठामा शव भेटिएपछि घटनाको सर्वत्र निन्दा हुँदै आएको छ।

प्रधानमन्त्री दाहालले भनेका छन्, ‘चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ।’

साथै उनले घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आफूले गृह मन्त्रालयलाई निर्देशित गरिसकेको पनि स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ।’

यसैबीच जिल्ला प्रहरी कार्यालयले चितवनले ती छात्राको मृत्युका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले शनिबार विज्ञप्ति जारी गर्दै अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धानमा प्रभाव पर्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगरिदिन आग्रह गरेका हुन्। विज्ञप्तिमा घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको पनि उल्लेख छ।

विद्यालयको होस्टलका अन्य साथीसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाई झुण्डिएको अवस्थामा छात्राको शव भेटिएको चितवन प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा घटनास्थल विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटिई घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका काम सम्पन्न  भइसकेको भण्डारीले उल्लेख गरेका छन्। घटनाको गम्भीर रूपमा थप अनुसन्धान भइरहेको  विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ फागुन २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =