विश्वविद्यालयका परम्परागत शैक्षिक पद्धति परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री

हिमाल प्रेस १९ फागुन २०८० १७:२४
74
SHARES
विश्वविद्यालयका परम्परागत शैक्षिक पद्धति परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयका परम्परागत शैक्षिक पद्धति परिवर्तन गर्नुपर्ने बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औँ सभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका परम्परागत शैक्षिक पद्धतिमा परिवर्तन गर्दै देशले लिएको नीति अनुरूप शैक्षिक कार्यक्रम सञ्चालन गरी सीपसहित, प्रविधिमैत्री, नैतिकवान् जनशक्ति उत्पादन गर्नुपर्ने बताएका हुन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीले बौद्ध धर्म, संस्कृति, कला साहित्यलाई प्रवर्द्धन गर्दै पर्यटनमार्फत आर्थिक विकास गर्ने जनशक्ति विश्वबजारमा खपत हुनेतर्फ ध्यान दिनुपर्ने बताए। ‘शिक्षा मानव जीवनको ज्योति हो। यो ज्योति समाजमा व्याप्त कुसंस्कार, अन्धविश्वासलगायतलाई जरैबाट निर्मूल पार्ने आधार हो,’ सभामा प्रधानमन्त्रीले भने,‘वर्तमान सन्दर्भमा रोजगारमूलक, सुसंस्कृत, सभ्य, नैतिक र चरित्रवान नागरिक उत्पादन गर्ने गुणस्तरीय शिक्षा नै देश विकासको मूल आधार हो।’

उनले अहिले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको प्रभावमा परेको बताउँदै मौलिक दर्शन, संस्कृति, परम्परा, स्रोतसाधनको अध्ययन गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए। ‘विश्वमा ५२ करोड जनसंख्याको आस्थाको विषय बनेको बौद्ध दर्शन त्यसभित्र अन्तर्निहित गम्भीर सामाजिक र दार्शनिक कुराहरू अहिलेको समाजलाई नभइ नहुने कुराहरू हुन्। यसलाई विश्वव्यापीकरण गर्नु हामी सबैको साझा दायित्व हो। लुम्बिनी बौद्ध विश्वविद्यालयले यसतर्फ विशेष ध्यान पुर्‍याउनेछ भन्ने कुरामा विश्वस्त छु,’ प्रधानमन्त्रीले भने।

बौद्ध कला, साहित्य, पुरातत्व क्षेत्रको अनुसन्धान गर्दै पुरातात्विक, सांस्कृतिक, ऐतिहासिक कलाको खोजनीति गर्दै सम्बर्धन र प्रवर्द्धनले देशको गरिमा बढ्नुको साथै धार्मिक तीर्थस्थलको रूपमा योग, ध्यान, प्राकृतिक सौन्दर्य एवं शान्तिप्रेमी पर्यटकहरूका लागि आकर्षण गर्न सकिने उनले बताए। प्रधानमन्त्री प्रचण्डले १५औँ बैठकसँगै विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय भवनको उद्घाटन समेत गरे।

१५औँ सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहउपकुलपति अशोककुमार राईले बौद्ध विश्वविद्यालय एउटा विशिष्टीकृत विश्वविद्यालय भएकाले ययसलाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फ सरकारले काम गर्ने बताए।

सभाले देवदहको पूर्वाधार निर्माण परियोजना स्वीकृत, आर्थिक प्रशासन सम्बन्धी नियमावली संशोधन, सेवासम्बन्धी नियमावली संसोधन, शैक्षिक प्रशासनसम्बन्धी नियमावली संशोधन र चालु आवको बजेट पारित गरिएको उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्यले बताए।

बैठकको अवसरमा केन्द्रीय कार्यालय भवन र भवनमा कन्फूसियस अनुसन्धान केन्द्रको समेत प्रधानमन्त्रीले शुभारम्भ गरेको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए। भवन झन्डै २१ करोड लागतमा बनेको विश्वविद्यालयका प्रशासन प्रमुख एवं सूचना अधिकारी चुरामणि पोखरेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =