नियात्रा

रोटरी सम्मेलन, औरंगबाद र सिरडीको भ्रमण

मोहनकृष्ण श्रेष्ठ १९ फागुन २०८० १५:५९
166
SHARES
रोटरी सम्मेलन, औरंगबाद र सिरडीको भ्रमण
आजभन्दा ११९ वर्षअगाडि अमेरिकी स्वप्नद्रष्टा पाउल हारिसले आफूभन्दा माथि उठेर समाजसेवा गर्ने अठोट गरी आफ्ना दुई मित्रका साथ लिई रोटरी इन्टरनेसनल स्थापना गरेका थिए। यतिका वर्ष बित्दा पनि यो अन्तर्राष्ट्रिय संंस्था समाजसेवाका लागि कृतसंकल्पित भई अनवरत रूपमा लागिपरेको छ। विश्वका अधिकांश देशमा फैलिइसकिएको रोटरी झन्डै ३५ हजार क्लबमा आबद्ध १२ लाख ४० लाख सदस्यमार्फत मानवजातिका लागि सेवारत छ।
रोटरी सदस्यलाई समाजमा प्रतिष्ठित व्यक्तिका रूपमा लिइन्छ। रोटरी यसरी अनवरत रूपमा चल्दै आउनुमा यसको संरचनालाई पनि लिन सकिन्छ। प्रत्येक वर्षको १ जुलाईमा रोटरी इन्टरनेसनलदेखि सबै देशमा रहेका रोटरी क्लबमा नेतृत्व फेरिन्छन्। त्यति मात्र हैन, अर्काे वर्ष नेतृत्व गर्ने व्यक्तिको चयन तथा त्यसभन्दा अघिल्लो वर्षसम्मको नेतृत्वकर्तासमेत चुनिने व्यवस्थाले रोटरीलाई सजीव तुल्याउँदै आएको देखिन्छ। रोटरीमा समस्यै नभएको भने हैन।
रोटरीका ६ वटा प्रमुख उद्देश्यमा शान्ति, सद्भावना तथा झैझगडा रोक्ने उद्देश्य पनि थपिएको छ। साथै प्रत्येक वर्षको फेब्रुअरी महिनालाई शान्ति प्रवर्धन महिनाका रूपमा लिई कार्यक्रम आयोजना गरिन्छ।
यसै सन्दर्भमा भारतको औरंगबाद सहरमा १७ फेब्रुअरी २०२४ का दिन शान्ति, सद्भावना तथा झैझडा रोक्ने अभियानका लागि एक बृहत् अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो। औरंगबाद मेट्रो रोटरी क्लबका अगुवा चन्द्रकान्त चौधरीसँग रहिआएको मित्रताले गर्दा मलाई पनि सो सम्मेलनमा  निमन्त्रणा प्राप्त भयो। रोटरीको प्रमुख नियम भनेको यसका क्रियाकलापमा भाग लिदा आवश्यक खर्च सबै रोटरीका सदस्य आफैँले व्यहोर्नुपर्छ।
म र श्रीमती १६ फेब्रुअरी २०२४ का दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डिगो एयरलाइन्सको उडाटबाट नयाँदिल्ली पुगी पुनस् केही समयपछि सोही एयरलाइन्सको उडान लिई औरंगबाद एयरपोर्टमा अवतरण गर्‍यौँ। होटल भिट्समा पुग्दा क्लबकी प्रेसिडेन्ट श्रीमती आरती आइन्गारलगायत अन्य पदाधिकारीले हामीलाई स्वागत गर्नुभयो।
भोलिपल्ट बिहान ९ बजेदेखि कार्यक्रम राखिएको थियो। समयमै कार्यक्रम सुरु भयो। श्रमती मोना भुन्गारले साह्रै राम्ररी कार्यक्रम सञ्चालन गरिन् भने डायसमा उल्लेख्य रूपमा रोटरी क्लबका पदाधिकारी उपस्थित थिए। रोटरी तथा शान्ति सम्बन्धित विभिन्न विषयमा बोल्न दिने कार्यक्रम तय गरिएको रहेछ। नेपाललगायत बंगलादेश, मलेसिया तथा श्रीलंकाबाट प्रतिनिधि सहभागी थिए।
मलाई मानवजातिको अस्तित्वका लागि शान्तिको आवश्यकताबारेमा बोल्न दिइएको थियो। मैले आफ्नो बोल्ने कुरा तयार गरी लगेको थिएँ। शान्ति के हो? शान्ति कसरी प्राप्त गर्ने? शान्ति अभावमा कस्तो दयनीय अवस्था आउन सक्छ? शान्तिबिना कसरी बाँच्न सकिन्छ? शान्ति नभई विकास पनि हुन्न। विकास नभई शान्ति पनि हुन्न। विश्वमा शान्ति स्थापनाका लागि गर्नुपर्ने कार्यलगायत हाल विश्वमा अणुबमको विकासले भयावह परिस्थिति पैदा भइरहेको अवस्थाका बारेमा मैले आफ्नो धारणा राखेँ।
भगवान् गौतम बुध्दको महान् उपदेश तथा उनले मानव जातिलाई शान्ति प्राप्तिका लागि छाडेर गएका अनुपम उपदेशबारे पनि व्याख्या गरेँ। साथै धार्मिक गुरु श्याल्पा तेन्जिङ रिन्पोचेको अगुवाइमा हाल लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पिस सान्क्चुरीका बारेमा पनि जानकारी दिएँ। यस सान्क्चुरीबाट विश्वमा शान्ति स्थापनाका लागि हुन सक्ने योगदानका बारेमा पनि चर्चा गरेँ। मलाई लाग्छ, मेरो वक्तव्यलाई उपस्थित रोटरियन तथा पाहुनाले समेत राम्ररी ग्रहण गर्नुभएको थियो। कतिले बधाई पनि दिए। सम्मेलनको अन्त्यमा रात्रिभोज तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
 
१८ फेब्रुअरीका दिन हामी जलगाव भन्ने ठाउँमा जानुपर्ने भयो। त्यहाँ रहेका नौवटा रोटरी क्लब मिलेर अन्तर्राष्ट्रिय सहिष्णुता नामक सम्मेलन आयोजना गरिएको रहेछ। हुन त १७० किलोमिटर मात्रैको दुरी थियो, तर पनि गाडी हुइँकिन नपाउँदा पूरै तीन-चार घण्टा लाग्यो। जलगाव जानुअगाडि विश्व प्रख्यात सम्पदा एलोरा गुफा हेर्ने मौका जुर्‍यो। म लामो सममदेखि यी गुफा हेर्ने धोको पालेर बसेको थिएँ। बल्ल मौका पर्दा फुरुंग भएँ। औरंगबाद सहरबाट ४० मिनेटजति गाडीमा गएपछि एलोरा गुफा पुगियो। बसाल्ट ढुंगाको पहाड वा चट्टान। बसाल्ट ढुंगा त अति कडा हुने रहेछ। त्यस्तो ढुंगामा मूर्ति, रामायण तथा महाभारतका कहानी, बुध्दको कहानी आदि कुँदिएको रहेछ।
एलोरा गुफा तीन खण्डमा विभाजित छ। पहिलो खण्ड बुध्द धर्मसम्बन्धी, दोस्रो हिन्दु धर्मसम्बन्धी र तेस्रो जैन धर्मसम्बन्धी मूर्ति कुँदिएका छन्। यी मूर्ति विभिन्न समयका राजामहाराजाले मूर्ति तथा इतिहास कुँदाएको देखियो। यीमध्येमा हिन्दु धर्मको कैलाश नामक मूर्तिलाई विशेष मानिँदो रहेछ। त्यहाँ भएका सबैजसो मूर्ति माथिबाट तल कुँदेर बनाइएको बुझियो। वास्तवमा कुनै पनि वस्तु बनाउँदा जगबाट बनाउनुपर्ने हो। कैलाशको हकमा भने उल्टो रहेछ। शिवपार्वतीका मूर्तिलगायत धेरै अजंगका खम्बा, हात्ती तथा अन्य जनावरका मूर्ति पनि देखिए। मैले गाइडलाई सोधेँ, यी सबै बनाउन केकस्ता ज्यावल र औजार प्रयोग भएका होलान्? कुनै ज्ञान छ कि? कतै उल्लेख छ कि? उनले केवल हथौडा तथा चिसेलबाट बनाइएको अनुमान गरे।
आजभन्दा १५ /१६ सय वर्षअगाडि त्यस्तो कुनै औजार पनि थिएनन् होला। तर मानिसको हात, दिमाग, सोच, कर्मठ अठोटका कारण एलोरा बनेको प्रस्ट भयो। साँझतिर जलगाव पुगियो। रोटरियनहरूले भव्य स्वागत गरे। भोलिपल्ट साँझ सम्मेलन सुरु भयो। मलाई पनि बोल्ने अवसर दिए। मैले भगवान् गौतम बुध्दका उपदेशको व्याख्या गर्दै आआफ्नो घर, समाज तथा देश अनि विश्वमा शान्ति स्थापनाका लागि ती उपदेशलाई अनुसरण गरी जीवन अगाडि बढाउनुपर्ने कुरा राखेँ।
भारतीय नागरिकसँंग बिहे गरेर २५ वर्षअघि त्यहाँ पुगेकी विराटनगरकी नेपाली चेलीसँग पनि भेट भयो। उहाँ हामीलाई भेटेर निकै खुसी हुनुभएको थियो। त्यति टाढाको ठाउँमा आफ्नो देशको चेलीलाई भेटेर हामीलाई पनि औधी खुसी लागेको थियो। सांस्कृतिक कार्यक्रममा प्रस्तुत नृत्य उत्कृष्ट थिए।
दुई दिन जति अहिंसाका पुजारी महात्मा गान्धी रिसर्च फाउन्डेसन आश्रम तथा जैन सिँचाइ आयोजनाबाट बनाइएको अति मनोरम तथा आनन्ददायक ठाउँमा बसियो। सुरुमा वाईफाई नभएर छटपटी भए पनि पछि त वाईफाई नभए झनै आनन्द पो आउने हो कि जस्तो लाग्यो।
१९ फेब्रुअरीका दिन हामी सबै जलगावबाट औरंगाबाद फर्कन हिँड्याैँ। बाटोमा अजन्ता गुफा रहेछ त्यो पनि हेर्न गयाैँ। पहाडको बीच भागमा भगवान् बुध्दको जीवनीमा आधारित अनेकन् मूर्ति तथा अन्य कहानी कुँदिएका रहेछन्। पुराना पेन्टिङ त खुइलिएर भग्नावशेष बनिसकेको रहेछ। पहाडको मध्यभागमा अजन्ता गुफा रहेछ। भगवान् बुध्दको बडेमानका मूर्ति विभिन्न मुद्रामा कुँदिएका थिए।
होटल भिट्समा फर्कँदा झमक्क साँझ परिसकेको थियो। भोलिपल्ट २० फेब्रुअरीका दिन हामी एउटा गाडी भाडामा लिएर सिरडीतर्फ गयौँ। १५७ किलोमिटर दुरी भए तापनि ३ घण्टाभन्दा अलि बढी समय लाग्यो। स्वामी रिसोर्टमा बस्यौँ। होटलका मालिक रोटरियन नै रहेछ। भेटचाहिँ भएन। तुरुन्तै साई मन्दिरतर्फ प्रस्थान गर्‍याैँ। त्यति टाढा रहेनछ। साईको समाधिको दर्शन गर्न हजारौँहजार मानिस जाँदा रहेछन्।
लाममा रहँँदा बीचबीचमा अपरिचितले जय साईराम भनेर कराउँथे। सबैले यसरी नै कराएर साथ दिँदा रहेछन्। साईको समाधिमा ढोग गरेपछि भक्तहरूलाई अत्यन्तै सन्तोष मिल्नेरहेछ। साई समाधिस्थ भएको दिन १५ अक्टोवर १९१८ देखि अनवरत रूपमा बल्दै आएको नन्दा दीप तथा संग्रहालयमा राखिएका साई सम्बन्धित अन्य कतिपय वस्तुको पनि अवलोकन गरियो। सिरडी रमाइलो ठाउँ रहेछ। गुलजार। संगीत बजिरहने। मानिसको आवतजावत तथा साई सम्बन्धित अन्य कतिपय गतिविधिले यस ठाउँलाई निकै रमणीय बनाएको रहेछ।
मेरी श्रीमती साईको परम भक्त भएकाले उनलाई तीनपल्ट साईको दर्शन नगरी नहुने रे! पछि लाग्नैपर्‍यो। साई मन्दिरको परिसरमा रहँदा एक प्रकारको असीम आनन्दको अनुभूति हुँदो रहेछ। एकछिन अलमलिँदा दुई घण्टा जति छुट्टिनुपर्दा केही चिन्ता लाग्यो नै। प्रहरी नै गुहार्नुपर्‍यो। श्रीमतीको निन्याउरो अनुहार देखेपछि साईको दरबारमा केही गडबडी हुन्न, तपाईँको श्रीमान्‌लाई सन्चो नभए खोजेर औषधि ख्वाएर तन्दुरुस्त बनाई अगाडि ल्याइदिउँला भनेर आश्वस्त पारेका रहेछन्। नभन्दै केहीबेरमै आमनेसामने भयाैँ।
फोटो खिच्न आग्रह गर्ने देखि लिएर सामान बेच्नेहरूले भने अलि हैरान पार्दा रहेछन्। कसैबाट अभद्र व्यवहारचाहिँ भएन। एक दिनको सिरडी भ्रमणपछि हामी औरंगबाद एयरपोर्टतर्फ लाग्यौँ। उडान समयमै थियो। नयाँदिल्ली पुग्दा राति ९ बजेको थियो। एयरपोर्टबाटै हामी कालीबाबाको आश्रममा गयौँ। दुई दिन दिल्लीमा बसियो। रोटीबेटीको सम्बन्ध भएका हामी नेपालीलाई भारतीय मोबाइल सेवा कम्पनीले सिमकार्ड नै नदिँदा रहेछन्। सिम नहुँदा सञ्चार तथा संवादमा कठिनाइ हुने नै भयो। दिल्लीमा बस्दाबस्दै थाहा पाइयो- अबदेखि नेपालीले पनि भारतीय सिमकार्ड पाउने भए रे।
अक्षरधामको स्वामी नारायण मन्दिर पनि हेर्न गयौँ। ओहो मानिसको हात! कस्तो गजबको मन्दिर बनाइएको रहेछ। साथै मन्दिरभित्र स्वामी नारायणको सुनौलो भव्य मूर्ति देखेर म त शब्दविहीन अवस्थामा पुगेँ। कति सुन्दर! कति राम्रो!! २५ फेब्रुअरीकमा दिन हामी सकुशल घर फर्कियौँ।
श्रेष्ठ फ्रान्सका लागि पूर्वराजदूत एवम् डिल्लीबजार रोटरी क्लबका पूर्व प्रेसिडेन्ट हुन्। 
प्रकाशित: १९ फागुन २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =