स्ववियुले भन्यो : अब आन्दोलनका नाममा कक्षा बिथोलिने छैन

हिमाल प्रेस ५ चैत २०८० २१:५४ | Monday, March 18, 2024
स्ववियुले भन्यो : अब आन्दोलनका नाममा कक्षा बिथोलिने छैन घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पठनपाठन, परीक्षा तथा परीक्षाफल प्रकाशनको तालिका बिथोलिने गरी कुनै पनि आन्दोलनका कार्यक्रम नगरिने जनाएको छ।

त्रिविको स्ववियु निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा आज (सोमबार) कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस भवनमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

कार्यक्रममा स्ववियुको विगत एक वर्ष र आगामी कार्ययोजनाबारे जानकारी दिँदै स्ववियु सभापति श्यामराज ओझाले शैक्षिक पात्रो सुनिश्चित गरी कडाइका साथ लागू गराउन हरसम्भव उपाय गरिने जानकारी दिए।

‘कक्षा सुरु हुने, समाप्त हुने, परीक्षा सञ्चालन  र परीक्षाफल प्रकाशनसम्मको तिथिमिति निश्चित भएको शैक्षिक पात्रो चाहन्छौँ र त्यसका लागि आन्दोलनले पढाइ बिथोलियो भन्ने अवसर दिँदैनौँ,’ उनले भने।

शैक्षिक पात्रोकै लागि गत पुस ११ गतेदेखि निरन्तर दबाब दिएपछि त्रिविले हालै शैक्षिक पात्रो प्रकाशित गरेको तर परीक्षाफल प्रकाशन हुने मिति नतोकिएका कारण स्ववियुलाई मान्य नभएको पनि उनले बताए।

समयमा पढाइ र परीक्षा तथा परीक्षाफल प्रकाशित नहुने अवस्थाले त्रिविलाई चौतर्फी समस्यामा पारेको पनि उनको भनाइ छ।

परीक्षालगायत त्रिविका सबै शैक्षिक कार्यक्रम अतिकेन्द्रीकरणका कारण जटिल र ढिलासुस्तीग्रस्त बनेको स्ववियु सभापति ओझाको भनाइ थियो। त्यसैले शैक्षिक कार्यक्रम विकेन्द्रीकृत गर्दै लैजानसमेत स्ववियुले दबाब दिने उनले बताए।

साथै विश्वविद्यालयका चारवटै अनुसन्धान केन्द्रहरूलाई पुनः सक्रिय बनाई राज्यलाई आवश्यक अनुसन्धान गर्ने केन्द्रीय थलो बनाउन पनि दबाब दिइने स्ववियुले जनाएको छ।

प्रकाशित: ५ चैत २०८० २१:५४ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast