सरकारले पहिलोपटक ताेक्याे चैते धान समर्थन मूल्य, प्रतिक्विन्टल कति?

हिमाल प्रेस १६ चैत २०८० ११:०६ | Friday, March 29, 2024
सरकारले पहिलोपटक ताेक्याे चैते धान समर्थन मूल्य, प्रतिक्विन्टल कति? फाइल तस्बिर

काठमाडौँ- सरकारले पहिलाेपटक चैते धानको समर्थन मूल्य तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७ सय ७ रुपैयाँ तोकिएको कृषि तथा पशुपांछी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने सरकारले निर्णय गरेको छ।

चैते धानको समर्थन मूल्य तोक्ने तयारी दुई महिनाअघि नै निर्णय भएको कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले जानकारी दिए। कृषि मन्त्रालय हुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय हुन करिब दुई महिना लाग्यो। उनले भने, ‘चैते धानको पहिलोपटक मूल्य तोकियो,सुरुआत राम्रो भएको छ।’

कृषकको उत्पादन लागत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश र पालिकाको तथ्यांक, मिलसम्म लैजाने ढुवानी र केही प्रतिशत मुनाफासहित राखेर मूल्य तोकिएको उनको भनाइ छ।

सरकारले आर्थिक वर्ष ०८०/८१ का लागि सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य गत असोज अन्तिममा तोकेको थियो। मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ तोकिएको कृषि मन्त्रालयले जनाएको छ।

चैते धानको उत्पादकत्व बढी छ। कृषि मन्त्रालयका अनुसार बर्खे धानको उत्पादकत्व ३.९० टन बढी उत्पादनमा हुन्छ। गत वर्ष प्रतिहेक्टर ४.९८ टन रहेकामा ०८०/८१ मा घटेर ४.९७ टनमा झरेको छ।

आर्थिक वर्ष २०७९/८० मा ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन भएको चैत धान ०८०/८१ मा ५ लाख २० हजार ८ सय ८ टन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ। धानको उत्पादकत्वमा समेत कमी आएको छ।

यस्तै २०७९/८० मा १ लाख ८ हजार ६ सय ७ हेक्टरमा चैते धान लगाइएकामा ०८०/८१ मा १ लाख ४ हजार ७ सय १२ हेक्टरमा लगाइएको थियो। चैते धानको उत्पादन पनि १९ हजार ५ सय २३ टन घटेको छ। २०७९/८० को तुलनामा ०८०/८१ मा ३ हजार ८ सय ९५ हेक्टर धानको क्षेत्रफल घटेको छ।

प्रकाशित: १६ चैत २०८० ११:०६ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast