प्रतिनिधिसभामा भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

हिमाल प्रेस ६ चैत २०८० १६:१५ | Tuesday, March 19, 2024
प्रतिनिधिसभामा भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री पुनले उक्त प्रस्ताव पेस गरेका हुन्। आजको बैठकमा विधेयकमाथि छलफल भएको छ।

भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाइ अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन भन्दै सरकारले यो विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो।

भन्सार महसुल संकलनमा दक्षता र प्रभावकारिता अभिवृद्धि गरी देशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो विधेयक प्रतिनिधिसभामा दर्ता भएको हो।

त्यसैगरी भन्सारको प्रक्रियाको सरलीकरण एवं सामञ्जस्यीकरणसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि (रिभाइज्ड क्योटो कन्भेन्सन) बमोजिमका प्रावधानलाई कानुनमा व्यवस्था गर्नका लागि पनि यो विधेयक ल्याइएको जनाइएको छ।

नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो। क्योटो महासन्धिमा भएको व्यवस्थाअनुसार सदस्य राष्ट्रहरूले सदस्य भएको तीन वर्ष सामान्य प्रावधान र पाँच वर्षभित्र सङ्क्रमणकालीन मापदण्ड कार्यान्वयनमा ल्याइसक्नुपर्ने हुन्छ।

महासन्धिको उक्त व्यवस्था कार्यान्वयनका लागि पनि यो कानुनको मस्यौदा तयार पारेर संसद्मा दर्ता भएको हो।

प्रकाशित: ६ चैत २०८० १६:१५ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast