पाटनको नागबहालमा सम्यक् महादान [तस्बिरहरू]

दिपेश श्रेष्ठ १ चैत २०८० ११:२४ | Thursday, March 14, 2024
2
SHARE
पाटनको नागबहालमा सम्यक् महादान [तस्बिरहरू]

ललितपुर- पाटनको नागबहालमा बिहीबार सम्यक् महादान पर्व मनाइँदै छ। पाटन हरेक पाँच वर्षमा सम्यक् महादान पर्व मनाइन्छ। इतिहासकारहरूका अनुसार १८६१ सालसम्म बर्सेनि सञ्चालन हुँदै आएको पर्व १८६२ सालदेखि प्रत्येक पाँच वर्षमा एकपटक मनाउन थालिएको हो। यो पर्वले दानको महत्त्व, बौद्ध संस्कृति र संस्कारलाई झल्काउँछ।

पर्वको पहिलो दिन बुधबार बेलुकी ७ बजेदेखि पाटनको मुख्य १८ विहारका साथै चापागाउँ, बुंगमती, कीर्तिपुर, काठमाडौँ, ललितपुर, भक्तपुरका विहार र महाविहारबाट ल्याइएका दीपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारालगायत देवीदेवताका मूर्तिलाई पाटन दरबार क्षेत्रमा राखिएका छन्।

पाटन दरबार क्षेत्रमा ल्याइएका मूर्तिहरूलाई मध्यरातमा परम्परागत बाजागाजाका साथ नागबहालमा पुर्‍याइन्छ। परम्पराअनुसार सम्यक्‌को दोस्रो एवं मुख्य दिन बिहीबार बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धालु भक्तजनले दीपंकर बुद्ध तथा देवीदेवताको पूजाआजा तथा दर्शनको व्यवस्था गरिएको छ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमिशोधन पूजा र दानप्रदान काम सम्पन्न गरी साँझ ५ बजे नागबहालमा विराजमान देवीदेवतालाई आआफ्नो विहारतर्फ लगिन्छ। सम्यक् महादान पर्व भगवान् गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्त्वसँग सम्बन्धित छ।

काठमाडौँ, पाटन र भक्तपुरको बौद्ध समाजमा सम्यक् पर्व मनाउने परम्परा छ। पाटनमा प्रत्येक पाँच वर्षमा मनाइने सम्यक्‌लाई ‘इल्हने सम्यक्’ भनिन्छ। काठमाडौँको स्वयम्भूस्थित भुइखेलमा प्रत्येक १२ वर्षमा सम्यक् पर्व मनाइन्छ। भक्तपुरमा भने प्रत्येक माघ पहिलो दिन सम्यक् पर्व मनाइँदै आएको छ।

 

प्रकाशित: १ चैत २०८० ११:२४ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast