पशुसेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १२ चैत २०८० १६:१९ | Monday, March 25, 2024
पशुसेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कृषि सेड निर्माणका क्रममा उनीहरूले ९ लाख ७७ हजार १६ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ का तत्कालीन वडाध्यक्ष रामइश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय यादव रहेका छन्। दायर गरिएको मुद्दामा उनीहरूसँग अख्तियारले ९ लाख ७७ हजार १६ रुपैयाँ बिगो दाबी गरेको छ।

चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा आर्थिक वर्ष २०७५/०७६ मा कृषि सेड निर्माणको लागि रकम उपलब्ध गराएकोमा उक्त रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धान हुँदा उनीहरूले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्यांकन गराई आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडले पेस गरेको नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी प्रतिवेदन स्वीकृत गरी ९ लाख ७७ हजार १६ रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले जनाएको छ।

प्रकाशित: १२ चैत २०८० १६:१९ | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast