निसीखोला बस दुर्घटना : आठ जनाको मृत्यु, २४ घाइते

हिमाल प्रेस ५ चैत २०८० २०:२६ | Monday, March 18, 2024
निसीखोला बस दुर्घटना : आठ जनाको मृत्यु, २४ घाइते तस्बिरः विशाल रावल क्षेत्री।

पोखरा- बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ घाइते छन्।

रुकुम पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ करिब ५ बजे निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको हो।

निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बसमा ३२ जना यात्रु सवार रहेकोमा ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको हो। घाइते २४ जनामध्ये ९ महिला छन्। बस सडकदेखि करिब ३ सय मिटर तल खसेको छ।

घाइतेलाई उपचारार्थ इलाका स्वास्थ्य चौकी बुर्तिवाङ पठाइएको छ। बस दुर्घटनापछि उद्धारमा स्थानीयसहित निसी प्रहरी चौकी, झिवाखोला प्रहरी कार्यालय तथा रुकुम पूर्व प्रहरी कार्यालयबाट आएको प्रहरी खटिएका थिए।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने उक्त सडकअन्तर्गत दुर्घटनास्थल निकै अप्ठेरो रहेको गाउँपालिका अध्यक्ष घर्तीले बताए। उक्त सडक करिब ८ वर्षअघि पिच भएको थियो।

दुर्घटनास्थल बागलुङ सदरमुकाम बागलुङदेखि करिब १ सय १८ किमी पश्चिममा पर्छ। सदरमुकामबाट बुर्तिवाङ करिब ९२ किमी हो भने त्यहाँबाट अझै २८ किमी अगाडि जानुपर्छ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले दुर्घटनाको अनुसन्धान भइरहेको बताए।

प्रकाशित: ५ चैत २०८० २०:२६ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast