निजी स्कुलले शिक्षकको श्रमशोषण गरिरहेका छन् : भूपाल उप्रेती [भिडिओसहित]

हिमाल प्रेस १७ फागुन २०८० १५:३५
968
SHARES
निजी स्कुलले शिक्षकको श्रमशोषण गरिरहेका छन् : भूपाल उप्रेती [भिडिओसहित]

काठमाडौँ- संस्थागत विद्यालय शिक्षक युनियन,राष्ट्रिय समिति (ईस्टू) का कार्यवाहक महासचिव भूपाल उप्रेतीले निजी विद्यालयका सञ्चालकले शिक्षक कर्मचारीको श्रमशोषण गरिरहेको बताएका छन्।

उप्रेतीले हिमालप्रेससँग कुरा गर्दै निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले श्रम ऐनमा तोकिएको न्यूनतम तलब सुविधासमेत नपाएको बताए। निजी विद्यालयका सञ्चालक भने सरकारी शिक्षक कर्मचारीको भन्दा बढी तलब दिएको दाबी गर्छन्।

निजी विद्यालयले ५ प्रतिशत शिक्षक कर्मचारीलाई मात्र सरकारी शिक्षकसरह तलब दिएको बताउँदै कार्यवाहक महासचिव उप्रेतीले प्याब्सन, एनप्याब्सनले त्यसैलाई देखाएर अन्य शिक्षकका पक्षमा काम नगरेको बताए। ‘५ प्रतिशत विद्यालयले मात्र सरकारी शिक्षकसरह तलब दिएका छन्। त्योभन्दा बढी पनि दिएका छन्। त्यसैलाई देखाएर प्याब्सन एनप्याब्सनले सरकारीभन्दा राम्रो तलब सुविधा दिएको रटान लगाउँछन्,’ उप्रतीले भने।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीसरहको तलबसुविधा निजी विद्यालयका शिक्षक कर्मचारीले पनि पाउनुपर्ने आवाज ईस्टूले उठाएको बताए। त्यसैगरी उनले निजी विद्यालयले मासिक ४/५ हजार रुपैयाँमा पनि शिक्षकलाई काम लगाएको बताए। उनले भने, ‘निजी विद्यालयका शिक्षक कर्मचारीले श्रम ऐनले तोकको न्यूनतम तलब पनि पाउनुभएको छैन। श्रम ऐनले १७ हजार रुपैयाँ तोकेको छ। ४/६ हजारमा पनि निजी विद्यालयले काम लगाइरहेका छन्। प्रमाण हामी दिन सक्छौँ। मनलाग्दी छ।’

उनले शिक्षामा निजीकरण, व्यापारीकरण रोक्नुपर्ने बताउँदै शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए। ‘शिक्षामा व्यापारीकरण, निजीकरण रोक्नुपर्छ। त्यसको हामीले विरोध गरेका छौँ,’  उनले भने, ‘विद्यालय सञ्चालकको लगानीका विषयमा सरकार गम्भीर हुनुपर्छ।’

अहिले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयक–२०८० माथि प्रतिनिधिसभाअन्तर्गको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेको छ। निजी विद्यालयलाई गुठीबाट सञ्चालन गर्ने नगर्ने विषयमा छलफल भएको छ। भूपाल भने निजी विद्यालय सार्वजनिक वा निजी गुठीबाट सञ्चालन गर्नुपर्ने तर्क गर्छन्। उनी भन्छन्, ‘सार्वजनिक र निजी गुठीबाट विद्यालय सञ्चालन हुनुपर्छ। कम्पनीमा दर्ता गरेर, उद्योगजस्तो बनाएर शिक्षा सञ्चालन गर्न दिनुहुँदैन।’

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =