मलेसियामा ११ नेपाली पाँच महिनादेखि अलपत्र*

रमेश भारती १७ फागुन २०८० १३:५७
124
SHARES
मलेसियामा ११ नेपाली पाँच महिनादेखि अलपत्र*

काठमाडौँ- वैदेशिक रोजगारीमा मलेसिया पुगेका ११ जना नेपालीले आफूहरू बिचल्लीमा परेको बताएका छन्। उनीहरूलाई नासा हुम्यान रिसोर्सेज प्रालिले पाँच महिनाअघि सुरक्षा गार्डको रोजगारीका लागि मलेसिया पठाएको थियो। म्यानपावर कम्पनीले सुरक्षा गार्ड भनेर होटलको काममा पठाएपछि आफूहरू बिचल्लीमा परेको पीडितले बताए।

मोरङका शिवकुमार प्रधान, झापाका दीपेश ढकाल, ओखलढुंगाका युवराज घिमिरे, सुनसरीका वसन्त चौधरी, रमेश चौधरी, सुवास चौधरी, पिन्टुकुमार साह, राजेन्द्रकुमार चौधरी, दाङका धनबहादुर थापा, दाङका वसन्त रावत र कैलालीका रोशनकुमार साउद अलपत्र परेका हुन्। नासा हुम्यान रिसोर्सेज प्रालिका सञ्चालक युवराज गुरुङले सुरक्षा गार्डको काममा  लगाइदिन्छु भनेर होटलको कोठामा राखेको पीडितले बताए।

मलेसियाको कानुनअनुसार एउटा काम भनेर अर्को गर्दा अवैध मानिन्छ। ११ युवा म्यानपावरसँग मासिक २ हजार १ सय रिंगेट तलब सम्झौता गरेर मलेसिया गएका थिए। होटलले १२ सय रिंग्रेटभन्दा बढी नदिने भनेर काममा नलगाएको घिमिरेले बताए।

उनले भने, ‘होटलले कहिले यो काम, कहिले त्यो काम भनेर सुनाउँछ। कामचाहिँ लगाउँदैन।’ आफूहरू एउटै कोठामा थुनिएर बस्नुपरेको घिमिरेले हिमाल प्रेससँग टेलिफोन कुराकानीमा बताए। ‘हामी पाँच महिनादेखि मलेसियाको सेङवाङस्थित रोलय चुलान होटलको एउटा कोठामा बसेका छौँ। अहिले खानबस्नको समेत समस्या छ’, उनले भने।

घिमिरेका अनुसार म्यानपावरका सञ्चालक गुरुङ सम्पर्कमा छैनन्। ‘हामी सबैको फोन उठाउँदैनन्। होटल साहुले कोठा खाली गर भनेर दबाब दिन थालेको छ। बाहिर निस्कन अनुमति दिइएको छैन’, उनले भने।

सुनसरीका सुवास चौधरीले कोठा खाली गर्न दबाब दिइरहेको जानकारी दिए। उनले भने, ‘म्यानपावरलाई प्रतिव्यक्ति २ लाख ८० हजार रुपैयाँ तिरेर आएका छौँ। सुरक्षा गार्डका काम लगाउनु कि घर फिर्ता गर्नुभन्दा म्यानपावरका सञ्चालकले मलेसियामा प्रहरी लगाएर पक्राउ गर्ने धम्की दिए।’

मलेसियास्थित नेपाली दूतावासमा सम्पर्क गर्दा चासो नदिएको चौधरीको भनाइ छ। साथै वैदेशिक रोजगार विभागका अधिकारीहरूले पनि आफ्नो गुनासो नसुनेको चौधरीले बताए। ‘हामीलाई होटल साहुले बाहिर निस्कन दिएको छैन। सबैजना कोठा बाहिर ननस्किएको पाँच महिना भयो’, उनले भने।

म्यानपावरका सञ्चालक गुरुङले जे सक्छौ गरेर भनेर धम्क्याउने गरेको उनको गुनासो छ। म्यानपावरका सञ्चालक गुरुङ सम्पर्कमा आउन चाहेनन्। कार्यालयमा सम्पर्क गर्दा कर्मचारीले सञ्चालकबारे थाहा नभएको प्रतिक्रिया दिए।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज गुरुङले पाँच महिनादेखि कोठामा मलेसियामा थुनिएको विषयमा उजुरी नपरेको जानकारी दिए। यस विषयमा मलेसियास्थित नेपाली दूतावास र म्यानपावरसँग जानकारी लिएर उद्धारका लागि पहल गरिने उनको भनाइ छ।

*शीर्षक परिवर्तन गरिएको

प्रकाशित: १७ फागुन २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =