प्रा.डा. बराललाई सफल उपकुलपति बन्न प्रजातन्त्रवादी प्राध्यापक संघको शुभकामना

हिमाल प्रेस १६ फागुन २०८० २०:४८
1.2k
SHARES
प्रा.डा. बराललाई सफल उपकुलपति बन्न प्रजातन्त्रवादी प्राध्यापक संघको शुभकामना

काठमाडौँ- प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बराललाई सफल उपकुलपति बन्न शुभकामना दिएको छ। संघका अध्यक्ष जगत तिमिल्सिना नेतृत्वमा बुधबार उपकुलपतिको कार्यालय कीर्तिपुर पुगेको प्राध्यापकहरूको टोलीले बराललाई सफलताको शुभकामना दिएको हो।

उपकुलपति बरालकै कार्यकक्षमा पुगेर बधाई दिँदै तिमिल्सिनाले भने, ‘त्रिभुवन विश्वविद्यालयलाई राम्ररी सम्हालेर अगाडि बढ्नुस्। हाम्रो पूर्ण साथ र सहयोग हुनेछ। अहिलेसम्मको उपकुलपतिमध्ये सबैभन्दा सफल हुनुहोस्, हाम्रो शुभकामना छ।’

प्रजातन्त्रवादी प्राध्यापकहरूको टोलीले समस्याले ग्रसित भएर त्रिवि बिरामी भइसकेको र यसलाई शल्यक्रिया गर्न दक्ष सर्जनको खाँचो रहेको औँल्याएका थिए। अध्यक्ष तिमिल्सिनाले भने, ‘विश्वमा जति मुलुक सफल भएका छन् ती विश्वविद्यालयकै कारण सफल भएका हुन्। राज्य कसरी चलेको छ भन्ने कुरा विश्वविद्यालय ऐनाका रूपमा हुन्छ।’ प्रजातन्त्रवादीहरू शालीन हुने भएकाले उनीहरू नरिसाउने गरी अघि बढ्न पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिएका थिए।

बराललाई बधाई दिन झन्डै तीन सय प्राध्यापकहरू उपकुलपति कार्यालयमा पुगेका थिए। उपकुलपति बरालले आफू त्रिविमा रहेका यावत् समस्या समाधान गर्नका लागि सबैको साथ लिएर अघि बढ्ने बताएका थिए।

बराललाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत साता उपकुलपतिमा नियुक्त गरेका थिए। पदबहाली गर्नेबित्तिकै बरालले शैक्षिक क्यालेन्डर बनाएर लागू गर्ने, परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्ने तथा विश्वविद्यालयका पाठ्यक्रम परिमार्जन गर्ने प्रतिबद्धता जनाएका छन्। साथै उनले स्नातक तहलाई तीन वर्षमा कायम गर्ने घोषणा गरेका छन्।

प्रकाशित: १६ फागुन २०८० २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =