इलाम २ मा उपनिर्वाचन

एमालेसँग नजिकिए झलनाथ खनाल

किरण पौडेल १७ फागुन २०८० ७:१५
420
SHARES
एमालेसँग नजिकिए झलनाथ खनाल फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ- इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा चुनाव केन्द्रित छलफल बाक्लिन थालेको छ। निर्वाचन आयोगले वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोेकेपछि दलका नेताकार्यकर्ता, बजार, चियापसल र सर्वसाधारणबीच चासो बढेको हो। धेरैको चासो उपनिर्वाचनमा कुन दलले कस्ता उम्मेदवार मैदानमा उतार्ला भन्नेमा छ।

एमाले नेता एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। जिल्लास्थित कतिपय राजनीतिक दलले उम्मेदवार छनोट त गरिसकेका छैनन् आकांक्षीले आन्तरिक तयारी भने तीव्र पारेका छन्।

टिकटका लागि केन्द्रमा लबिइङ गर्ने र निकट नेताहरूसँग आकांक्षा व्यक्त गर्ने काम गरिरहेका छन्। कतिपय दलका नेताले एकपटक क्षेत्रभर घुमिसकेका छन्।

पछिल्लो समय नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उम्मेदवारी दिने संकेत गरेका छन्। उनको सक्रियता बढेको छ। उनी निकट नेताहरूका अनुसार खनालले एमालेको साथ खोजेका छन्। खनाल एमालेका नेताहरूसँग आन्तरिक छलफलमा छन्।

‘उहाँ(खनाल) एमालेसँग सम्पर्कमा हुनुहुन्छ। एमालेका नेताहरू पनि उठ्नुपर्छ भनिरहनुभएको छ’, एकीकृत समाजवादी जिल्ला स्थायी कमिटी सदस्य जितबहादुर राई भन्छन्, ‘उहाँलाई एमालेबाटै प्रस्ताव आएको छ।’ खनालले अन्य राजनीतिक नेताहरूसँग पनि संवाद बढाएको उनी निकट नेताहरू सुनाउँछन्।

एमाले नेताहरूले भने खनालको उम्मेदवारी सम्बन्धमा केही बताएका छैनन्। आफ्नै आकांक्षी धेरै भएकाले मिलाउने प्रयत्नमा लागेको एमाले स्रोतको भनाइ छ।
केही दिनअघि गृहजिल्ला आएका खनालले साँखेजुङमा रत्नकुमार बान्तवा वहुप्राविधिक शिक्षालय उद्घाटन गरे। शिक्षालयका लागि जग्गा पनि दान गरे।

पछिल्लो समय एकीकृत समाजवादीका जिल्लास्तरीय नेताले गठबन्धन गर्न नहुने आवाज उठाउँदै आएका छन्। ‘पददेखि पद’ र ‘चुनावदेखि चुनावसम्म’ मात्र नभई राजनीति चलायनमान बनाउन पनि उम्मेदवारी दिनुपर्ने उनीहरूको अडान छ।

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनका सचिव चेतन अधिकारीले पार्टीको भूमिका जनताका बीच सञ्चार र सुसूचित गरी मुलुकलाई क्रान्तिकारी रूपान्तरणको दिशामा अघि बढाउन पनि उम्मेदवारी दिनुपर्ने बताए।

यसअघि खनाल इलाम-१ बाट चुनाव लड्दै आएका थिए। इलाम-१ खनाल र इलाम-२ नेम्वाङको निजी क्षेत्र थियो। २०७९ को चुनावमा खनाल इलाम-१ बाट पराजित भए। उनी एमालेकै नेता एवं जिल्ला कमिटी अध्यक्ष महेश बस्नेतसँग पराजित भएका थिए।

निकट नेताहरूका अनुसार खनालले संसदीय राजनीतिमा नभएका कारण पार्टीमा आफू कमजोर भएको महसुस गरिरहेका छन्। त्यसैले उनी संसद्मा प्रवेश गर्न चाहन्छन् तर आफ्नो चाहना पूरा गर्न खनालले एमालेको साथ खोजेका छन्।

खनाल पछिल्लो समय वामपन्थी एकताको बहसमा छन्। उनी एमालेसहित एकताका बारेमा पनि खोलेर बोलिरहेका छन्। उनको पार्टी कांग्रेससहितको गठबन्धनमा छ। खनालले गठबन्धनकै सरकारको पनि विरोध गरिरहेका छन्। त्यसैले आगामी उपचुनावमा उनी गठबन्धन गर्न नहुने पक्षमा छन्।

‘कांग्रेस पुँजीवादी पार्टी हो। हामीले विशेष परिस्थितिमा मात्र कांग्रेसजस्ता दक्षिणपन्थीसँग कार्यगत गठबन्धन गर्ने हो,’ खनाललाई उधृत गर्दै एक नेताले भने। उनी २०७९ को आमनिर्वाचनमा कांग्रेससँगको सहकार्यमा चुनाव लडेका थिए।

एमालेले साथ दिए टिकट पाउन छैन गाह्रो

एमालेले तत्कालै खनाललाई छाड्ने संकेत छैन। नेम्वाङको निधनपछि पनि एमालेले सोही क्षेत्रमा पार्टी कार्यक्रम बढाएको छ। एमाले जिल्ला सचिव उमेश गुरुङका अनुसार टोलटोलमा पार्टी संगठन सक्रिय छ। उनले भने, ‘पहिलेको भन्दा राम्रो संगठन विस्तार गरिएको छ। हाम्रो सहज जित छ।’

एमालेले नेतृ शिवमाया तुम्बाहाम्फोलाई इन्चार्ज बनाएर पठाएको छ। खनालका बारेमा निर्णय गर्ने अधिकार भने जिल्ला कमिटीलाई हुँदैन। एमालेका एक जिल्लास्तरीय नेता भन्छन्, ‘उहाँले केन्द्रबाट निर्णय भएर आउने हो। उहाँ(खनाल) प्रति एमाले नेतृत्व सकारात्मक भए टिकट पाउन असहज छैन।’

पछिल्लो समय कोशी प्रदेशमा पहिचानको मुद्दाका कारण एमाले एक्लै भिड्न सहज छैन। प्रदेशका सबै कार्यक्रम एमाले विरोधी जस्ता देखिएका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानका कारण पनि इलाममा एमालेको मत घट्ने अनुमान छ। पहिचानवादी र प्रसाई दुवै एमालेविरुद्ध लागेको एमाले इलामको बुझाइ छ।

‘एमालेका केही स्थानमा पहिचानवादीको असर पर्न सक्छ। यसका लागि हेभिवेट नेता हुँदा सहज हुन्छ’, एमालेका जिल्ला स्तरीय एक नेता भन्छन्, ‘हामीले क्षेत्र गुमाउनु हुन्न। हामीले उठाएको उम्मेदवारले जित्नुपर्छ। चाहे एमालेबाट होस् वा बाहिरबाट।’

प्रकाशित: १७ फागुन २०८० ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =