गाउँपालिकाका उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमाल प्रेस १६ फागुन २०८० १६:३८
80
SHARES
गाउँपालिकाका उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन उपाध्यक्ष सौमति रावल ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सो गाउँपालिकाको वडा नं.३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाइ योजानामा अनियमितता गरेको उजुरीमाथि अनसुन्धान हुँदा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको बुधबार एक विज्ञप्तिमार्फत जनाए।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामासमेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीसमेतले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित सर्त र मापदण्डविपरीत निर्माण कार्य गर्ने तथा गराउने पाइएको अख्यितारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गराई सोही झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा उपभोक्ता समितिलाई भुक्तानी गरी रकम हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको अख्तियारको भनाइ छ।

उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिम भएको बताउँदै अख्तियारले बिगोस्वरूप ४२ लाख २९ हजार ३५८ रुपैयाँ ८९ पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद गरी माग गरेको छ।

प्रकाशित: १६ फागुन २०८० १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =